अमेरिकी अर्थमन्त्रीले भने – ४३ दिनको शटडाउनले अर्थतन्त्रलाई ११ बिलियन डलरको स्थायी चोट


प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ४३ दिन लामो सरकारी शटडाउनका कारण अमेरिकी अर्थतन्त्रमा करिब ११ बिलियन डलर बराबरको स्थायी क्षति पुगेको बताएका छन्। उनले ब्याजदर घट्दै जानु र कर कटौतीका कारण आगामी वर्षको आर्थिक वृद्धि भने सकारात्मक देखिने विश्वास व्यक्त गरे।

एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै बेसेन्टले ब्याजदरप्रति संवेदनशील क्षेत्रहरू (विशेषगरी आवास बजार) मन्दीमा पुगेको स्वीकार गरे। तर, समग्र आर्थिक वृद्धि नकारात्मक दिशामा जाने जोखिम भने आफूले नदेखेको बताए।

बेसेन्टले मुद्रास्फीतिको कारण ट्रम्पका ट्यारिफ नभई सेवामुखी अर्थतन्त्र भएको बताउँदै ऊर्जा मूल्य घटेसँगै समग्र मूल्य वृद्धि थप नियन्त्रणमा आउने अपेक्षा व्यक्त गरे।

हालै, राज्य र स्थानीय चुनावमा डेमोक्र्याटहरूको जित र राष्ट्रपति ट्रम्पको स्वीकृति दर घटेर ३८ प्रतिशतमा झरेसँगै प्रशासनले मूल्य–सुलभतामाथि विशेष ध्यान दिन थालेको देखिन्छ। रोयटर्सरइप्सोस सर्वेक्षण अनुसार ट्रम्पको समर्थन दर सत्ता पुनः सम्हालेपछि यो सबैभन्दा न्यून स्तर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, ट्यारिफका कारण उत्पादन लागत बढेर उद्योग क्षेत्र सुस्ताएको तथ्यांक सार्वजनिक भइरहेका छन्। मिशिगन विश्वविद्यालयको उपभोक्ता सर्वेक्षणले पनि उच्च मूल्यका कारण उपभोक्ताको असन्तुष्टि बढेको उल्लेख गरेको छ।

“म २०२६ प्रति धेरै आशावादी छु। हामीले गैर–मुद्रास्फीतिजन्य मजबुत आर्थिक वृद्धि हुने वातावरण तयार पारेका छौँ,” बेसेन्टले भने।

उनका अनुसार अक्टोबरमा ऊर्जा मूल्य घटेको र घरबिक्री वृद्धि भएको तथ्यले अर्थतन्त्र सुदृढ बन्ने संकेत देखाउँछ। मुद्रास्फीति हाल वार्षिक ३ प्रतिशतमा चलिरहेको छ।

बेसेन्टले डेमोक्र्याट शासित राज्यहरूमा मुद्रास्फीति रिपब्लिकन शासित राज्यभन्दा ० दशमलव ५ प्रतिशतबढी रहेको दाबी गर्दै यसलाई कडा नियमनको असरका रूपमा व्याख्या गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com