अमेरिका र क्यानडालाई जोड्ने महत्त्वपूर्ण पुलको उद्घाटन रोक्ने ट्रम्पको चेतावनी


प्रकाशित मिति : २६ माघ २०८२, सोमबार

फोटो : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने महत्त्वपूर्ण पुलको उद्घाटन रोक्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले क्यानडालाई “दिएको सबै कुराको पूरा क्षतिपूर्ति नपाएसम्म” पुल खोल्न नदिने चेतावनी दिएका हुन्।

गोरडी होवे अन्तर्राष्ट्रिय पुल क्यानडाको ओन्टारियो प्रान्त र अमेरिकाको मिशिगन राज्यलाई जोड्ने परियोजना हो। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै, क्यानडाले “अमेरिकालाई न्याय र सम्मान नदिएसम्म” यो पुल नखुल्ने बताएका छन्।

परियोजनाको वेबसाइटअनुसार पुलको निर्माण खर्च क्यानडाली सरकारले बेहोरेको भए तापनि यसको स्वामित्व क्यानडा र मिशिगन राज्य दुवैको सार्वजनिक स्वामित्वमा रहनेछ। ट्रम्पले पुलको उद्घाटन कसरी रोक्न सक्छन् भन्ने कुरा स्पष्ट छैन, तर उनले वार्ता तुरुन्तै सुरु हुने बताएका छन्। यद्यपि, यसको विस्तृत विवरण भने दिएका छैनन्।

डेट्रोइट नदीमाथि बनेको यो पुल औपचारिक परीक्षण र स्वीकृतिपछि २०२६ को सुरुवातमा सवारीसाधनका लागि खोलिने अपेक्षा गरिएको छ। यसको निर्माण सन् २०१८ मा सुरु भएको थियो, तर यो परियोजना एक दशकभन्दा बढी समयदेखि अमेरिका र क्यानडाबीच विवादको विषय रहँदै आएको छ।

क्यानडियन ब्रडकास्टिङ कर्पोरेसनका अनुसार यस परियोजनाको लागत करिब ६.४ अर्ब क्यानडाली डलर पुगेको छ। आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा ट्रम्पले अमेरिकाले “कम्तीमा आधा स्वामित्व” पाउनुपर्ने दाबी गरेका छन्। उनले क्यानडाले पुलको क्यानडाली र अमेरिकी दुवै पक्ष आफ्नै नियन्त्रणमा राखेको संकेत पनि गरेका छन्।

पुल निर्माणको जिम्मा लिएको विन्डसर–डेट्रोइट ब्रिज अथोरिटी परियोजनाको वेबसाइटअनुसार पूर्ण रूपमा क्यानडाली सरकारको स्वामित्वमा रहेको संस्था हो।

यसअघि पनि डेट्रोइटलाई क्यानडासँग जोड्ने एम्बेसडर ब्रिजका अमेरिकी मालिक मोरुन परिवारले ट्रम्पको पहिलो कार्यकालमा नयाँ पुलको निर्माण रोक्न आग्रह गरेका थिए।

त्यसबेला ट्रम्प र तत्कालीन क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त पुललाई दुई देशबीचको “महत्त्वपूर्ण आर्थिक सम्पर्क” भनेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com