अमेरिकामा पी-थ्री भिसामा आउने कलाकारले ‘थर्डपार्टी भुक्तानी’ लिएमा भिसाको उल्लङ्घन


प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार

पछिल्ला केही वर्षहरूमा अमेरिकामा पी-थ्री भिसामा विभिन्न कार्यक्रमहरू गर्न आउने नेपाली कलाकारहरूको सङ्ख्या बढेसँगै, प्रस्तुति दिन आउने कलाकारहरूले यो भिसाका नियमहरू पालना गरेका छन् वा छैनन् भन्नेबारे पनि चर्चा हुने गरेको छ। पी-थ्री भिसामा आउने कलाकारहरूले त्यस्ता भिसाका नियमहरू पालना नगरेको खण्डमा समस्यामा पर्नसक्ने चेतावनी कानुन व्यवसायीहरूले दिएका छन्।

अनधिकृत भुक्तानी र भिसा उल्लङ्घन

पी-थ्री भिसा रोजगारदाता-विशिष्ट भिसा भएकाले, यो भिसा भएका व्यक्तिले अनधिकृत संस्था वा व्यक्तिबाट भुक्तानी प्राप्त गरेमा त्यसलाई भिसाको उल्लङ्घन मानिने न्युयोर्कमा झन्डै ३ दशकदेखि अध्यागमन कानुन व्यवसायमा सक्रिय कानुन व्यवसायी केशवराज सेडाईले चेतावनी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेडाईले सचेत गराएअनुसार, पी-थ्री भिसामा भएको व्यक्तिले सुरुमा आवेदन दिएको मूल रोजगारदाता, प्रायोजक संस्था वा एजेन्टबाहेक अन्य संस्थाबाट भुक्तानी प्राप्त गर्नका लागि उक्त संस्थाका तर्फबाट युएससीआईएसमा नयाँ फारम आई-१२९ निवेदन दायर गर्नुपर्छ। उक्त निवेदन स्वीकृत भइसकेपछि मात्र उक्त संस्थाबाट भुक्तानी लिन सकिन्छ।

कानुन व्यवसायी केशव सेडाई । फोटो: राजन काफ्ले

पी-थ्री भिसामा आउने नेपाली कलाकारहरूले घरका व्यक्तिगत पार्टी र रेस्टुरेन्टमा भएका व्यक्तिगत पार्टीहरूमा गीत गाइरहेका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा आइरहेका बेला कानुन व्यवसायी सेडाईले थप चेतावनी दिँदै भनेका छन्, “अनधिकृत संस्था वा व्यक्तिबाट भुक्तानी प्राप्त गर्न नहुनेमात्र नभई घरको पार्टी वा रेस्टुरेन्टमा गएर पनि गीत गाउनु वा प्रस्तुति दिनु हुँदैन। त्यसरी गरिएका प्रस्तुतिको पैसा लिएर सामाजिक सञ्जालमा पोस्ट गर्दा भिसाको उल्लङ्घन हुन्छ। पी-थ्री आवेदनमा भएको तालिकाभन्दा बाहिर गएर कार्यक्रम गर्नु हुँदैन।”

युएससीआईएसको प्रावधान र नियमहरू

युएससीआईएसका अनुसार, पी-थ्री भिसावाहकलाई स्वीकृत निवेदनका सर्तहरूअन्तर्गत मात्र काम गर्न अनुमति दिइन्छ, जसले गर्दा उनीहरू निवेदन दिने रोजगारदाता, प्रायोजक संस्था वा एजेन्टसँग बाँधिएका हुन्छन्। यसको अर्थ उनीहरूले युएससीआईएसको थप स्वीकृतिबिना कुनै फरक रोजगारदाता वा एजेन्टको लागि स्वतन्त्र रूपमा काम गर्न सक्दैनन्।

यद्यपि, अपवादका रूपमा यदि मूल आवेदन भिसावाहकलाई र धेरै रोजगारदाताहरूलाई प्रतिनिधित्व गर्न अधिकार प्राप्त एक अमेरिकी एजेन्टद्वारा दायर गरिएको भएमा भने भिसावाहकले ती फरक-फरक वास्तविक रोजगारदाताहरूका लागि काम गर्न सक्छन्। तर यसका लागि मूल एजेन्टबाट अनुमोदित यात्रा कार्यक्रममा संलग्नताहरू आवेदन दिँदाको मूल तालिकामा समावेश गरिएको हुनुपर्छ र त्यहीअनुसार एजेन्टले दिएका स्वीकृति र सम्झौताहरूका प्रमाणहरू हुनुपर्छ।

युएससीआईएसका अनुसार, मूल निवेदनमा समावेश नभएको बिल्कुलै नयाँ रोजगारदाता वा एजेन्टमा स्विच गर्नका लागि नयाँ रोजगारदाता वा एजेन्टले युएससीआईएसमा नयाँ फारम आई-१२९ निवेदन दायर गर्नुपर्ने प्रावधान छ। भिसावाहकले त्यो निवेदन स्वीकृत नभएसम्म उनीहरूका लागि काम सुरु गर्न सक्दैनन्। यदि भिसावाहक विदेशमा छन् भने, निवेदन स्वीकृत भएपछि उनीहरूले अमेरिकी दूतावासमा नयाँ भिसाका लागि पनि आवेदन दिनुपर्ने हुन सक्छ।

पी-श्रेणी भिसा प्राप्त गर्ने नेपालीको तथ्याङ्क

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोका अनुसार आर्थिक वर्ष २०२४ मा ६७ नेपालीले अमेरिकामा प्रस्तुति दिनका लागि पी-श्रेणीको भिसा प्राप्त गरेका थिए, जुन अघिल्ला वर्षहरूको तुलनामा निकै बढी हो। आर्थिक वर्ष २०२३ मा १३ नेपालीले मात्र पी-श्रेणीको भिसा पाएका थिए, जबकि २०२२ मा यो सङ्ख्या ७ थियो। सन् २०२१ मा कुनै पनि नेपालीलाई पी-श्रेणीको भिसा जारी गरिएको थिएन। सन् २०२० मा केवल एक जनालाई मात्र यो भिसा दिइएको थियो, जसको मुख्य कारण कोभिड-१९ महामारी थियो, जसले ती वर्षहरूमा नेपाली कलाकारहरूको अमेरिकामा हुने कार्यक्रमहरू रोकिएको थियो।

अमेरिकामा प्रस्तुति दिदै नेपाली कलाकारहरु ।

सन् २०१९ मा १४ नेपालीले, २०१८ मा शून्य, २०१७ मा ४२, र २०१६ मा ३२ नेपालीले पी-श्रेणीको भिसा प्राप्त गरेका थिए। त्यसअघिका वर्षहरूमा २०१५ मा ३२, २०१४ मा १७, २०१३ मा ६, र २०१२ मा १६, र २०११ मा २१ भिसा जारी भएका थिए। चालू आर्थिक वर्षको पहिलो आठ महिनामा १४ नेपालीले पी-श्रेणीको भिसा पाएका थिए, जसमा सबैभन्दा बढी ८ जनाले डिसेम्बरमा पी-थ्री भिसा पाएका थिए। यी तथ्याङ्कहरूमा जुनपछिको डाटा समावेश गरिएको छैन।

पी-श्रेणी भिसाका विभिन्न वर्गीकरण

युएससीआईएसका अनुसार, पी-श्रेणीको भिसालाई धेरै वर्गीकरणमा विभाजन गरिएको छ । पी-१ए श्रेणी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त स्तरमा व्यक्तिगत खेलाडी वा समूह/टिमको रूपमा विशिष्ट एथलेटिक प्रतियोगितामा अस्थायी रूपमा प्रदर्शन गर्न आउने व्यक्तिहरू, पेशेवर खेलाडीहरू, वा अमेरिकी टिम/विदेशी लिगका खेलाडी र कोचका लागि हो। यसले विशिष्ट नाटकीय आइस स्केटिङ उत्पादन वा टूरमा प्रदर्शन गर्ने पेशेवर वा एमेच्योर खेलाडीहरूलाई पनि समेट्छ।

पी-१बी श्रेणी कम्तीमा एक वर्षदेखि स्थापित र दिगो अवधिको लागि अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट रूपमा मान्यता प्राप्त मनोरञ्जन समूहका सदस्यहरूका लागि हो। पी-२ श्रेणी अमेरिकी संस्था र अर्को देशको संस्थाबीचको पारस्परिक आदानप्रदान कार्यक्रमअन्तर्गत प्रदर्शन गर्ने कलाकार वा मनोरञ्जनकर्मीहरूका लागि लागू हुन्छ।

पी-३ श्रेणी नेपाली कलाकारहरूको लागि सान्दर्भिक छ । यो सांस्कृतिक रूपमा अद्वितीय कार्यक्रमअन्तर्गत व्यक्तिगत रूपमा वा समूहको रूपमा अस्थायी रूपमा प्रदर्शन गर्न, सिकाउन, वा कोचिङ गर्न आउने कलाकार वा मनोरञ्जनकर्मीहरूका लागि लागू हुन्छ। पी-थ्री भिसा विशेष गरी अमेरिकामा भुक्तानीसहितको प्रस्तुति दिन चाहने पेशेवर कलाकारहरूका लागि आवश्यक हुन्छ, जसको वैधता अवधि बढीमा एक वर्षसम्मको हुन्छ र एक वर्षको विस्तारको सम्भावना रहन्छ।

भिजिटर भिसा र सीबीपीको अधिकार

भिजिटर भिसामा अमेरिकामा आएर कलाकारहरूले प्रस्तुति दिन पाउँदैनन्। यद्यपि, बी-१/बी-२ भिसाले सीमित अपारिश्रमिक प्रस्तुतिहरूका लागि भने अनुमति दिन सक्छ, तर यसले कलाकारहरूलाई पारिश्रमिकका लागि प्रस्तुति दिन अनुमति दिँदैन। यसअघि प्रसिद्ध नेपाली कलाकारहरूलाई साङ्गीतिक कार्यक्रममा प्रदर्शन गर्ने उद्देश्यले भिजिटर भिसामा अमेरिका प्रवेश गर्न खोज्दा विमानस्थलबाटै प्रवेश अस्वीकार गरी फिर्ता पठाइएका घटनाहरू पनि भएका छन्।

अमेरिकाको सीबीपीलाई भिजिटर भिसा भएका कलाकारहरूको प्रवेश अस्वीकार गर्ने अधिकार हुन्छ। उनीहरूले भुक्तानीसहितको प्रस्तुतिको योजना बनाएको शङ्का लागेमा, भिसा आवेदन, कलाकारको सामाजिक सञ्जाल गतिविधि, र उनीहरूको पृष्ठभूमि जस्ता कारकहरूलाई ध्यानमा राखेर विमानस्थलबाट फर्काउन सक्छ। पी-थ्री भिसा जस्ता वैध भिसा बिना प्रस्तुति दिँदा गम्भीर परिणामहरू निम्त्याउन सक्छ, जसमा आगन्तुक भिसा रद्द हुने, भविष्यमा भिसा पाउन कठिनाई हुने र चरम अवस्थामा जरिवाना वा हिरासतमा लिन सकिने समेत हुन्छ।

करको पालना

न्युयोर्कस्थित सीपीए बिराज रिजालका अनुसार, पी-थ्री भिसाअन्तर्गत अमेरिकामा प्रदर्शन गर्ने कलाकारहरूले भिसा नियमहरूको पालना गर्न आफ्नो आम्दानीमा कर तिर्नुपर्छ। यद्यपि, यदि कलाकारहरू अमेरिकामा छ महिनाभन्दा कम बस्छन् र ३,००० डलर सम्म कमाउँछन् भने उनीहरूले कर प्रयोजनका लागि आम्दानीको विवरण दिनु पर्दैन। सामान्यतया कार्यक्रम आयोजकहरूले फारम १०४२-एस अन्तर्गत कलाकारको भुक्तानीको ३० प्रतिशत कर रोक्का गर्छन्, र कलाकारहरूले बढी रोक्का गरिएको कर फिर्ता दाबी गर्न फारम १०४०-एनआर फाइल गर्न सक्छन्।

पी-थ्री भिसावाहकहरूले सामाजिक सुरक्षा नम्बरको लागि आवेदन दिन योग्य हुन्छन्। तर यदि उनीहरूसँग त्यो छैन भने, कर फाइल गर्नका लागि उनीहरूले करदाता पहिचान नम्बर प्राप्त गर्नुपर्छ। छ महिनाभन्दा बढी बस्नेहरूका लागि ३,००० डलर भन्दा कम आम्दानी भए पनि त्यसको विवरण दिनुपर्छ र कर फाइल गर्न १०४०-एनआर को सट्टा नियमित फारम १०४०  प्रयोग गर्नुपर्छ। पी-थ्री भिसा धारकहरूले १०९९ आम्दानी गर्छन् र नेपाल फर्किएपछि पनि अनलाइन कर फाइल गर्न सक्ने रिजालले जानकारी दिए।

सीपीए विराज रिजाल

कर तिर्न असफल हुँदा भिसा नियमहरूको उल्लङ्घन हुन सक्छ, जसले गर्दा भविष्यमा अमेरिका भ्रमणमा जटिलताहरू आउन सक्छ। आईआरएसले अमेरिकामा प्रदर्शन गर्ने कलाकारहरूले अमेरिकी आयकर तिर्नुपर्ने र त्यस्तो आम्दानीको विवरण दिन सङ्घीय आयकर रिटर्न फाइल गर्नुपर्ने प्रष्ट पारेको छ।

पी थ्री भिसाको सर्त उल्लङ्घन गर्दा हुने गम्भीर परिणामहरू

अनधिकृत रोजगारदाता वा एजेन्टका लागि प्रस्तुति दिने, स्वीकृत अवधिसम्म भन्दा बढी समय बस्ने, अनधिकृत रोजगारमा संलग्न हुने जस्ता पी थ्री भिसाका सर्तहरू उल्लङ्घन गर्दा अध्यागमनका धेरै गम्भीर परिणामहरू निम्त्याउनसक्ने युएससीआईएसको भनाई छ । युएससीआईएसका अनुशार यी परिणामहरू अमेरिकी अध्यागमन कानुनद्वारा नियन्त्रित हुन्छन् र अन्य गैरआप्रवासी भिसाहरूमा जस्तै गरी लागू हुन्छन्।

युएससीआईएसका अनुशार पी थ्री भिसा सर्तहरू उल्लङ्घनगर्ने बित्तिकै तपाईंले आफ्नो कानुनी गैर आप्रवासी हैसियत गुमाउनुहुन्छ। यसले अमेरिकामा अवैध उपस्थितिको गणना सुरु गराउँछ, जुन तपाईंको स्वीकृत बसाइको अवधि समाप्त भएको वा उल्लङ्घन भएको दिनबाट सुरु हुन्छ। एक दिनको छोटो उल्लङ्घनले पनि दीर्घकालीन असर पार्न सक्छ, किनकि दण्डहरू सुरु हुनका लागि न्यूनतम समय तोकिएको छैन।

यदि तपाईंले अवैध उपस्थिति सुरु भएपछि अमेरिका छाड्नुभयो भने तपाईंलाई पुन प्रवेशमा प्रतिबन्ध लाग्न सक्छ । १८० दिनदेखि १ वर्षभन्दा कम अवैध उपस्थितिमा अमेरिकामा पुन प्रवेश गर्न ३ वर्षको प्रतिबन्ध लाग्ने र १ वर्ष वा सोभन्दा बढी अवैध उपस्थिति भएमा अमेरिकामा पुन प्रवेश गर्न १० वर्षको प्रतिबन्ध लाग्ने प्रावधान रहेको छ । यी प्रतिबन्धहरू अमेरिका छाडेर नयाँ भिसामा फर्कन खोज्दा पनि लागू हुन्छन्।

नेपाली पासपोर्ट । एआईको सहयोगबाट निर्मित तस्वीर

युएससीआइएसका अनुशार यदि तपाईंले कानुनी हैसियत कायम राख्न असफल हुनुभयो वा भिसा सर्तहरू उल्लङ्घन गर्नुभयो भने तपाईं पछि स्थायी बासिन्दाको हैसियतमा ग्रिनकार्ड पाउन समेत अयोग्य बन्नुहुन्छ। केही अपवादहरूमा मात्र यो नियम लागू हुँदैन । जस्तै अमेरिकी नागरिकको तत्काल नातेदार भएमा वा केही रोजगार आधारित प्रावधानहरूअन्तर्गत योग्य भएमा छुट पाउन सकिन्छ ।

यदि उल्लङ्घनमा धोकाधडी वा जानाजानी गलत प्रस्तुति समावेश छ भने थप अयोग्य हुने आधारहरू लागू हुन सक्छन्, जसले छूट नभएसम्म आजीवन प्रतिबन्ध लगाउन सक्छ। अमेरिकाभित्रै रहेको अवस्थामा आइसले तपाईंलाई देशबाट निष्कासन गर्ने प्रक्रिया सुरु गर्न सक्छ, जसले गर्दा देश निकाला गर्ने आदेश जारी हुन सक्छ। निष्कासन आदेशलाई बेवास्ता गर्दा जरिवाना र जेल सजाय हुन सक्ने प्रावधान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com