न्युयोर्कमा ८ महिनादेखि ‘दाबी नगरिएको’ नेपालीको शव दाहसंस्कारका लागि ‘गोफण्डमी’


प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार

न्युयोर्कमा करिब आठ महिनादेखि दाबी नगरिएको अवस्थामा भेटिएका एक नेपालीको शव दाहसंस्कारका लागि गोफण्डमी अभियान सुरु गरिएको छ। विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शवको अन्तिम संस्कारका लागि एनआरएनए न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज, अमेरिका र झापाली समाज, अमेरिकाले संयुक्त रूपमा गोफण्डमी सुरु गरेका हुन्।

पारिवारिक सदस्यहरू – श्रीमती कविता राई ठकुरी, दाजुहरू निर्मल ठकुरी र मानबहादुर ठकुरीले स्वर्गीय धनबहादुर ठकुरीको अन्तिम दाहसंस्कारका लागि आफ्नो पारिवारिक आर्थिक अवस्था नाजुक भएकाले आर्थिक सहयोगको लागि अनुरोध गरेपछि यो गोफण्डमी अभियान सुरु गरिएको हो। २० हजार डलरको लक्ष्य राखिएको यस अभियानमा सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

प्रमुख चिकित्सा परीक्षकको कार्यालयबाट न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासलाई प्राप्त विवरणअनुसार, मृतक ठकुरीलाई न्युयोर्कको एक रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले आपत्कालीन नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेपछि गत फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाइएको थियो। त्यतिबेलासम्म उनको पहिचान अज्ञात नै थियो।

शव पहिचानका लागि कुनै प्रमाण नभेटिएकाले चिकित्सा परीक्षकको कार्यालयले सङ्घीय कार्यालयलगायत अन्य सरोकारवालासँग समन्वय गरेको जानकारी महावाणिज्यदूतावासलाई दिएको थियो। मृतक नेपाली नागरिक भएको सूचना सोसल सेक्युरिटी कार्यालयबाट प्राप्त भएपछि नजिकको हकदार पत्ता लगाई खबर गरिदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयले गत सोमबार नेपाली महावाणिज्यदूतावासमा इमेल पठाएको थियो। उक्त इमेलमा नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास असफल भएको उल्लेख गर्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गरिएको थियो।

प्राप्त इमेलमा मृतकको नाम, जन्म मिति र सोसल सेक्युरिटी नम्बर मात्र उल्लेख थियो। सोही विवरणका आधारमा मृतकको पूरा विवरण, नेपालको ठेगाना र नजिकको हकदारको नाम यकिन गर्न कठिनाइ भएपछि महावाणिज्यदूतावासले थप कागजात उपलब्ध गराइदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयमा सम्पर्क गर्दा मङ्गलबार ग्रीनकार्डको प्रतिलिपि प्राप्त भयो। त्यही कागजातको आधारमा राहदानी विभागको अभिलेखबाट लिएको मृतकको विवरणसँग ग्रीनकार्ड र अन्य विवरण मिलेपछि मृतकको ठेगाना तथा अन्य विवरणहरू यकिन गरियो।

ठकुरीको शव हाल न्युयोर्कको क्वीन्समा रहेको चिकित्सा परीक्षकको कार्यालयमा राखिएको छ। नोभेम्बर १७ भित्र शवको सदगतका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ। यस सम्बन्धमा कन्सुलर सेवा विभागमार्फत मृतकको परिवारलाई जानकारी उपलब्ध गराइसकिएको र परिवारबाट आधिकारिक अनुरोध प्राप्त भएपछि मात्र मृतकको सदगतको प्रक्रिया अगाडि बढ्ने जानकारी चिकित्सा परीक्षकको कार्यालयलाई गराइएको महावाणिज्यदूतावासले बताएको छ।

गत मङ्गलबार अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ अनुसार धनबहादुर ठकुरीको मृत शरीर दाबी नगरिएको अवस्थामा भेटिएको समाचार खसोखासले प्रकाशित गरेको थियो। उक्त प्रणालीमा हालसम्म उनको शव दाबी नगरिएको अवस्थामा राखिएको छ। धनबहादुर न्युयोर्कमा ‘प्रशान्त ठकुरी’ का नामबाट समेत चिनिँदै आएका थिए।

ठकुरी डिभी लोटरीमार्फत सन् २०१४ मा अमेरिका आएका थिए। उनलाई चिन्नेहरूका अनुसार विगतमा पोलियोका कारण अपाङ्गता भएका उनी पछिल्लो समयमा थप बिरामी पनि थिए। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

परिवारको पहिचान गर्न र त्यसबारे महावाणिज्यदूतावासमा सम्पर्क गर्न लामो समय लाग्नुको कारणबारे खसोखासले सम्पर्क गर्दा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले केही बताउन चाहेन। साथै मृत्युको कारणबारे पनि अहिलेसम्म कुनै कुरा पुष्टि नभएको र यसबारे अनुसन्धान भइरहेको चिकित्सा परीक्षकको कार्यालयले खसोखासलाई बताएको छ। मृत्युको कारणबारे थप जानकारी आफूहरूसँग नरहेको कार्यालयको भनाइ छ।

नेपालमा रहेको परिवारले हालै मृत्युको घटनाबारे जानकारी पाए पनि मृत्युको कारणबारे विस्तृत जानकारी आफूहरूलाई नदिइएको बताएका छन्। मृतक ठकुरीका दाजु राजु ठकुरीका अनुसार धनबहादुर ठकुरी केही समयदेखि क्षयरोगबाट समेत पीडित रहेका थिए। उनले केही समयअगाडि नेपाल गएर १८ वर्षदेखि सम्बन्धमा रहेकी महिलासँग औपचारिक रूपमा विवाह गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com