अमेरिकालाई एसाइलमको ढोका बन्द नगर्न संयुक्त राष्ट्रसंघको आग्रह


प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

“United Nations” by Ashitakka is licensed under CC BY-NC 2.0.

संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले अमेरिकामा शरण खोज्नेहरुलाई प्रवेश दिइराख्न र उनीहरूलाई उचित कानूनी प्रक्रिया दिन अमेरिकासँग आग्रह गरेका छन्। यो आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकैको हमलापछि तेस्रो विश्वका देशहरूबाट हुने बसाइँसराइ रोक्ने घोषणा गरेपछि आएको हो। साथै ट्रम्प प्रशासनले सबै एसाइलम सम्बन्धी निर्णयहरू रोक्ने घोषणा गरेको छ।

बुधबार भएको उक्त गोलीकाण्डमा अनुसन्धानकर्ताहरूले सन् २०२१ मा अमेरिका प्रवेश गरेका एक अफगान नागरिक संलग्न रहेको बताएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले अध्यागमनबारेका कडा कदमहरु चालेका छन् ।

संयुक्त राष्ट्रसंघमा मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले अमेरिकामा एसाइलम खोज्नेहरु अन्तर्राष्ट्रिय कानून अन्तर्गत सुरक्षाको हकदार भएको र उनीहरूलाई उचित कानूनी प्रक्रिया दिइनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायकी प्रवक्ता युजिन ब्युनले पनि सोही कुरा दोहोराउँदै सुरक्षा चाहिने मानिसहरू उनीहरूको इलाकामा आइपुग्दा उनीहरूले शरणको लागि उचित प्रक्रिया पाउनुपर्ने बताएकी छिन् ।

ट्रम्पले बिहीबार तेस्रो विश्वका देशहरूबाट हुने आप्रवासन निलम्बन गर्ने बताएका थिए। यो घोषणा दुई अमेरिकी नेशनल गार्डका सिपाहीलाई गोली हानिएको घटनापछि गरिएको हो, जसमा एक जनाको मृत्यु भएको छ। उनले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा दिइएका लाखौंू प्रवेश अनुमतिहरूलाई पनि उल्ट्याउने चेतावनी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले अपराध नियन्त्रण अभियानका क्रममा वाशिङ्टनमा खटाइएकी वेस्ट भर्जिनिया नेशनल गार्डकी २० वर्षीया सदस्य सारा बेकस्ट्रमको चोटका कारण मृत्यु भएको बताएका थिए । बुधवारको आक्रमणमा घाइते भएका अर्का सिपाही २४ वर्षीय एन्ड्रयु वुल्फ जीवनका लागि संघर्ष गरिरहेको उनले बताएका थिए । संदिग्ध आक्रमणकारी पनि गम्भीर अवस्थामा छन्।

युएससीआईएसका निर्देशक जोसेफ एड्लोलेले पनि चासोमा रहेका हरेक देशका हरेक विदेशीको हरेक ग्रीन कार्डको पूर्ण पुन परीक्षणको आदेश दिएको बताएका छन् । युएससीआईएसले अफगानिस्तान, क्युबा, हाइटी, इरान, सोमालिया तथा भेनेजुएला लगायतका देशबाट अमेरिका आएर ग्रीन कार्ड लिएका व्यक्तिहरूको पुनः परीक्षण हुने बताएको छ। ग्रीन कार्ड पुनः परीक्षणमा पर्ने अन्य देशहरूमा बर्मा, चाड, कङ्गो गणतन्त्र र लिबिया पनि छन्।

यसै क्रममा, अमेरिकी सरकारले बुधबारदेखि अफगान नागरिकहरूसँग सम्बन्धित सबै इमिग्रेशन प्रक्रिया पनि रोकेको छ। यूएससीआइएसले १९ देशबाट आएका आप्रवासीलाई जारी गरिएका ग्रिन कार्डको पुनः परीक्षण गर्ने भनेर यसको छानबिन सुरु गरिसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com