इरानलाई ट्रम्पको चेतावनी – शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि हिंसा भए अमेरिकाले हस्तक्षेप गर्छ
प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का इरानी सचिव अली लारिजानी । फाइल तस्बिरहरू : एलेक्स ब्रान्डन, बिलाल हुसेन/ रासस- एपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी प्रदर्शनका क्रममा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि हिंसा भए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै उनले इरानी सरकारलाई कडा चेतावनी दिएका हुन् ।
ट्रम्पले पोस्टमा भनेका छन्, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई हिंसात्मक रूपमा मार्यो भने अमेरिका उनीहरूको उद्धारका लागि अघि बढ्नेछ।” उनले अमेरिका “पूर्ण रूपमा तयार र कारबाहीका लागि सक्षम” रहेको दाबी पनि गरेका छन्।
इरानमा करिब एक सातादेखि बढ्दो प्रदर्शनका क्रममा कम्तीमा छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कमजोर अर्थतन्त्र, उच्च महँगी र बेरोजगारीप्रति असन्तोष जनाउँदै व्यवसायी र सर्वसाधारण सडकमा उत्रिएका हुन्।
इरानी अधिकारीहरूले आर्थिक समस्या स्वीकार गरे पनि हिंसात्मक गतिविधिका पछाडि विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन्। यसैबीच, इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिकी चेतावनीको आलोचना गर्दै इरानको आन्तरिक मामिलामा हस्तक्षेपले सम्पूर्ण क्षेत्रमा अस्थिरता निम्त्याउने बताएका छन्।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शमखानीले पनि कडा प्रतिक्रिया दिँदै इरानको सुरक्षामा हस्तक्षेप गर्ने कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी दिएका छन्।






