युएससीआईएसबाट ग्रिनकार्ड पिटिसन स्वीकृत प्राप्त भएको २० दिनमा नेशनल भिसा सेन्टरमा प्रकृया
प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार
युएससीआईएसबाट ग्रिनकार्ड पिटिसन स्वीकृत प्राप्त भएको २० दिनमा नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउन सुरु गर्ने गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालय अन्तरगतको नेशनल भिसा सेन्टरले अध्यागमन भिसा आवेदनहरूको प्रक्रिया समय तालिकाको साप्ताहिक अद्यावधिक जारी गर्दै २० दिनमा केस निर्माण गर्ने गरिएको जनाएको छ । यो अपडेटले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदनहरुबारे कामको गतिलाई संकेत गरेको छ ।
नेशनल भिसा सेन्टरले हाल युएससिआइएसबाट अक्टोबर २१, २०२५ मा प्राप्त भएका निवेदनहरूमा काम गरिरहेको जनाएको छ। युएससीआईएसले आई १३० वा आई १४० पिटिसन स्वीकृत गरेपछि आई ७९७ स्वीकृत सूचना नेशनल भिसा सेन्टरमा पठाउने गर्छ । नेशनल भिसा सेन्टरले त्यसपछि भिसा केस सिर्जना गर्छ, तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्छ । यो प्रकृयाका लागि नै अहिले झण्डै ३ साता लाग्ने गरेको हो ।
त्यसपछि आवेदकलाई उनीहरूको केस नम्बर र इनभ्वाइस आईडी समावेश भएको वेल्कम लेटर पठाउँछ। यो नम्बर कन्स्युलर इलेक्ट्रोनिक एप्लिकेशन सेन्टरमा लगइन गर्नका लागि आवश्यक हुन्छ, त्यसैले आवेदकहरूलाई यो पत्र सुरक्षित राख्न सल्लाह दिइएको छ।
नेशनल भिसा सेन्टरले पेश गरिएका कागजातहरूको समीक्षा गर्न झण्डै १० दिन लगाउने गरेको छ । हाल अक्टोबर ३०, २०२५ मा पेश गरिएका कागाजतहरुको समीक्षा गरिरहेको नेशनल भिसा सेन्टरले जनाएको छ। यो समीक्षा प्रक्रिया सबै आवश्यक शुल्क तिरिसकेपछि र याचिकाकर्ता तथा आवेदकले आवश्यक कागजातहरू बुझाएपछि सुरु हुन्छ। यसका साथै सोधपुछ फारम मार्फत प्राप्त सोधपुछहरूको जवाफ दिने समय पनि अद्यावधिक गरिएको छ । त्यसका लागि झण्डै १ साता लाग्ने गरेको छ । नेशनल भिसा सेन्टरले हाल नोभेम्बर ४, २०२५ मा प्राप्त सोधपुछहरूको जवाफ दिइरहेको छ ।
आवेदकहरूलाई तोकिएको समय सीमाभित्र जवाफ प्राप्त नभएको खण्डमामात्र सार्वजनिक सोधपुछ फारम प्रयोग गर्न अनुरोध गरिएको छ। दोहोरिने सोधपुछहरूले सबै आवेदकहरूलाई समयमै जवाफ दिने क्षमतालाई सुस्त बनाउने भएकाले, अनावश्यक सोधपुछ नगर्न नेशनल भिसा सेन्टरले आग्रह गरेको छ।
नेशनल भिसा सेन्टरले अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २०३ जी अन्तर्गतको एक वर्ष भित्र सम्पर्क गर्ने आवश्यकताको बारेमा पनि ध्यानाकर्षण गराएको छ। यदि कुनै आवेदकले भिसा उपलब्धताको सूचना पाएको एक वर्षभित्र नेशनल भिसा सेन्टरको सूचनाहरूको जवाफ नदिएमा उनीहरूको निवेदन खारेज हुने जोखिम हुन्छ र उनीहरूले आफ्नो प्राथमिकता मिति जस्ता लाभहरू गुमाउनेछन्।








