राष्ट्रपति ट्रम्पले किन गरे जापानकी प्रधानमन्त्री ताकाइचीलाई समर्थन ?
प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानकी प्रधानमन्त्री सानाए ताकाइचीलाई समर्थन गरेको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आगामी आइतबार जापानमा हुन लागेको आकस्मिक आम चुनावअघि प्रधानमन्त्री ताकाइचीलाई आफ्नो समर्थन रहेको जनाएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ताकाइचीलाई “पहिले नै आफूलाई बलियो, शक्तिशाली र बुद्धिमान नेताका रूपमा प्रमाणित गरिसकेकी र आफ्नो देशलाई साँचो अर्थमा माया गर्ने नेता” भन्दै प्रशंसा गरेका छन्। उनले थप लेखेका छन्, “उनले जापानका जनतालाई निराश पार्ने छैनन्।”
विदेशी चुनावमा अमेरिकी राष्ट्रपतिले सार्वजनिक रूपमा कुनै उम्मेदवारलाई समर्थन गर्नु दुर्लभ मानिन्छ। तर, ट्रम्पले यसअघि पनि अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेई र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई समर्थन गरिसकेका छन्।
जापानले अमेरिकासँगको सम्बन्धमा स्थायित्व खोजिरहेका बेला ट्रम्पको यो समर्थन आएको हो। ट्रम्पद्वारा लगाइएका भन्सार शुल्क (ट्यारिफ) पछि जापान–अमेरिका सम्बन्ध केही समय तनावपूर्ण बनेको थियो।
सुरुमा ट्रम्पले जापानी वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए। तर, जुलाईमा जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने सम्झौता गरेपछि अमेरिकाले आयात शुल्क घटाएर १५ प्रतिशतमा झारेको थियो।
सानाए ताकाइची अक्टोबरमा आफ्नो पार्टीको नेतृत्व प्रतिस्पर्धा जितेर संसद्बाट पर्याप्त समर्थन पाएपछि प्रधानमन्त्री बनेकी थिइन्। तर, उनले जनताको प्रत्यक्ष जनादेश खोज्न भन्दै आकस्मिक चुनाव घोषणा गरेकी हुन्।
प्रधानमन्त्री पद सम्हालेको एक हप्तामै जापानले ट्रम्पलाई भव्य स्वागत गरेको थियो। अकासाका प्यालेसमा पूर्ण सैन्य सम्मान, ‘गार्ड अफ अनर’ र सैन्य ब्याण्डसहित उनलाई स्वागत गरिएको थियो।
ट्रम्पले मार्च १९ मा ताकाइचीलाई ह्वाइट हाउसमा स्वागत गर्ने पनि बताएका छन्। ट्रम्पको समर्थन पोस्ट आउनु एक दिनअघि मात्र उनले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेका थिए। ट्रम्पले आफू र सीबीच “अत्यन्त राम्रो सम्बन्ध” रहेको र दुवै नेताले त्यसलाई कायम राख्नुको महत्त्व बुझेको बताएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, सी जिनपिङले ताइवानलाई अमेरिका–चीन सम्बन्धको “सबैभन्दा महत्त्वपूर्ण मुद्दा” भन्दै ताइवान चीनकै भूभाग भएको दोहोर्याएका थिए। साथै, ताइवानलाई हतियार आपूर्ति गर्दा अमेरिकाले “सावधानी अपनाउनुपर्ने” चेतावनी पनि दिएका थिए।
ताइवानकै विषयमा जापान र चीनबीच पनि कूटनीतिक तनाव बढ्दै गएको छ। ऐतिहासिक रूपमा संवेदनशील यो सम्बन्ध पछिल्लो दशकयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताइन्छ।






