न्युयोर्ककी उर्मिलाको कलाकारिता यात्रामा निरन्तरता, यसपटक ल्याइन् क्रिश्चियन गीत


प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

न्युयोर्क निवासी कलाकार उर्मिला लाम्गादेले आफ्नो कलाकारिता यात्रालाई निरन्तरता दिँदै यसपटक क्रिश्चियन गीत ‘ख्रीष्टको प्रेममा’ ल्याएकी छिन्। क्रिसमसको अवसरमा सार्वजनिक गरिएको यस नयाँ नेपाली क्रिश्चियन गीतमा लाम्गादेको स्वर र म्युजिक भिडियो दुवै समावेश छन्। भिडियोमा अभिनेता शंकर थापा “स्माइल” सम्राट र सृष्टिको अभिनय देख्न सकिन्छ।

लाम्गादेका अनुसार, भिडियोको कथावस्तुले मानव जीवनमा आउने निराशा र असम्भव लाग्ने परिस्थितिहरूको चित्रण गर्दै, परमेश्वरमा सबै कुरा सम्भव हुन्छ भन्ने विश्वासलाई उजागर गर्ने प्रयास गरेको छ। गीतको मुख्य सन्देश परमेश्वरमाथिको भरोसा हो, जसले येशू ख्रीष्टलाई जीवनको ज्योति, बाटो, सत्य र अन्तिम समाधानको रूपमा प्रस्तुत गरेको छ।

न्युयोर्कमा लामो समयदेखि बस्दै आएकी उर्मिला लाम्गादेले गायन र अभिनय यात्रालाई पनि निरन्तरता दिँदै आएकी छिन्। हालै उनले अभिनय गरेको चलचित्र ‘वसन्त’ले चर्चा पाएको थियो। उनी २२ वर्षको लामो अन्तरालपछि सो चलचित्रमार्फत अभिनयमा फर्केकी थिइन्। झण्डै दुई दशकअघि टेलिसिरियल ‘दलन’मा उनले नैनाको भूमिका निर्वाह गरेकी थिइन्, जसमा दलित समुदायभित्रको अन्तरजातीय विभेद र तेस्रो पुस्ताको प्रेमकथाको प्रस्तुति गरिएको थियो। नैनाको चरित्रमार्फत उनले दलित समुदायका विश्वकर्मा र परियार परिवारको कथालाई जीवन्त रूपमा उतारेकी थिइन्। यस वर्ष चलचित्र ‘वसन्त’मा उनले एउटी आमाको संवेदनशील चरित्र निभाएकी छिन्, जहाँ उनले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतसँग सह-अभिनय गरेकी हुन्।

उर्मिला करिब १३ वर्षको अन्तरालपछि झन्डै ५ वर्षअघि गायन यात्रामा फर्किएकी थिइन्। उक्त अवधिमा उनले झण्डै आधा दर्जन गीत रिलिज गरिसकेकी छिन्। ‘माया बैगुनी’, ‘ताजाताजा’, ‘लिन आउँछु भन्थ्यौ’, ‘समान सबै जात हजुर’ जस्ता गीतहरूले उनको गायन प्रतिभा उजागर गरेका छन्। हेटौंडाको रातामाटेमा जन्मिएकी उर्मिलालाई बाल्यकालदेखि नै गायन र अभिनयप्रति रुचि थियो। उनी भन्छिन्, “मेरो अभिनयको सपना पहिलो पटक ‘दलन’ले पूरा गरिदियो।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि उनले म्युजिक भिडियो र स्वास्थ्य मन्त्रालयले निर्माण गरेका चेतनामूलक टेलिभिजन विज्ञापनहरूमा समेत अभिनय गरेकी थिइन्। ती विज्ञापन नेपाल टेलिभिजनमा निकै चर्चित बनेका थिए। तर सन् २०११ मा अमेरिका गएपछि उनको अभिनय यात्रा केही समयका लागि रोकियो। “बच्चाहरू साना थिए, त्यसैले अभिनय र गायनलाई निरन्तरता दिन सकिनँ। अहिले बच्चाहरू हुर्किसकेकाले गायन र अभिनयमा फर्कन सहज भएको छ,” उनले हाँस्दै भनिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com