“पासाङ शेर्पाको पुस्तकमा न्युयोर्कमा नेपाली समुदायको सङ्घर्ष र दृढताको हृदयस्पर्शी चित्रण”: कर्कस रिभ्यु


प्रकाशित मिति : पुस २५, २०८२ शनिबार

न्युयोर्क निवासी लेखक पासाङ शेर्पाको कोरोना महामारीसम्बन्धी पुस्तक “बिहाइन्ड द मास्क” मा न्युयोर्क शहरको एक समुदायको सङ्घर्ष र दृढताको आत्मीय तथा हृदयस्पर्शी चित्रण गरिएको अमेरिकाको चर्चित पुस्तक समीक्षा संस्था “कर्कस रिभ्यु” ले आफ्नो समीक्षामा उल्लेख गरेको छ।

समीक्षामा पुस्तक दार्शनिक र चिन्तनशील रहेको बताउँदै, शेर्पाले अमेरिकासम्म आइपुगेका नेपाली समुदायका रीतिरिवाज र नेपालको आफ्ना अघिल्ला जीवनका झलकहरू प्रशस्त रूपमा समावेश गरेको उल्लेख गरिएको छ।

पुस्तकले आफ्नी श्रीमती र दुई किशोर छोराहरूसँग घरभित्रै थुनिएर बिताएको समयका अनुभवमार्फत शेर्पाको स्थिर जीवनलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको समीक्षामा लेखिएको छ। साथीहरूसँगका कुराकानीमार्फत पाठकहरूले शेर्पाको समुदायभित्रका कठिनाइ र क्षतिहरूका साथै सामाजिक अलगावका मानसिक प्रभावबारे उनका भावनात्मक र मार्मिक वर्णनहरू अनुभव गर्न सक्ने उल्लेख गरिएको छ।

कोरोना महामारीको समयमा समूहगत कामका कथाहरूले नेपाली समुदायको उदारता र करुणालाई उजागर गरेको र ती कथाहरू पुस्तकका पृष्ठहरूमा उज्यालो भएर झल्किएका छन् भन्ने प्रतिक्रिया समीक्षामा समावेश छ। यद्यपि समीक्षामा लेखकको डायरीबाट साभार गरिएको यस संस्मरणमा दैनिक तालिका, किनमेलका सूची आदि केही भागहरू दोहोरिएको पनि उल्लेख गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कर्कस इन्डी एक प्रतिष्ठित पुस्तक समीक्षा सेवा हो, जसले विशेषगरी स्वप्रकाशित लेखकहरूलाई व्यावसायिक समीक्षा प्राप्त गर्ने अवसर प्रदान गर्दछ। सन् २००५ मा सुरु भएको यो कार्यक्रमले स्वतन्त्र लेखकहरूलाई पनि परम्परागत प्रकाशनगृहका पुस्तकहरू सरह उच्चस्तरीय र निष्पक्ष मूल्यांकन उपलब्ध गराउँछ।

अनुभवी समीक्षकहरूले पुस्तकको कथावस्तु, लेखनशैली र गुणस्तरको गहिरो विश्लेषण गर्छन्। यदि समीक्षा सकारात्मक आयो भने लेखकले त्यसलाई आफ्नो पुस्तकको प्रचार–प्रसार, कभर वा वेबसाइटमा विज्ञापनको रूपमा प्रयोग गर्न सक्छन्, जसले गर्दा पुस्तकालय, पुस्तक विक्रेता र पाठकमाझ विश्वसनीयता बढ्छ। नकारात्मक समीक्षा प्राप्त भएमा भने लेखकले त्यसलाई गोप्य राख्ने विकल्प पनि पाउँछन्। यसरी, यो सेवा लेखकहरूको लेखन सुधार्ने एक महत्वपूर्ण माध्यम बनेको छ।

शेर्पाको पुस्तक ‘बिहाइन्ड द मास्क’ हालै अमेरिकाको ‘बेस्ट बुक अवार्ड’ मा अन्तिम छनोटमा परेको थियो। अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा उनको पुस्तक ‘नन-फिक्सन क्रियटिभ’ विधाअन्तर्गत अन्तिम चारमा पर्न सफल भएको थियो।

अमेरिकन बुक फेस्ट मूलधारका, स्वतन्त्र र स्वप्रकाशित कृतिहरूका लागि विश्वका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय पुस्तक पुरस्कार कार्यक्रमहरूमध्येको एक हो।

यस वर्षको प्रतियोगितामा पेन्गुइन र्‍यान्डम हाउस, एचसीआई, साइमन एण्ड शुस्टर, ह्याचेट युके, विली, रोम्यान एण्ड लिटिलफिल्ड, रुटलेज, प्रिन्सटन युनिभर्सिटी प्रेस, अक्सफोर्ड युनिभर्सिटी प्रेस, स्ट्यानफोर्ड युनिभर्सिटी प्रेस, द ह्वाइट हाउस हिस्टोरिकल एसोसिएसन, इनर ट्रेडिसन, डे ग्रुइटर, शी राइट्स प्रेस, आइडियाप्रेस पब्लिशिङ, पोस्ट हिल प्रेस र सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र प्रकाशकहरूले योगदान दिएका थिए। १०० भन्दा बढी श्रेणीमा ४०० भन्दा बढी विजेता र फाइनलिस्टहरूको घोषणा गरिएको थियो।

न्युयोर्कका बासिन्दा र कोभिड-१९ महामारीको बेला सामुदायिक पहिलो उद्धारकर्ताको रूपमा सक्रिय रहेका पासाङ शेर्पाले लेखेको ४४९ पृष्ठको संस्मरण ‘बिहाइन्ड द मास्क’ गत अगस्टमा अनलाइन प्लेटफर्महरूमा प्रकाशित भएको थियो। यो पुस्तक अमेजन लगायतका प्लेटफर्ममा पेपरब्याक र हार्डकभरमा समेत उपलब्ध रहेको छ। हाल विभिन्न ५५ वटा अनलाइन प्लेटफर्महरुमा उपलब्ध रहेको शेर्पाले जानकारी दिएका छन् । शेर्पाले अङ्ग्रेजी संस्करण बजारमा ल्याउनुअघि नै यसको नेपाली संस्करण ‘कोरोना कथा’ प्रकाशित गरेका थिए।

यस पुस्तकले महामारीको समयमा न्युयोर्क शहरको एक सजीव, वास्तविक समयको वर्णन प्रस्तुत गर्दछ, जसमा उनका व्यक्तिगत अनुभवहरूलाई ऐतिहासिक सन्दर्भसँग मिसाइएको छ। यसले समुदायले अभूतपूर्व चुनौतीहरूको सामना गरेको सहरको भावनात्मक स्थितिलाई सशक्त रूपमा कैद गरेको छ।

यो संस्मरण पाँच अध्यायमा विभाजित छ। यस कृतिले विशेष गरी महामारीको अमेरिकी इपिसेन्टर न्युयोर्क शहरमा दैनिक जीवनमा परेका सङ्घर्ष, पीडा र गम्भीर प्रभावलाई उजागर गरेको छ। यसले कोरोनाभाइरसको प्रकोपसँग जुधेको कथा प्रस्तुत गरेको छ, जसले चुनौती र भोगेका अनुभवहरूको सटीक र शक्तिशाली प्रतिबिम्ब प्रस्तुत गर्दछ। शेर्पाका अनुसार, यस पुस्तकले सामाजिक मुद्दाहरू र मानिसहरूले महामारीको प्रभावसँग जुध्दाको वास्तविक जीवनलाई पनि समेटेको छ।

पुस्तकको भूमिकामा पासाङ शेर्पाले आफ्नो प्रारम्भिक प्रयासहरू सम्झँदै भनेका छन्: “ती दिनहरू दुःखद र भयावह थिए। बाहिरको जीवन ठप्प भएको थियो, र हामी हाम्रो घरभित्र सीमित थियौँ। हाम्रो मन पनि त्यसैगरी सुस्त गतिमा चलिरहेको थियो। पन्ध्र दिनपछि, म केही किनमेल गर्न बाहिर निस्किएँ। मेरो छिमेकीसँग गाडी थिएन, त्यसैले मैले उनको लागि किराना सामान किनेर ढोकासम्म पुर्‍याइदिएँ। लामो लाइन र घण्टौँ लगाएर किनमेल गर्दा पनि, मैले अन्य पीडितहरूको लागि आवश्यक सामग्रीहरू किनेँ र उनीहरूलाई पनि पुर्‍याइदिएँ। म चाँडै न्युयोर्क शहरमा रहेका नेपालीहरूको एउटा समूहसँग जोडिएँ, जसले कोभिड-१९ बारे सचेतना बढाउने र राहत प्रदान गर्ने काम गरिरहेको थियो। मेरा दिनहरू राहत सामग्री पुर्‍याउनमा बित्थे।”

पीटर गिलले महेश पौडेलसँग मिलेर पुस्तकको सम्पादन र अनुवादमा सहयोग गरेका थिए। उनले आफ्नो भूमिकामा लेखेका छन्: “पासाङले २०२० को सुरुमै आफ्नो सैलुन बन्द गरे र नेपाली प्रवासीहरूको एउटा समूहमा सामेल भए, जसले आफ्नो ज्यान जोखिममा राखेर छिमेकीहरूलाई अत्यावश्यक सामग्री र औषधिहरू पुर्‍याए। महिनौँपछि, आफ्नो व्यवसाय पुनः खोलेपछि, पासाङका ग्राहकहरू फेरि आउन थाले, र उनीहरूले उहाँलाई आफ्नो गुमाएको र बाँचेको, आतङ्क र आशाका कथाहरू सुनाए। यो पुस्तक ज्याक्सन हाइट्सका मानिसहरूको बारेमा छ—महामारीको सबैभन्दा अँध्यारो दिनहरू अघि, समयमा र पछि—जसलाई यो कथा अरू कसैले भन्न नसक्ने गरी एउटा मानिसले सुनाएका छन्। यसमा एल्महर्स्ट अस्पतालको कोभिड-१९ वार्डबाट बाँचेका बिरामी र डाक्टरहरूको कथाहरू छन्, साथै पासाङले आफ्नो पसलमा, सहायता पुर्‍याउँदा, वा खोप लगाउन लाइनमा उभिँदा भेटेका अन्य जोखिममा रहेका समुदायका सदस्यहरूको कथाहरू पनि छन्। यसमा पासाङका आफ्नै व्यक्तिगत कथाहरू पनि छन्।”

गीतकार र हेयरस्टाइलिस शेर्पाले ज्याक्सन हाइट्समा ‘पासाङ स्ट्राइकिङ स्टाइल’ सञ्चालन गर्दै आएका छन्। उनी महामारी सुरु हुनेबित्तिकै सेवामा जुटेका थिए भने उनले बिरामी र जोखिममा परेकाहरूलाई औषधि, मास्क, थर्मोमिटर र खाँचोमा परेकाहरूलाई किराना तथा अन्य अत्यावश्यक सामग्रीहरू पुर्‍याउन मैदानमा अथक रूपमा काम गरेका थिए। यद्यपि, उनको सेवाप्रतिको प्रतिबद्धता महामारीभन्दा बाहिर पनि फैलिएको छ।

शेर्पा अरूलाई मद्दत गर्नुलाई एक आधारभूत मानवीय कर्तव्य मान्छन्, जुन सिद्धान्तमा उनी कुनै पहिचान वा प्रचारको चाहना नगरी बाँचेका छन्। वृद्ध आश्रमहरूमा निःशुल्क कपाल काट्नेदेखि लिएर नेपालदेखि अमेरिकासम्म सङ्घर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोगको हात बढाउनेसम्म उनले गरेका छन्।

‘खसोखास’ सँगको एक अन्तर्वार्ताको क्रममा, शेर्पाले आफ्नो प्रयासबारे भनेका थिए: “म योजनाबद्ध रूपमा समाजसेवामा संलग्न भएको होइन। जबजब आवश्यकता पर्‍यो, म मैदानमा गएँ। सुरुमा, मेरो कार्यस्थलका एक सहकर्मीमा सङ्क्रमण पुष्टि भएकाले म १० दिनसम्म घरमै सेल्फ-आइसोलेसनमा बसें। त्यसपछि, म घरभित्र बस्न सकिनँ—मलाई समस्यामा परेकाहरूलाई मद्दत गर्ने तीव्र इच्छा जाग्यो।”

यसअगाडि शेर्पाबाट रचित ‘सयौँ डाँडा काट्दै आएँ’ लगायतका गीतहरू बजारमा आइसकेका छन्। उनीबाट रचित ६ वटा गीतहरू रिलिज भइसकेका छन्। उनका झन्डै आधा दर्जन गीतहरू या त रेकर्ड भएर रिलिज गर्न बाँकी छन् या त रेकर्डका क्रममा छन्। उपयुक्त समय आएपछि रिलिज गर्दै जाने शेर्पाको योजना छ। गीतकार शेर्पाको पहिलो गीत झन्डै २१ वर्षअगाडि रेकर्ड भएको थियो। ‘तल पर्‍यो सल्लेरी माथि नाम्चे गाउँ’ बोलको उक्त गीत लाक्पा शेर्पाले गाएका थिए। उक्त गीत निकै चर्चित गीतसमेत हो।

सन् २००४ को डिसेम्बरमा अमेरिका आएपछि उनी आफैँले पनि एक परदेशीले भोग्ने समस्याहरू भोगे। विभिन्न खाले सङ्घर्षहरू गरे। अमेरिकामा आएर कपाल काट्ने काम सुरु गरे। सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा ‘पासाङ स्ट्राइकिङ स्टाइल’ खोले। अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन्। उनको ‘पासाङ स्ट्राइकिङ स्टाइल’ अहिले ब्राण्डको रूपमा स्थापित भएको छ। पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइनँ’ र ‘नरोऊ तिमी’ लगायतका गीतहरू निकै चर्चित छन्। ‘नरोऊ तिमी’ बोलको गीत युट्युबमा मात्र ७ मिलियनभन्दा धेरैपटक हेरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com