यूएईले दियो २६७ जना नेपाली बन्दीलाई आममाफी
प्रकाशित मिति : माघ १८, २०८२ आईतबार
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएईको विभिन्न कारागारमा रहेका २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । यूएई सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको पटक पटकको अनुरोधको प्रत्युत्तर स्वरूप युएई सरकारले आममाफीको निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भनेको छ, “युएईको ५४ औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद) को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई यति उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता र कदर व्यक्त गर्दछ।”
मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्सबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र सौहार्दताको अभिव्यक्तिको रूपमा माफीको मैत्रीपूर्ण र मानवीय इशारालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गर्ने जनाएको छ ।
माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्ने मन्त्रालयले उल्लेख गरेको छ ।






