मिनेसोटा गोलीकाण्ड : आइस अधिकारीमाथि अनुसन्धानको प्रयास गर्ने एफबीआई अधिकारीले दिइन् राजीनामा
प्रकाशित मिति : माघ १०, २०८२ शनिबार
जनवरी ७ मा एक आइस अधिकारीले गोली हानी हत्या गरेकी रेनी गुडको सम्झनामा जनवरी २० मा मिनियापोलिसमा बनाइएको अस्थायी स्मारक । तस्वीर : एन्जेलिना कात्सानिस/एपी-रासस
यस महिनाको सुरुमा मिनियापोलिसमा ३७ वर्षीया महिला रेनी गुडको गोली हानी हत्या गरिएको घटनाले अमेरिकामा नयाँ विवाद जन्माएको छ। घटनाको छानबिन गर्न खोजेकी एफबीआईकी वरिष्ठ एजेन्ट ट्रेसी मर्जेनले दबाबपछि आफ्नो पदबाट राजीनामा दिएको खुलाशा भएको छ ।
न्युयोर्क टाइम्सका अनुसार मर्जेनले संघीय आप्रवासन अधिकृत जोनाथन रसविरुद्ध नागरिक अधिकार उल्लंघनसम्बन्धी छानबिन सुरु गर्न खोजेकी थिइन्। तर, वाशिङ्टनस्थित एफबीआई नेतृत्वले उक्त छानबिन रोक्न दबाब दिएपछि उनले मिनियापोलिस फिल्ड अफिसको सुपरभाइजर पद छाडेकी हुन्। यस्ता छानबिनहरू यस्तैः किसिमका घटनामा सामान्य प्रक्रिया मानिन्छ।
जनवरी ७ मा रेनी गुड आफ्नो कार चलाइरहेकी अवस्थामा गोली लागेर मारिएकी थिइन्। घटनापछि ट्रम्प प्रशासनका केही अधिकारीहरूले उनलाई “घरेलु आतंकवादी” भन्दै आरोप लगाए पनि स्वतन्त्र भिडियो विश्लेषणले ती दाबीलाई पुष्टि गरेको छैन।
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले रसले अत्यधिक बल प्रयोग गरे/नगरेको विषयमा छानबिन गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ। साथै, संघीय निकायहरूले मिनेसोटाका राज्य तथा स्थानीय अभियोजकहरूसँग सहकार्य गर्न अस्वीकार गरेपछि सम्भावित कानुनी प्रक्रिया थप जटिल बनेको छ।
डिपार्टमेन्ट अफ जस्टिसले मृतक गुड र उनकी साझेदार बेक्का गुडमाथि नै छानबिन केन्द्रित गरेको छ, जसको विरोधमा मिनियापोलिसस्थित अमेरिकी अटर्नी कार्यालयका कम्तीमा ६ जना वरिष्ठ अभियोजकहरूले राजीनामा दिएका छन्।
यसैबीच, डिपार्टमेन्ट अफ जस्टिसले मिनेसोटाका केही डेमोक्र्याट नेताहरूमाथि पनि आप्रवासन नीतिविरुद्ध षड्यन्त्र गरेको आरोपमा छानबिन सुरु गरेको छ भने आप्रवासन नीतिविरुद्ध प्रदर्शन गर्नेहरूविरुद्ध कारबाही कडा बनाएको छ।






