अमेरिकामा आइसको हिरासतमा रहेका आप्रवासीहरूको संख्या ६६ हजार पुग्यो, नयाँ रेकर्ड कायम


प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार

अमेरिकी आप्रवासन तथा कस्टम्स प्रवर्तन (आइस)को हिरासतमा रहेका आप्रवासीहरूको सङ्ख्या ६६ हजार पुगेको छ । यो सङ्ख्याले नयाँ रेकर्ड समेत कायम गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा कागजातविहीन आप्रवासनविरुद्ध आफ्नो अभियानलाई अझ तीव्र बनाएसँगै यो सङ्ख्या तीव्र गतिमा बढ्दै गएको अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आन्तरिक तथ्याङ्कले देखाएको छ।

अघिल्ला कुनै पनि समयमा आइसले यति धेरै निर्वासन प्रक्रियामा रहेका आप्रवासीहरूलाई एकै पटक हिरासतमा राखेको थिएन। ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्दा यस वर्षको सुरुवातमा मात्र ३९ हजार आइसको हिरासतमा थिए। यसअघि सन् २०१९ मा ट्रम्पकै पहिलो कार्यकालमा यो सङ्ख्या ५६ हजार पुगेको थियो।

हालको विस्तारपछि आइससँग अहिले एकै पटक ७० हजार जनासम्मलाई राख्न सक्ने क्षमता पुगेको छ। ट्रम्प प्रशासनले “वन बिग ब्यूटिफुल बिल एक्ट” अन्तर्गत हिरासत विस्तारका लागि मात्रै ४५ अर्ब अमेरिकी डलर विनियोजन गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैर लाभकारी नीति संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता मुजफ्फर चिश्तीका अनुसार हिरासतको यो तीव्र विस्तार सप्लाई र डिमान्डको परिणाम हो। उनका अनुसार ट्रम्प प्रशासनले आइस र बोर्डर पेट्रोललाई कुनै पनि अवैध आप्रवासीलाई (चाहे उनी अपराधी हुन् वा नहुन्) गिरफ्तार गर्ने व्यापक अधिकार दिएको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार हाल हिरासतमा रहेका करिब आधा अर्थात् ३३ हजार जना आप्रवासीहरूसँग कुनै आपराधिक अभियोग छैन । उनीहरू केवल नागरिक आप्रवासन उल्लङ्घनका कारण पक्राउ परेका हुन्। बाँकी आधा भने अपराध आरोप वा दोष सिद्धिका कारण बन्दी बनाइएका छन्।

आइसका हिरासतमा रहेका आप्रवासीहरूको सङ्ख्यामा निरन्तर उतारचढाव भइरहन्छ । यद्यपि, ट्रम्प प्रशासनपछि रिहा हुने दर उल्लेखनीय रूपमा घटेको छ। अहिले गैर कानुनी रूपमा अमेरिकामा प्रवेश गरेका जोसुकै पनि जमानतका लागि अयोग्य ठहरिएका छन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनका अनुसार ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि आइसद्वारा गिरफ्तार गरिएका ७० प्रतिशत आप्रवासीहरू आपराधिक अभियोग वा दोष सिद्धिमा परेका छन्। उनले थपिन्, “यो आँकडामा आफ्नै देशमा वा अन्य देशमा हिंसात्मक अपराधमा संलग्न, ग्याङ सदस्य, मानवअधिकार उल्लङ्घनकर्ता र आतङ्कवादीहरू समेत समावेश छैनन्।”

हालसम्म ट्रम्पको दोस्रो कार्यकालमा आइसले करिब २ लाख ७८ हजार आप्रवासन गिरफ्तारी गरेको छ, जुन दैनिक औसत ९६५ जना हुन्छ। यदि सीबीपीका गिरफ्तारी समेत जोडिएको खण्डमा यो सङ्ख्या ५ लाख २० हजार भन्दा बढी हुन्छ ।

आइसद्वारा गरिएको कुल निर्वासन ३ लाख ८० हजार पुगेको छ, र सीबीपी तथा डिएचएसद्वारा गरिएको प्रत्यावर्तन जोड्दा यो सङ्ख्या ५७०,००० नाघेको छ।

यसैबीच, हिरासतका अवस्थाबारे चिन्ता बढ्दै गएको छ। शिकागोस्थित संघीय अदालतले इलिनोयको ब्रडभ्युमा रहेको आइस प्रोसेसिङ केन्द्रमा बन्दीहरूको स्वास्थ्य र सरसफाइ अवस्थामाथि गम्भीर प्रश्न उठाउँदै सुधारका आदेश दिएको छ। अदालतले बन्दीहरूलाई सफा ओछ्यान, पर्याप्त खाना, स्नान र सम्पर्क सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएको छ।

तर, डिएचएसका अधिकारीहरूले यी आरोपहरू अस्वीकार गर्दै भनेका छन्, “अपराधी अवैध आप्रवासी र सार्वजनिक सुरक्षामा खतरा उत्पन्न गर्नेहरूलाई गिरफ्तार र निष्कासन गर्ने क्रममा आइसले भिडभाड नहोस् भनेर आवश्यक तयारीका साथ हिरासत क्षमता विस्तार गरिरहेको छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com