अमेरिकाद्वारा एमसिसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब रुपैयाँ अनुदान सुनिश्चित


प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

अमेरिकाले एमसिसी नेपाल कम्प्याक्टलाई ५० मिलियन अमेरिकी डलरको थप सहयोग सुनिश्चित गरेको छ ।

नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले ५० मिलियन अमेरिकी डलर अर्थात् (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेको हो ।

यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब छ अर्ब रुपैयाँ) पुगेको छ । जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

एमसिसी अमेरिकाको सरकारी विकास सहायता एजेन्सी हो, जसले नेपालमा केही ठूला पूर्वाधार परियोजनाहरूका लागि आर्थिक सहयोग दिन्छ । नेपाल र एमसीसीबीच सम्झौता भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सम्झौता सन् २०१७ मा भएको थियो, तर नेपालको संसदले भने यो सम्झौता फेब्रुअरी २०२२ मा अनुमोदन गरेको थियो । अनुमोदनसँगै “व्याख्यात्मक घोषणा” पनि गरिएको थियो । नेपालको स्वाधीनता धेरैभन्दा धेरै सुरक्षित होस् भनेर यो घोषणा गरिएको हो ।

यसले विद्युत् प्रसारण र सडक सुधार तथा मर्मतमा मुख्य काम गर्दछ । नेपाल सरकारले एमसिए नेपाल नामको बोर्ड बनाएको छ, जसले सम्झौताका परियोजनाहरूको व्यवस्थापन गर्नेछ ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्नेछ ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ ।

उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्दछ ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चिरस्थायी साझेदारी प्रतिविम्बित गर्दछ । दशकौँसम्म दुई देशले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् ।

एमसिसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको काठमाण्डौँस्थित अमेरिकी दूतावासले जनाएको छ । (राससको सहयोगमा)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com