अबदेखि नेपाली राहदानीबाहक यात्रुले हङकङ हुँदै यात्रा गर्दा ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने 


प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार

हङकङ सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङकङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।

नेपाली महावाणिज्य दूतावास हङकङले शनिबार (सन् २०२५ नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।

महावाणिज्य दूतावासले एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।

हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।

साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङकङ सरकारको यो कदमले नेपाल र हङकङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउने हुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ । अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङकङ सरकारलाई धन्यवाद दिन चाहन्छ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com