आवाज र डीएनए सहित सबै उमेरका व्यक्तिको बायोमेट्रिक्स संकलन गर्न नयाँ अध्यागमन नियम प्रस्ताव


प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अध्यागमन प्रणालीमा बायोमेट्रिक्स संकलनलाई बढावा दिन नयाँ नियम प्रस्ताव गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित प्रस्तावित नियमअन्तर्गत सरकारले अध्यागमन प्रक्रियामा मानिसहरूको पहिचान ट्र्याक गर्नका लागि बायोमेट्रिक पहिचान प्रणाली स्थापना गर्ने तयारी गरेको हो ।

यस नयाँ नियमले होमल्याण्ड सेक्युरिटी ले बायोमेट्रिक्स लिन सक्ने व्यक्तिहरूको दायरा फराकिलो पार्नेछ, जसमा अमेरिकी नागरिक र बालबालिकाहरू पनि पर्नेछन्। साथै यसले संकलन गर्न सकिने बायोमेट्रिक्सका प्रकारहरू पनि विस्तार गर्नेछ।

प्रस्तावित नियमले पहिलेको उमेर प्रतिबन्ध हटाउँदै १४ वर्षमुनिका बालबालिकाहरूबाट पनि बायोमेट्रिक डेटा संकलन गर्ने अनुमति दिनेछ। यो विस्तार इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइस र कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन सीबीपीमा पनि लागू हुनेछ, जसले नाबालिगहरूबाट समेत बायोमेट्रिक्स संकलन गर्न सक्नेछन्।

होमल्याण्ड सेक्युरिटीले बायोमेट्रिक्सको परिभाषा पनि फराकिलो पार्ने प्रस्ताव गरेको छ। यसले आइस र सीबीपीलाई अनुहारको तस्बिर, औँला र हत्केलाको छाप, हस्ताक्षर, आँखा स्क्यान, आवाज र डीएनए प्राप्त गर्न अनुमति दिनेछ। यी परिवर्तनहरूले यसको परिचय प्रमाणिकरण प्रयासहरूलाई सुधार गर्ने होमल्याण्ड सेक्युरिटीको अपेक्षा छ । जसले गर्दा ठगी पत्ता लगाउन र राष्ट्रिय सुरक्षालाई बढावा दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसको मुख्य लक्ष्य निरन्तर निगरानी प्रणाली स्थापना गर्नु हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन अधिकारकर्मीहरुले यस प्रस्तावको आलोचना गरेका छन् । यसले आधारभूत अमेरिकी मूल्यमान्यताको विपरीत निगरानी गर्न राज्यलाई सक्षम बनाउन सक्ने उनीहरुले बताएका छन्। यसअघि ट्रम्प प्रशासनमा आएको यस्तै प्रस्तावलाई बाइडेन प्रशासनले फिर्ता लिएको थियो।

होमल्याड सेक्युरिटीले यो नियम लागू भएमा वार्षिक रूपमा ११ लाख थप बायोमेट्रिक विवरणहरू संकलन गरिने अनुमान गरेको छ। यो प्रस्तावमाथि जनवरी २ सम्म टिप्पणीहरू स्वीकार गरिनेछ । त्यसपछिमात्र अन्तिम नियम प्रकाशित हुनसक्नेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com