अमेरिकाको भिजिटर लगायतका भिसाका लागि थप २५० डलर शुल्क लागु गर्न छलफल जारी
प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार
ट्रम्प प्रशासनले अक्टोबर १ देखि लागु गर्ने तयारी गरेको अमेरिकाको भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि २५० डलर धरौटी राख्नुपर्ने नियम कार्यान्वयनमा ढिलाई भएको छ । यो शुल्क लागु गर्नका लागि ट्रम्प प्रशासनले अक्टोबर १ को मिति ब्यापक रुपमा प्रचार गरेको थियो । तर त्यसको झण्डै डेढ महिना हुन लाग्दा पनि यो शुल्क लागु हुन सकेको छैन । यो शुल्कलाई ओभरस्टे कम गर्ने र सीमा सुरक्षालाई सुदृढ पार्ने प्रमुख उपायको रूपमा घोषणा गरिएको थियो।
राष्ट्रपति ट्रम्पले जुलाईमा हस्ताक्षर गरेको विवादास्पद बिल अन्तर्गत लागू गरिने यो शुल्क पर्यटक, विद्यार्थी, र अस्थायी कामदार भिसाका लागि अतिरिक्त शुल्क हो । जुन भिसाको पालना गरेको खण्डमा रिफण्ड हुने प्रावाधन छ । विदेश मन्त्रालय र होमल्याण्ड सेक्युरिटीबीचको अन्तर एजेन्सी समन्वयले गर्दा शुल्क लागु हुने मितिमा ढिलाइ भएको छ, जसले गर्दा हाललाई १८५ डलर मानक मेसिन रिडेबल भिसा शुल्क यथावत रहेको छ। परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले खसोखासलाई यसको पुष्टी गरेका छन् ।
यो शुल्क सङ्कलन, ट्र्याकिङ लगायतका कार्यान्वयनका व्यावहारिक पक्षहरूबारे चलिरहेको छलफलका कारण कार्यान्वयनमा ढिलाई भइरहेको छ । विदेश मन्त्रालय र होमल्याण्ड सेक्युरिटीले कार्यान्वयनको बारेमा छलफल गरिरहेका प्रवक्ताले जानकारी दिएका छन् । अध्यागमन प्रवर्तनलाई बलियो बनाउने, भिसा ओभरस्टेलाई निरुत्साहित गर्ने, र सीमा सुरक्षालाई रकम उपलब्ध गराउने प्राथमिकताहरूलाई समर्थन गर्न बिल अन्तर्गत संसदले भिसा इमान्दारी शुल्कलाई लागू गरेको र होमल्याण्ड सेक्युरिटीलाई त्यसको सङ्कलन गर्ने जिम्मेवारी दिएको प्रवक्ताले उल्लेख गरेका छन् ।
फेडरल रजिस्टर सूचनामा पनि क्रस एजेन्सी समन्वयको आवश्यकतालाई औंल्याइएको थियो । तर त्यसपछि कुनै नियमन घोषणा गरिएको छैन। यात्रुहरूलाई आधिकारिक वेवसाइटमा निगरानी गर्न सल्लाह दिइएको छ। सबै अपडेटहरु परराष्ट्र मन्त्रालयको भिसा शुल्क पृष्ठमा देखा पर्नेछन्, जहाँ वर्तमान तालिकामा कुनै परिवर्तन गरिएको छैन।
भिसा छूट कार्यक्रम अन्तरगत विश्वका ४२ देशका नागरिकहरुले ९० दिनसम्म अमेरिकाको भ्रमण गर्दा यो शुल्क तिर्नु नपरेपनि नेपाल लगायत बाँकी अन्य देशका नागरिकले भने यो शुल्क तिर्नुपर्नेछ । यो शुल्क १८५ डलर भिसा आवेदन शुल्कका अतिरिक्त हो । अर्थात् भिसा लागेको खण्डमा आवेदकले १८५ डलरका अतिरिक्त २५० डलर तिर्नुपर्नेछ ।
यो शुल्क गैर आप्रवासी भिसा आवश्यक पर्ने सबै आगन्तुकहरूलाई लागू हुने र मिनाहा गर्न नसकिने जनाइएको छ । तर भिसाको नियम उल्लंघन नगर्ने यात्रुहरूले भिसा समाप्त भएपछि भने यो शुल्क फिर्ता पाउन सक्ने जनाइएको छ । सुरुमा यो शुल्क २५० डलर भएपनि होमल्यान्ड सेक्युरिटी सेक्रेटरीले यो शुल्क बढाउन स्वतन्त्र छन्। हरेक बर्ष यो शुल्क मुद्रास्फीतिका आधारमा समायोजन गरिनेछ। अर्थात् हरेक बर्ष यो शुल्क बढ्दै जाने सम्भावना रहेको छ ।
यो शुल्क गैर आप्रवासी भिसा आवश्यक पर्ने सबै आगन्तुकहरूलाई लागू हुनेछ जसमा पर्यटक र अन्तर्राष्ट्रिय विद्यार्थीहरू लगायत समावेश छन्। भिसा जारी हुँदा नै यो शुल्क तिर्नुपर्नेछ । भिसा आवेदन अस्वीकृत भएकाहरूलाई भने यो शुल्क लाग्ने छैन। आफ्नो पैसा फिर्ता पाउन भिसा वाहकहरूले भिसाका सर्तहरू पालना गर्नुपर्छ, जसमा अनधिकृत रोजगारी स्वीकार नगर्ने र भिसाको वैधता म्यादका अतिरिक्त ५ दिनभन्दा बढी अमेरिकामा नबिताउने समावेश छ।








