अमेरिकीलाई २ हजारको चेक पठाउने ट्रम्पको योजना कार्यान्वयनबारे अर्थमन्त्रीको प्रतिक्रिया


प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी नागरिकलाई ट्यारिफ राजस्वबाट २ हजार डलरको लाभांश चेक पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्न कांग्रेसको अनुमोदन अपरिहार्य हुने बताएका छन् । फक्स न्युजको सन्डे मर्निङ फ्युचर्स कार्यक्रममा बोल्दै बेसेन्टले भने, “हामीलाई त्यसका लागि कानुन आवश्यक पर्छ। हेर्दै जाऊँ के हुन्छ।”

ट्रम्पले यस वर्ष संकलित अर्बौँ ट्यारिफ राजस्वलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गर्दै आएका छन्। बढ्दो जीवन–यापन खर्चप्रति जन असन्तोष बढ्दै गएसँगै ट्रम्पले गत शुक्रबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै “धनीहरूबाहेक सबैलाई” आगामी वर्षका कुनै समयमा चेक पठाइने बताएका थिए।

“यो ठुलो रकम हो । तर, ट्यारिफले हामीलाई डिभिडेन्ड दिन सक्षम बनाएको छ,” ट्रम्पले भनेका थिए । साथै, उनले राष्ट्रको ऋण समेत घटाइने दाबी गरेका थिए ।

तर, विश्लेषकहरूका अनुसार उक्त योजना २०२५ मा सरकारले ट्यारिफबाट उठाउने अनुमानित राजस्वको दोब्बर खर्चिलो हुन सक्छ। यदि डिभिडेन्ड रकम कोभिड महामारीका सरकारी प्रोत्साहन चेकहरूजस्तै ढाँचामा ल्याइए प्रारम्भिक रूपमा यसको लागत ६०० बिलियन डलर पर्ने कमिटी फर अ रिस्पोन्सिबल फेडेरल बजेटले आकलन गरेको छ । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजस्व वर्ष २०२४/२५ को सेप्टेम्बरसम्म अमेरिकाको नेट ट्यारिफ राजस्व १९५ बिलियन डलर पुगेको छ । साथै, सन् २०२५ को अन्त्यसम्ममा करिब ३०० बिलियन डलर पुग्ने अनुमान गरिएको छ।

अर्थमन्त्री बेसेन्टले अमेरिकी नागरिकले आर्थिक राहतको प्रभाव अर्को वर्षको सुरु तिरै महसुस गर्न थाल्ने बताएका छन्। उनले यस वर्ष पारित ट्रम्पको प्रमुख कर सुधार विधेयकअन्तर्गतका कर कटौतीले मुद्रास्फीति घट्ने र वास्तविक आय वृद्धि तीव्र हुने दाबी गरे।

“पहिलो दुई त्रैमासमै मुद्रास्फीति घट्ने देखिन्छ । साथै, वास्तविक आम्दानी उल्लेखनीय रूपमा बढ्नेछ,” बेसेन्टले भने।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com