बिना जानकारी अमेरिकी पासपोर्ट रद्द हुँदा यात्रुहरुलाई सास्ती, कारण अज्ञात


प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार

letter

Photo: Global Residence Index

पछिल्लो समय केही अमेरिकी यात्रुहरूले विदेश पुगेपछि मात्र आफ्नो पासपोर्ट रद्द भएको थाहा पाउँदा ठूलो सास्ती भोग्नुपरेको छ। अमेरिकाबाट उड्ने बेलासम्म वैधानिक देखिएको पासपोर्ट अर्कै देशको अध्यागमनमा पुग्दा ‘हराएको वा चोरी भएको’ सूचीमा भेटिएपछि उनीहरूलाई विमानस्थलबाटै फिर्ता पठाइने वा हिरासतमा राख्ने गरिएको छ।

टिकटकमा भाइरल भइरहेको एक भिडियोमा पार्कर एण्डरसन नामका युवकले आफ्नो पीडा सुनाएका छन्। फ्लोरिडाको मियामीबाट झण्डै २४ घण्टाको उडान भरेर थाइल्याण्ड पुगेका उनलाई बैंकक अध्यागमनले भित्र छिर्न दिएन। उनको पासपोर्ट इन्टरपोलको ‘हराएको वा चोरी भएको’ सूचीमा रहेको जानकारी दिइएको थियो।

एण्डरसनले आफ्नो पासपोर्ट हराएको भनेर कहिल्यै कतै रिपोर्ट गरेका थिएनन्। उनले पासपोर्ट हराएको रिपोर्ट गर्न व्यक्तिगत विवरणहरू चाहिन्छ र ती विवरणहरू आफूले कसैलाई नदिएको बताएका छन्। तर कसरी रद्द भयो भन्ने बारे आफैँ अचम्ममा परेको उनले बताएका छन्। उनले सोही पासपोर्टबाट ६ वटा उडान बुक गरेका थिए भने दुईवटामा यात्रा पनि गरिसकेका थिए।

यस्तै घटना न्युयोर्ककी मार्सीले पनि भोग्नुपरेको थियो। गत महिना न्युयोर्कको जेएफके विमानस्थलबाट रोम उडेकी उनलाई इटाली पुगेपछि मात्र पासपोर्ट रद्द भएको जानकारी दिइयो। उनले पनि आफूले पासपोर्ट हराएको रिपोर्ट नगरेको र अरू कसैले आफ्नो पासपोर्ट रद्द गरिदिएको बताइन्। एयरलाइन्सले पनि चेक-इन गर्दा यो कुरा थाहा पाएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्सीसँग जन्मदर्ता प्रमाणपत्र साथमा भएकाले उनले रोमस्थित अमेरिकी दूतावासबाट आकस्मिक पासपोर्ट बनाएर यात्रा जारी राख्न सफल भइन्। तर यसका लागि उनले सयौँ डलर खर्च गर्नुपर्‍यो।

अमेरिकी विदेश मन्त्रालयको नियमअनुसार अनलाइन, हुलाक वा प्रत्यक्ष रूपमा पासपोर्ट हराएको रिपोर्ट गर्न सकिन्छ। तर सुरक्षा प्रणालीमा रहेको कमजोरीका कारण व्यक्तिको मञ्जुरी बिना नै कसरी पासपोर्ट रद्द भइरहेका छन् भन्नेबारे सरकारी निकायहरूले स्पष्ट जवाफ दिएका छैनन्।

पीडित यात्रुहरूले यसलाई सुरक्षा प्रणालीको असफलता भनेका छन्। यी घटनाले विदेश भ्रमणमा निस्कनुअघि आफ्नो पासपोर्टको अवस्था पुनः जाँच गर्न र थप परिचयपत्रहरू साथमा राख्न अन्य यात्रुहरूलाई सचेत गराएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com