अबदेखि नेपाली राहदानीबाहक यात्रुले हङकङ हुँदै यात्रा गर्दा ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने 


प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

हङकङ सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङकङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।

नेपाली महावाणिज्य दूतावास हङकङले शनिबार (सन् २०२५ नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।

महावाणिज्य दूतावासले एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।

साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङकङ सरकारको यो कदमले नेपाल र हङकङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउने हुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ । अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङकङ सरकारलाई धन्यवाद दिन चाहन्छ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com