अमेरिकी भिसाका लागि १५ हजारसम्म धरौटी राख्नुपर्ने नियम १३ देशहरूमा विस्तार
प्रकाशित मिति : पुस ४, २०८२ शनिबार
अमेरिकी विदेश मन्त्रालयले भिसाका लागि १५ हजारसम्म धरौटी राख्नुपर्ने नियम १३ देशहरूमा विस्तार गरेको छ । सन् २०२६ जनवरी १ देखि लागू हुने गरी भुटानलाई पनि धरौटी राख्नुपर्ने देशमा थपिएको छ। यस कार्यक्रम अन्तर्गत तोकिएका देशहरूबाट पर्यटक भिसाका लागि आवेदन दिने निश्चित व्यक्तिहरूले भिसा जारी हुनुअघि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर फिर्ता हुने गरी धरौटी राख्नुपर्ने हुन्छ। आवेदकको भिसा अन्तर्वार्ताको समयमा व्यक्तिगत रूपमा धरौटी रकम निर्धारण गरिन्छ।
विदेश मन्त्रालयका अनुसार यो कार्यक्रम इमिग्रेसन एन्ड नेशनालिटी एक्ट र यो कार्यक्रम स्थापित गर्ने अस्थायी अन्तिम नियम अन्तर्गत कार्यान्वयन गरिएको हो। यो मुख्यतया भिसाको अवधि सकिएपछि पनि अमेरिकामा बसिरहने ओभरस्टे समस्यालाई सम्बोधन गर्न डिजाइन गरिएको हो। यसका लागि होमल्याण्ड सेक्युरिटीको ओभरस्टे रिपोर्टलाई आधार मानी उच्च ओभरस्टे दर भएका देशहरू पहिचान गरिनेछ ।
अहिलेको अवस्थामा यो भिसा धरौटी नियम धेरै देशहरूका लागि लागू भइसकेको छ। मलावी र जाम्बियाका नागरिकहरूका लागि सन् २०२५ अगस्ट २० देखि र गाम्बियाका लागि २०२५ अक्टोबर ११ देखि यो नियम लागू भएको हो। मौरिटानिया, साओ टोमे र प्रिन्सिपे, र तान्जानियाका लागि अक्टोबर २३, २०२५ देखि यो व्यवस्था अनिवार्य गरिएको थियो। सन् २०२६ जनवरी १ देखि यो कार्यक्रम भुटान, बोत्स्वाना, मध्य अफ्रिकी गणतन्त्र, गिनी, गिनीबिसाउ, नामिबिया र तुर्कमेनिस्तानमा विस्तार गरिनेछ।
भिजिटर भिसाका लागि योग्य ठहरिएका र बन्ड राख्नुपर्ने आवेदकहरूले धरौटीका लागि आई ३५२ फारम भर्नुपर्नेछ। यो रकम आधिकारिक अमेरिकी ट्रेजरी भुक्तानी प्लेटफर्म मार्फत मात्र बुझाउनुपर्नेछ। विदेश मन्त्रालयले आवेदकहरूलाई कुनै पनि तेस्रो पक्ष वेबसाइटहरू प्रयोग नगर्न जोड दिएको छ, किनकि अनधिकृत माध्यमबाट पठाइएको रकमका लागि अमेरिकी सरकार जिम्मेवार नहुने चेतावनी दिइएको छ । धरौटी तिर्दैमा भिसा स्वीकृतिको ग्यारेन्टी नहुने र कन्सुलर अधिकारीको निर्देशनबिना तिरिएको पैसा फिर्ता नहुने कुरा पनि स्पष्ट पारिएको छ।
धरौटी तिरेका भिसा धारकहरूले अमेरिका प्रवेश र प्रस्थान गर्दा तोकिएका प्रवेश बिन्दुहरू बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल , जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल वा वाशिंगटन डलेस अन्तर्राष्ट्रिय विमानस्थल मात्र प्रयोग गर्नुपर्नेछ। यो सर्त पालना नगरेमा प्रवेशमा ढिलाइ वा अस्वीकार हुन सक्छ, वा प्रस्थानको रेकर्ड नहुन सक्छ, जसले भविष्यमा भिसाको योग्यतामा असर पार्न सक्छ।
अनुगमन सुनिश्चित गर्न होमल्याण्ड सेक्युरिटीले धरौटी सर्तहरूको सम्भावित उल्लंघनका घटनाहरूलाई अमेरिकी नागरिकता र अध्यागमन सेवा युएससीआईएसमा पठाउनेछ। अनुमति दिइएको अवधिभन्दा बढी बस्नु, समयमै प्रस्थान नगर्नु, वा अमेरिकामा शरण आवेदन सहित आफ्नो अध्यागमन स्थिति परिवर्तन वा समायोजन गर्न आवेदन दिनुलाई धरौटी सर्तहरूको उल्लंघन मानिनेछ।
यस विस्तारमार्फत विदेश मन्त्रालयले भिसा अनुपालन संयन्त्रलाई बलियो बनाउने र विशेष गरी छोटो अवधिको व्यापारिक र पर्यटन भिसामा उच्च ओभरस्टे दर देखिएका देशहरूमा यो समस्या कम गर्ने लक्ष्य राखेको छ।
आर्थिक वर्ष २०२४ को रिपोर्ट अनुसार अमेरिकामा भिसा अवधि सकिएपछि पनि बस्ने ओभरस्टे गैर आप्रवासीहरूको संख्या करिब ५ लाख रहेको थियो। रिपोर्टले हवाई वा समुद्री मार्गबाट प्रवेश गरेका र आर्थिक वर्ष २०२४ मा भिसा अवधि सकिएका विदेशी यात्रीहरूको विवरण पछ्याएको छ । नेपालीका सन्दर्भमा पर्यटक भिसामा कुल ३४,०७० अपेक्षित प्रस्थानमध्ये १,०६४ नेपाली नागरिकहरू ओभरस्टे भएका छन्, जुन ३ दशमलव १२ प्रतिशतको दर हो। यो दर सन् २०२३ को ४ दशमलव १९ प्रतिशत र २०२२ को १२ दशमलव ३१ प्रतिशतको तुलनामा घटेको देखिन्छ।
नेपाली विद्यार्थीहरूको ओभरस्टे दरमा भने वृद्धि भएको छ। आर्थिक वर्ष २०२४ मा ४,९३७ अपेक्षित प्रस्थानमध्ये ५०६ नेपाली विद्यार्थीहरू ओभरस्टे भएका छन्, जुन १० दशमलव २५ प्रतिशतको दर हो।





