होटल हिल्टनमा आइस एजेन्टहरू बसिरहेको भन्दै टिकटकमा भिडियो पोस्ट गरेपछि गुम्यो जियाको जागिर 


प्रकाशित मिति : पुस २५, २०८२ शनिबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

अमेरिकाको डलासस्थित प्रसिद्ध होटल हिल्टन एनाटोलमा अमेरिकी आप्रवासन निकाय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस)का एजेन्टहरू बसिरहेको दाबी गर्दै टिकटकमा भिडियो पोस्ट गरेपछि एक युवती कर्मचारीलाई जागिरबाट निकालिएको घटनाले अमेरिकाभर चर्को बहस र आक्रोश पैदा गरेको छ।

ती टिकटक प्रयोगकर्ता २० वर्षीया जिया (पूरा नाम सार्वजनिक नगरिएको) हुन्। द डलास मर्निङ न्यूजका अनुसार जियाले सुरक्षा जोखिमका कारण आफ्नो थर सार्वजनिक नगर्ने निर्णय गरेकी हुन्। उनले सुरुमा पोस्ट गरेको भिडियोमा होटल परिसरमा चिन्ह नलगाइएका (अनमार्क) गाडीहरू देखिएका छन्, जसलाई उनले आइस एजेन्टहरूको उपस्थितिसँग जोड्दै होटल वरिपरि सावधानी अपनाउन आग्रह गरेकी थिइन्।

जियाले आफ्नो टिकटकमाफर्त आफुलाई जागिर गुम्ने डरभन्दा पनि परिवारहरू छुट्टिन सक्ने, निर्दोष मानिसहरू पक्राउ पर्न सक्ने अवस्थाप्रति गहिरो चिन्ता लागेको बताएकी थिइन् । “आइसको उपस्थितिले समुदायमा त्रास फैलिन सक्छ,” उनले भिडियोमा उल्लेख गरेकी थिइन्।

यो घटना ट्रम्प प्रशासनको व्यापक डिपोर्टेसन अभियानका कारण आइस र आप्रवासी समुदायबीच तनाव चुलिएको समयमा आएको हो। पछिल्लो समय मिनियापोलिसमा आइस अधिकारीद्वारा गरिएको घातक गोलीकाण्ड र त्यसको विरोधमा देशभर भएका प्रदर्शनहरूले यो मुद्दा झन् संवेदनशील बनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जियाले पोस्ट गरेको अर्को भिडियोमा हिल्टन एनाटोलको अगाडि अनमार्क गाडीहरू त्यहाँबाट बाहिरिँदै गरेको दृश्य देखिन्छ। उनले आफ्ना फलोअर्सलाई होटल आसपास सचेत रहन चेतावनी दिएकी थिइन्। ती भिडियोहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै गएपछि होटल र आइस दुवैको आलोचना चर्किएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा हिल्टन होटलको बहिष्कार गर्न आह्वान हुन थालेको छ। द डलास मर्निङ न्यूजका अनुसार, जियालाई त्यही दिन हिल्टन होटलसँग सम्झौतामा रहेको तेस्रो-पक्ष टाउन पार्कले जागिरबाट हटाएको हो। उनले भिडियो हटाउन अस्वीकार गरेपछि कम्पनीले उनलाई बर्खास्त गरेको बताइएको छ।

यो विवादास्पद घटना त्यतिबेलै सार्वजनिक भयो, जब मिनेसोटाको एउटा होटलले आइस अधिकारीका लागि कोठा उपलब्ध गराउन अस्वीकार गरेपछि आफ्नो हिल्टन ब्रान्डसँगको सम्बन्ध गुमाएको समाचार बाहिर आएको थियो। यसले हिल्टन होटल चेन र आइसको सम्बन्धलाई लिएर थप प्रश्नहरू उठाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com