अमेरिकाको सैन्य आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति मादुरोदम्पतीलाई पक्राउ गरिएको ट्रम्पको दाबी


प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस । फाइल तस्वीर : जुआन बार्रेटो/ एएफपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकी सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको दाबी गरेका छन्। ट्रम्पका अनुसार शनिबार बिहान सबेरै अमेरिकी सेनाले भेनेजुएलाभित्र “ठूलो स्तरको” सैन्य आक्रमण सञ्चालन गर्दै मादुरोलाई पक्राउ गरी देशबाहिर लगेको हो।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो कारबाही अमेरिकी कानून कार्यान्वयन निकायसँगको समन्वयमा गरिएको बताएका छन्। घटनासम्बन्धी थप विवरण बिहान ११ बजे हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनको भनाइ छ।

आक्रमणपछि भेनेजुएलाको राजधानी काराकासमा विस्फोटको आवाज सुनिएको र शहरका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भेनेजुएला सरकारले भने अमेरिकी सेनाले काराकाससहित अरागुवा, ला ग्वाइरा र मिरान्डा राज्यका सैनिक तथा नागरिक संरचनालाई लक्षित गरेको आरोप लगाएको छ।

सन् २०१३ देखि सत्तामा रहेका राष्ट्रपति मादुरोले आपतकाल घोषणा गरेको भेनेजुएलाको सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालनमा उत्रिन र अमेरिकी आक्रमणको विरोध गर्न आह्वान गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो र उनकी पत्नीको अवस्थाबारे आधिकारिक जानकारी नभएको भन्दै अमेरिकी प्रशासनसँग जीवनको प्रमाण माग गरेकी छन्।

अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री मार्को रुबियोसँगको कुराकानी उद्धृत गर्दै मादुरोलाई आतंकवाद र लागूऔषध तस्करीसम्बन्धी अभियोगमा अमेरिकामा मुद्दा चलाउन पक्राउ गरिएको बताएका छन्। उनका अनुसार भेनेजुएलामा गरिएको सैन्य कारबाही पक्राउ प्रक्रिया सुरक्षित बनाउन केन्द्रित थियो।

मादुरोमाथि सन् २०२० मा अमेरिकी न्याय विभागले आतंकवाद र लागूऔषध तस्करीका अभियोग लगाएको थियो। पछिल्ला महिनाहरूमा ट्रम्प प्रशासन र मादुरो सरकारबीच तनाव चर्किँदै आएको थियो। अमेरिकाले मादुरोलाई लागूऔषध गिरोहको प्रमुख तथा “अवैध नेता” भन्दै आएको छ।

हाल साउथकम क्षेत्रमा करिब १५ हजार अमेरिकी सैनिक तैनाथ छन्। अमेरिकाले अवैध लागूऔषध तस्करी रोक्न भन्दै पछिल्ला महिनाहरूमा क्यारेबियन र प्रशान्त क्षेत्रमा पनि आक्रमणहरू तीव्र पारेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com