नेतृत्व परिवर्तन नहुँदासम्म भेनेजुएलाको शासन अमेरिकाले सञ्चालन गर्छ : राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । साथमा, विदेशमन्त्री मार्को रुबियो । तस्वीर : ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व परिवर्तन नहुँदासम्म अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नभएसम्म अमेरिकाले प्रत्यक्ष भूमिका खेल्ने बताए।

“सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सम्भव नहुन्जेलसम्म हामी देश चलाउनेछौँ,” ट्रम्पले मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी कसैलाई भित्र ल्याएर फेरि पछिल्ला धेरै वर्षझैँ उस्तै अवस्था दोहोरिन दिन चाहँदैनौँ । ”

यो घोषणा अमेरिकी सेनाले रातारात गरेको कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि आएको हो। दुवैलाई न्यूयोर्क लगिँदै गरिएको छ, जहाँ उनीहरूविरुद्ध नार्को–आतङ्कवाद षड्यन्त्र, कोकिन आयात षड्यन्त्रलगायत गम्भीर आरोपमा मुद्दा चलाइने अमेरिकी अधिकारीहरूले जनाएका छन्।

ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा अर्बौँ डलर लगानी गरेर बिग्रिएको पूर्वाधार मर्मत गर्ने र देशको अर्थतन्त्र पुनर्जीवित गर्ने दाबी गरे। उनले मादुरोसँग अन्तिम दिनहरूमा वार्ता भएपनि अन्ततः “अझै सर्जिकल र शक्तिशाली” कदम चाल्नुपरेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस घटनापछि विश्व नेताहरूको प्रतिक्रिया मिश्रित देखिएको छ। क्षेत्रीय नेताहरूबाट कडा निन्दा आएको छ भने केही अमेरिकी सहयोगी राष्ट्रहरूले कारबाहीको समर्थन गरेका छन्। अमेरिकाभित्र भने डेमोक्र्याट नेताहरूले कांग्रेसको अनुमति बिना गरिएको कारबाही भन्दै आलोचना गरेका छन्, जबकि केही रिपब्लिकन नेताहरूले ट्रम्पको नेतृत्वको प्रशंसा गरेका छन्।

अमेरिकी अधिकारीहरू अहिले भेनेजुएलामा नयाँ नेतृत्व चयन प्रक्रियामा कसरी संलग्न हुने भन्नेबारे छलफल गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई समर्थन गर्ने कि नगर्नेबारे भने खुलाएका छैनन्।

यो पनि पढ्नुहोस् :

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com