डिभी कार्यक्रम स्थगनले कसलाई कस्तो असर पार्छ? युएससीआईएस, विदेश मन्त्रालय र कानुन व्यवसायीको प्रतिक्रिया
प्रकाशित मिति : पुस ३, २०८२ शुक्रबार
युएससीआईएसको न्युजर्सीमा रहेको कार्यालय ।
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेपछि अमेरिकी विदेश मन्त्रालयले यस विषयमा होमल्याण्ड सेक्युरिटीसँग नजिकको समन्वयमा काम गरिरहेको पुष्टि गरेको छ।
खसोखासलाई प्रतिक्रिया दिँदै विदेश मन्त्रालयका प्रवक्ताले भने, “यस हप्ता भएका भयानक घटनाहरूले डाइभर्सिटी भिसा कार्यक्रमले अमेरिकी सुरक्षा र सुरक्षामा निम्त्याउन सक्ने जोखिम देखाएका छन्, जसलाई सुधार्न राष्ट्रपति ट्रम्पले लामो समयदेखि प्रयासरत रहनुभएको छ।” मन्त्रालयले अमेरिकालाई यस्ता खतराबाट जोगाउन आवश्यक सबै उपाय अपनाउन होमल्याण्ड सेक्युरिटीसँग समन्वय गरिरहेको जनाएको छ।
यद्यपि, होमल्याण्ड सेक्युरिटीको निर्देशनपछि अमेरिकी दूतावासहरूले डाइभर्सिटी भिसा जारी राख्ने वा रोक्ने भन्नेबारे विदेश मन्त्रालयले स्पष्ट जवाफ दिएको छैन। त्यस्तै, हालसम्म सुरु हुन नसकेको डिभी–२०२७ को दर्ता प्रक्रिया थप ढिलाइ हुनेछ वा हुने छैन भन्नेबारे पनि मन्त्रालयले कुनै टिप्पणी गरेको छैन।

खसोखासले अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)सँग अमेरिकी कन्सुलरबाट पहिले नै डाइभर्सिटी भिसा प्राप्त गरिसकेका वाहकहरूलाई अमेरिकी प्रवेश विन्दुहरूमा रोक लगाइनेछ वा छैन भन्नेबारे सोधपुछ गरेको थियो। तर सीबीपीले सीधा उत्तर दिन अस्वीकार गर्दै सोधपुछ अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) सँग गर्न सिफारिस गरेको थियो। खसोखासले थप स्पष्टीकरणका लागि होमल्याण्ड सेक्युरिटीलाई पनि सम्पर्क गरेको थियो, तर यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन।
यसबाहेक खसोखासले युएससीआईएससँग कार्यक्रम स्थगनपछि उत्तर नआएका धेरै महत्वपूर्ण प्रश्नहरूबारे पनि सोधपुछ गरेको थियो। युएससीआईएसले सबै प्रक्रियागत प्रश्नहरूको उत्तर नदिए पनि यसको सार्वजनिक मामिला कार्यालयले ट्विटरमा सार्वजनिक गरिएको वक्तव्यतर्फ संकेत गरेको थियो। उक्त वक्तव्यमा भनिएको छ— “राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको निर्देशनमा, अपराधी विदेशीहरूबाट अमेरिकीहरूलाई जोगाउन युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रममा आफ्नो भूमिका तुरुन्तै स्थगित गरेको छ। यो खतरनाक कार्यक्रमले सुरक्षा चिन्ताहरू बढाइरहेको छ, किनभने यसले सहभागी देशहरूबाट उपयुक्त नभएका व्यक्तिहरू आकर्षित गर्न सक्छ। अमेरिकाले यस कार्यक्रममार्फत आतंकवादी, हत्यारा वा कानुन उल्लंघन गर्नेहरूलाई आयात गर्न सक्दैन।”
न्युयोर्कस्थित कानुन व्यवसायी केशव सेडाईका अनुसार युएससीआईएसले आफ्नो भूमिका स्थगित गरेपछि अमेरिकाभित्र रहेर स्टाटस एड्जस्ट गर्न खोजिरहेका डिभी विजेताहरू प्रत्यक्ष प्रभावित हुनेछन्। उनले बताए, “डिभी कार्यक्रममा युएससीआईएसको भूमिका भनेको अमेरिकाभित्र रहेका विजेताहरूको सन्दर्भमा हो। अमेरिकामा रहेका व्यक्तिले डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त गर्नका लागि युएससीआईएस समक्ष आफ्नो कानुनी स्थिति (स्टाटस) समायोजन गर्नुपर्छ।”
अमेरिकामा विद्यार्थी भिसा, कामदार भिसा वा अन्य वैध भिसामा रहेका व्यक्तिहरू डिभी लोटरी भरेर स्टाटस एड्जस्ट गर्न योग्य हुन्छन्। तर भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरू भने डिभी लोटरी परेपनि त्यहीँ बसेर स्टाटस एड्जस्ट गर्न योग्य हुँदैनन्। स्थायी रूपमा अमेरिकामा बस्न नपाउनेहरूको सूचीमा परेका व्यक्तिले पनि डिभी परेपछि लाभ लिन सक्दैनन्। यस कारण, यो स्थगनबाट उनीहरू नै बढी प्रभावित हुने सेडाईको भनाइ छ।

यद्यपि, भविष्यमा अमेरिकी विदेश मन्त्रालयले छुट्टै घोषणा गरेर दूतावासहरूबाट भिसा जारी प्रक्रिया समेत स्थगित गर्न सक्ने सम्भावना रहेको सेडाईले बताए। “अमेरिकाभित्र रहेका डिभी विजेताहरूको ग्रिनकार्ड आवेदन स्थगित हुँदा समयसीमा (टाइमलाइन)का कारण योग्य व्यक्तिले समेत ग्रिनकार्ड पाउन नसक्ने सम्भावना छ,” उनले थपे। उनका अनुसार, डिभी–२०२६ का विजेताहरूले आगामी सेप्टेम्बरभित्र ग्रिनकार्ड प्राप्त गरिसक्नुपर्छ, तर स्थगनका कारण यो प्रक्रिया ढिलाइ हुँदा उनीहरू अयोग्य हुन सक्छन्।
डिभी कार्यक्रम स्थगन सम्बन्धी आदेश बिहीबार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले जारी गरेकी थिइन्। उनले युएससीआईएसलाई डाइभर्सिटी भिसा कार्यक्रम तुरुन्तै रोक्न निर्देशन दिएकी थिइन्। यो निर्णय ब्राउन विश्वविद्यालयमा भएको घातक गोलीकाण्डपछि आएको हो, जहाँ संदिग्ध क्लाउडियो म्यानुएल नेभेस भ्यालेन्टे सन् २०१७ मा डिभी लोटरीमार्फत अमेरिका प्रवेश गरेका र पछि ग्रिनकार्ड प्राप्त गरेका व्यक्तिका रूपमा चिनिएका छन्।
सेक्रेटरी नोएमले डिभी कार्यक्रमलाई “विनाशकारी” भन्दै अमेरिकी सुरक्षाका लागि खतराको रूपमा चित्रण गरेकी छिन्। उनले वर्तमान घटनालाई विगतका त्रासदीहरूसँग जोडेकी छन्, विशेषगरी २०१७ को न्यूयोर्क सहरको ट्रक आक्रमणलाई सन्दर्भ गर्दै भनिन्, “यस्तो जघन्य व्यक्तिलाई हाम्रो देशमा कहिल्यै अनुमति दिनु हुँदैनथ्यो।” उनले थपिन्, “अर्को कुनै पनि अमेरिकीलाई हानि नपुगोस् भन्ने उद्देश्यले म तुरुन्तै डिभी कार्यक्रम रोक्न युएससीआईएसलाई निर्देशन दिँदैछु।”

नोएमले यो कदम राष्ट्रपति ट्रम्पको निर्देशनमा चालिएको बताएकी छिन्, जसले लोटरीमा आधारित प्रणालीविरुद्ध ट्रम्प प्रशासनको दीर्घकालीन विरोधलाई प्रतिबिम्बित गर्छ। आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले योग्यतामा आधारित आप्रवासन प्रणालीको पक्षमा डिभी कार्यक्रम हटाउन बारम्बार वकालत गरेका थिए। २०१७ मा न्यूयोर्कको म्यानहट्टनमा भएको ट्रक हमलापछि उनले संसदलाई डाइभर्सिटी भिसा कार्यक्रम समाप्त गर्न आग्रह गरेका थिए। उक्त हमलामा उज्बेकिस्तानबाट डिभीमार्फत आएका २९ वर्षीय सेफुल्लो साइपोभ संलग्न थिए, जसबाट आठ जनाको ज्यान गएको थियो।
ट्रम्पले २०१७ मा “रेज एक्ट” नामक विधेयकको समर्थन गरेका थिए, जुन रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युले प्रस्तुत गरेका थिए। उक्त विधेयकले परिवारमा आधारित आप्रवासनमार्ग घटाउने, रोजगारीमा आधारित प्रणाली परिवर्तन गर्ने र डिभी कार्यक्रम खारेज गर्ने प्रस्ताव राखेको थियो, तर पारित हुन सकेको थिएन। २०१८ मा प्रस्तुत अर्को विधेयक पनि असफल भएको थियो।
राष्ट्रपति ट्रम्पले यद्यपि कार्यकारी आदेशमार्फत डिभी लोटरी समाप्त गर्न सक्ने अधिकार राख्दैनन्। उनले आफ्नो कार्यकालमा डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियम ल्याएका थिए, तर अदालतले त्यसलाई उचित प्रक्रिया नअपनाएको भन्दै खारेज गरेको थियो। यो नियम अहिले प्रकृया पुराएर ल्याइदैछ । डिभी कार्यक्रम सन् १९९० को इमिग्रेशन एक्टद्वारा स्थापित भएको हो, जसले अमेरिका भित्र कम आप्रवासन दर भएका देशका नागरिकलाई हरेक वर्ष ५५ हजारसम्म भिसा उपलब्ध गराउँछ।
अघिल्लो कार्यकालमा ट्रम्पले लिएका प्रतिबन्धात्मक नीतिहरूले डिभी विजेताहरूमाथि उल्लेखनीय असर पारेका थिए। यसपटक पनि डिभी कार्यक्रम स्थगन र अन्य कडाइका नीतिहरूले विजेताहरूलाई असर गर्ने कानुनी विशेषज्ञहरूको धारणा छ।

यसैबीच, न्यूयोर्कस्थित आप्रवासन वकिल बासु फुलाराले डिभी–२०२७ को दर्ता पहिले नै ढिलो भइसकेको अवस्थामा हालको परिस्थितिले यसलाई अझ पछाडि धकेल्न सक्ने बताएका छन्। यद्यपि, विदेश मन्त्रालयले आगामी अक्टोबरदेखि विजेताहरूले भिसा पाउन सुरु गर्ने समयतालिकामा परिवर्तन नहुने संकेत गरेको छ।
फुलाराको भनाइमा, भिसा जारी गर्ने तालिका यथावत रहे पनि दर्ता अवधिमा थप ढिलाइ हुने सम्भावना छ। उनले भने, “विदेश मन्त्रालयले अर्को सेप्टेम्बरअघि नै दर्ता र नतिजा प्रक्रिया समाप्त गर्ने तयारी गरिरहेको छ।”
डिभी लोटरी सामान्यतया अक्टोबरको सुरुमा खुल्ने गर्दछ। तर यसपटक भने डिभी खुल्न करिब दुई महिना ढिलो भइसकेको छ। नोभेम्बर ५, २०२५ मा अमेरिकी विदेश मन्त्रालयले डिभी–२०२७ को दर्ता अवधि ढीलो हुने घोषणा गर्दै प्रवेश प्रक्रियामा केही परिवर्तनहरू लागू गरिरहेको पुष्टि गरेको थियो। मन्त्रालयले दर्ता सुरु हुने आधिकारिक मिति भने अझै घोषणा गरेको छैन।





