न्यूयोर्कमा एक महिने स्वस्थानी महोत्सव सुरु (फोटोफिचर)
प्रकाशित मिति : पुस १९, २०८२ आईतबार
न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस पी. डिनापोली र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले महोत्सवको संयुक्त रूपमा उद्घाटन गर्दै । फोटो : राजन काफ्ले
न्यूयोर्कमा ‘एक महिने स्वस्थानी महोत्सव–२०२६’ भव्यताका साथ सुरु भएको छ। रिजउड नेपाली समाजको आयोजना र विभिन्न नेपाली-अमेरिकी सामुदायिक संस्थाहरूको सहकार्यमा १०८ कलश यात्रासहित स्वस्थानी मातालाई मन्दिरमा भित्र्याएर महोत्सवको शुभारम्भ गरिएको हो।

स्वस्थानी व्रत कथाको पहिलो दिन न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस पी. डिनापोली र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले महोत्सवको संयुक्त रूपमा उद्घाटन गरे। कार्यक्रममा न्यूयोर्क राज्यकी एसेम्बली मेम्बर जेनिफर राजकुमार, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पट्रोलर डिनापोलीले नेपाली समाजले आपसी ऐक्यबद्धता र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। त्यस्तै, महावाणिज्यदूत भण्डारीले प्रवासमा रहेर पनि आफ्नो धर्म र संस्कृतिप्रतिको प्रतिबद्धता कायम राखेकोमा नेपाली समुदायको प्रशंसा गरे। एसेम्बली मेम्बर राजकुमारले नेपाली समुदायको सांस्कृतिक पहिचान र एकताको सह्राहना गर्दै शुभकामना व्यक्त गरिन्। संरक्षक खगेन्द्र जीसीले अमेरिकामा रहेका सबै नेपालीलाई एकजुट भएर कला-संस्कृति प्रवर्द्धनमा लाग्न अनुरोध गरे।

यस वर्ष महोत्सवको मुख्य उद्देश्य मन्दिरको पुनर्निर्माण तथा आर्थिक दायित्वहरू फछ्र्यौट गर्नु रहेको छ। साढे तीन लाख डलर संकलन गर्ने लक्ष्य राखिएको यस अभियानबाट प्राप्त रकम सामुदायिक सांस्कृतिक केन्द्र निर्माणमा उपयोग गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवको पहिलो दिन नै करिब ३६ हजार अमेरिकी डलर दान संकलन भएको छ। सुदूरपश्चिम समाज अमेरिकाले ‘संस्थापक सिल्भर ट्रस्टी’का रूपमा ५,००१ डलर सहयोग गरेको छ। त्यसैगरी गणेश विष्ट, राम देउवा, नवीन ओझा र राइभान महराको परिवारले पनि जनही ५,००१ डलर सहयोग गर्दै नयाँ संस्थापक सिल्भर ट्रस्टी बनेका छन्।

सुदूरपश्चिम समाज अमेरिकाका अध्यक्ष दानसिंह बिष्टको नेतृत्वमा बाजागाजासहित स्वस्थानी मातालाई मन्दिर प्रवेश गराउँदा भक्तजनहरू उत्साहित देखिएका थिए। कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता थियो।

एक महिनासम्म चल्ने यस महोत्सवमा दीपक खराल र उद्धव शास्त्रीले नियमित कथा वाचन गर्नेछन् भने पुरुषोत्तम सापकोटा अतिथि कथावाचकका रूपमा रहनेछन्। रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टका अनुसार यो महोत्सव केवल धार्मिक अनुष्ठान मात्र नभई सामुदायिक एकताको बलियो आधार हो।

“हामी एकता र सहयोगका माध्यमबाट नेपाली संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छौं,” भट्टले भने, “आगामी दिनमा नेपालीको बाक्लो उपस्थिति रहेका स्थानहरूमा कम्युनिटी सेन्टर निर्माणका लागि थप सहकार्य गरिनेछ।” मूल समारोह समितिका अध्यक्ष उद्धव शास्त्री र संयोजक अमित शाहले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै एक महिने महोत्सवमा सहभागीता जनाउनु हुन तथा कर्ताबन्नुहुन सम्पुर्ण नेपाली समुदायलाई आव्हान गरेका छन्।

सन् २०१३ देखि सुरु भएको यो महोत्सवले हालसम्म दर्जनौं संस्थाहरूलाई जोड्ने पुलको काम गरेको छ। यस वर्ष ३०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। वृद्ध र असहाय भक्तजनहरूका लागि ज्याक्सन हाइटदेखि यातायातको सुविधा समेत उपलब्ध गराइएको संयोजक अमित शाहले जानकारी दिए।

पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु भएर माघ शुक्लपर्णिमासम्म चल्ने श्री स्वस्थानी व्रतकथा वैदिक सनातन कालदेखि धार्मिक रुपले अति नै महत्वपूर्ण मानिन्छ । कर्ता हुन ईच्छुक श्रद्वालु भक्तजनहरुलाई अग्रिम रुपमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । साथै मन्दिरको स्तरोन्नतिका लागि दान गर्न ईच्छुक दाताहरुलाई पनि आयोजक समिती तथा रिजउड नेपाली समाजको कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो महोत्सवले दोश्रो पुस्ताका नेपालीहरुलाई धर्म र संस्कृतिको जगेर्ना गर्नमात्र नभई नेपालीपन झल्काउनका लागि समेत मद्दत गर्ने आयोजकको भनाई छ। श्रीस्वस्थानी व्रतकथा महोत्सव अवधिभर विहान नित्य पूजा कायम रहने जानकारी दिदै बेलुका पूजा, कथावाचन र भजनकीर्तनका साथ हुने व्रतकथा महोत्सवलाई सफल बनाउन सबैलाई तन, मन र धनले साथ दिन आयोजकले आग्रह गरेका छन्।

महोत्सवलाई सुव्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहितका उप-समितिहरू गठन गरिएको छ। जसअन्तर्गत स्टेयरिङ कमिटीको नेतृत्व रिजवुड नेपाली समाजका अध्यक्ष राजेश भट्टले गरिरहेका छन् भने मूल समारोह समितिको संयोजकमा उद्धव शास्त्री र कार्यक्रम संयोजकमा अमित प्रताप शाह रहेका छन्। त्यस्तै, कथा वाचन तथा पूजा समितिको जिम्मेवारी दीपक खराललाई दिइएको छ भने आर्थिक समितिको संयोजन तुलसी आचार्यले गरिरहेका छन्।

जनसम्पर्क तथा आउटरीचमा परशुराम पन्थी, कर्ता तथा हल व्यवस्थापनमा सुनिता भण्डारी, र स्वयंसेवक परिचालनमा रामकृष्ण बर्तौला संयोजक छन्। भजन-कीर्तन समितिको संयोजन गोपी ढुंगाना, यातायात तथा लजिस्टिक संयोजक अमर अधिकारी, सूचना प्रविधि तथा सामाजिक सञ्जाल संयोजक अनुप शर्मा र अतिथि स्वागत समिति संयोजक पुष्पा अधिकारी गौतमले सम्हालिरहेका छन्।

रिजउड नेपाली समाजले स्वस्थानी महोत्सवका लागि इच्छा, आस्था र सहयोगभावना भएका समुदायका सदस्य र व्यवसायिक संस्थाहरूसँग प्रायोजनका लागि आह्वान पनि गरेको छ। गत वर्ष ४,००० भन्दा बढी भक्तजनले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए भने यसपालि कार्यक्रमलाई पहुँच र सहभागिताका हिसाबले दोब्बर बनाउने लक्ष्य राखिएको छ। विदेशी भूमिमा नेपाली परम्परा र श्रद्धाको दर्शन गराउने यो निरन्तर प्रयासलाई सफल पार्न आयोजकहरूले नेपाली–अमेरिकी समुदाय, व्यापारी, संघ–संस्था र व्यक्तिगत सहयोगकर्तालाई साथ दिन आह्वान गरेका छन्।

आयोजकका अनुशार प्रायोजकबाट प्राप्त सहयोग न्यूयोर्कमा पहिलो नेपाली मन्दिर तथा सामुदायिक र सांस्कृतिक केन्द्रको निर्माण–सञ्चालन, धार्मिक सेवा, सांस्कृतिक गतिविधि, स्थल व्यवस्थापन, समुदाय संम्पर्क र सञ्चालन व्यवस्थामा प्रयोग हुनेछ।प्रायोजकहरूको लागि तीन स्तरका सहयोग अवसर उपलब्ध गराइएको छ ।

पहिलो, सप्रेम सेवामा ५०० डलर वा सोभन्दा बढी सहयोगकर्ताका नाम सामाजिक सञ्जाल र वेबसाइटमार्फत प्रचार गरिनेछ र महोत्सवका क्रममा दैनिक रूपमा नाम उच्चारण गरिनेछ। दोस्रो, सभक्ति सेवामा १,००० डलर वा सोभन्दा बढीको सहयोगमा सबै लाभका साथै आधिकारिक ब्यानरमा लोगो राखिने, मन्दिर परिसरमा प्रायोजकको ब्यानर प्रदर्शन गरिने र डिजिटल माध्यमबाट प्रचार–प्रसार गरिनेछ। तेस्रो, श्रद्धा भक्ति सेवामा १,५०० डलर वा सोभन्दा बढी योगदानकर्तालाई मुख्य अतिथिका रूपमा आमन्त्रण गरी पाँच मिनेटको विशेष वक्तृत्व अवसर प्रदान गरिनेछ र विशेष मान्यता दिइनेछ।

श्री स्वस्थानी व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ ।

श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नेपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।
उद्घाटन समारोहका थप फोटोहरु । सबै फोटो: राजन काफ्ले



















