राष्ट्रपति ट्रम्पले किन गरे केनेडी सेन्टर बन्द गर्ने घोषणा ?


प्रकाशित मिति : १८ माघ २०८२, आइतबार

फोटो: एपी/रासस

अमेरिकाको वाशिङ्टन डीसीस्थित प्रतिष्ठित केनेडी सेन्टर आगामी जुलाईदेखि दुई वर्षका लागि बन्द हुने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो घोषणा गरेका हुन्।

अमेरिकाको २५०औँ स्वतन्त्रता वार्षिकोत्सवको सम्मानमा आगामी जुलाई ४ तारिखदेखि केन्द्र बन्द गरिने ट्रम्पले बताएका छन्।

उक्त ऐतिहासिक सांस्कृतिक संस्थाको नाम परिवर्तन गरी ‘डोनाल्ड जे. ट्रम्प र जोन एफ. केनेडी स्मारक प्रदर्शन कला केन्द्र’ राखिएपछि विवाद चुलिएको थियो।

राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि केन्द्रका केही बोर्ड सदस्यहरूलाई हटाएर आफ्ना सहयोगीहरू नियुक्त गरेका थिए। नयाँ बोर्डले ट्रम्पलाई अध्यक्ष बनाउँदै नाम परिवर्तन गर्ने निर्णय गरेको थियो।

नाम परिवर्तनको विरोधमा थुप्रै कलाकारहरूले आफ्ना कार्यक्रम रद्द गरेका छन्। ‘विकेड’ सङ्गीत नाटकका सङ्गीतकार स्टेफन श्वार्ट्ज तथा ‘डग वरन एन्ड द डान्सर्स’ नामक नृत्य समूहले पनि केन्द्रमा प्रदर्शन नगर्ने घोषणा गरेका छन्।

पुनर्निर्माण र बजेट: ट्रम्पले केन्द्रको भौतिक अवस्था कमजोर रहेको भन्दै यसको “पूर्ण पुनर्निर्माण” पछि “भव्य पुनः उद्घाटन” गरिने बताएका छन्। नवीकरणका लागि आवश्यक २५ करोड डलरभन्दा बढी बजेट कांग्रेससँगको सहकार्यमा सुनिश्चित भइसकेको छ।

केन्द्र बन्द नगरे निर्माणको गुणस्तर कमजोर हुने र नियमित कार्यक्रमका कारण निर्माण अवधि पनि लम्बिने” ट्रम्पको तर्क छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही अमेरिकी सांसद र कानुनी विज्ञहरूले सन् १९६४ को संघीय कानुनअनुसार केन्द्रको नाम परिवर्तन गर्न कांग्रेसको स्वीकृति आवश्यक पर्ने जिकिर गरेका छन्।

यही आधारमा डेमोक्रेट सांसद जोयस बिट्टीले ट्रम्पको नाम हटाउन माग गर्दै मुद्दा दायर गरेकी छिन्।

पूर्व राष्ट्रपति जोन एफ. केनेडीको हत्यापछि उनको सम्झनामा स्थापना गरिएको यस केन्द्रको नाम परिवर्तन गरिएकोमा केनेडी परिवारले पनि विरोध जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com