न्युयोर्कको ट्रेन स्टेसनमा भेटिएको थियो ८ महिनादेखि दावी नगरिएको नेपालीको शव, मृत्युको कारण अझै अज्ञात
प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार
न्युयोर्क सिटीमा विगत आठ महिनादेखि दाबी नगरिएको अवस्थामा फेला परेका धनबहादुर ठकुरीको शवबारे न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले थप विवरणहरू सार्वजनिक गरेको छ। मृतक ठकुरीलाई न्युयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले इमरजेन्सी नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल लगिएको विवरण प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ । अस्पतालले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाएको जानकारी चिकित्सा परीक्षकको कार्यालयबाट प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ । त्यतीबेलासम्म उनको पहिचान अज्ञात नै थियो ।
शव पहिचानका लागि कुनै प्रमाण नभेटिएकाले संघीय कार्यालयलगायत अन्य सरोकारवालासँग समन्वय गरिएको जानकारी चिकित्सा परीक्षकको कार्यालयले दिएको महावाणिज्यदूतावासले जनाएको छ। मृतक नेपाली नागरिक भएको सूचना सोसल सेक्युरिटी कार्यालयबाट प्राप्त भएपछि नजिकको हकदार पत्ता लगाई खबर गरिदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयबाट गत सोमबार नेपाली महावाणिज्यदूतावासमा इमेल प्राप्त भएको थियो। उक्त इमेलमा नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास गरेको तर असफल भएको भन्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गरिएको थियो।
प्राप्त इमेलमा मृतकको नाम, जन्म मिति तथा सोसल सेक्युरिटी नम्बरमात्र उल्लेख भएकोमा उक्त विवरणका आधारमा मृतकको पूरा विवरण, नेपालको ठेगाना र नजिकको हकदारको नाम यकिन गर्न कठिनाइ भएपछि महावाणिज्यदूतावासले थप कागजात उपलब्ध गराइदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयमा पटकपटक टेलिफोन सम्पर्क गर्ने प्रयास गरेको थियो। सो सफल नभएपछि इमेलबाट सम्पर्क गर्दा मंगलबार ग्रिनकार्डको कपी प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ। सोही कागजातका आधारमा राहदानी विभागको अभिलेखबाट लिएको मृतकको विवरणसँग ग्रिनकार्ड र अन्य विवरण मिलेपछि सोहीबमोजिमको विवरण तथा कागजातहरू उल्लिखित पत्रमार्फत पठाइएको महावाणिज्यदूतावासले जनाएको छ।
ठकुरीको शव हाल न्युयोर्कको क्वीन्समा रहेको चिकित्सा परीक्षकको कार्यालयमा राखिएको छ। नोभेम्बर १७ भित्र शवको सदगतका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ। यस सम्बन्धमा कन्सुलर सेवा विभागमार्फत मृतकको परिवारलाई जानकारी उपलब्ध गराइसकिएको र परिवारबाट आधिकारिक अनुरोध प्राप्त भएपछि मात्र मृतकको सदगतको प्रक्रिया अगाडि बढ्ने जानकारी चिकित्सा परीक्षकको कार्यालयलाई गराइएको महावाणिज्यदूतावासले जनाएको छ। यस विषयमा नेपालबाट मृतकका दाजु मन बहादुर ठकुरीसमेत चिकित्सा परीक्षकको कार्यालयसँग सम्पर्कमा आएको जानकारी पनि प्राप्त भएको महावाणिज्यदूतावासको भनाई छ ।थप विवरणहरुबारे महावाणिज्यदूतावासले शुक्रबार कन्सुलर सेवा विभाग काठमाडौंलाई जानकारी दिइसकेको छ ।
मंगलबार अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ अनुसार धनबहादुर ठकुरीको मृत शरीर दाबी नगरिएको अवस्थामा भेटिएको समाचार खसोखासले प्रकाशित गरेको थियो। उक्त प्रणालीमा हालसम्म उनको शव ‘दाबी नगरिएको अवस्था’ मा राखिएको छ।
प्रशान्त ठकुरीका नामबाट समेत चिनिने धनबहादुर केही महिनादेखि बेपत्ता थिए। एनआरएनए न्युयोर्क च्याप्टरका कोषाध्यक्ष गौतम ढकालले उनको खोजी गर्ने क्रममा हराएका व्यक्तिको राष्ट्रिय प्रणालीमा उनको नाम भेटिएको बताए । ढकालले आफूहरू झन्डै चार वर्षअघि केही महिना एउटै अपार्टमेन्टमा बसेको पनि बताए।
परिवारका सदस्यहरू अमेरिकामा नभएका कारण ठकुरीको शव अहिलेसम्म औपचारिक रूपमा दाबी गरिएको छैन। झापाको दमक स्थायी घर भएका ४१ वर्षका ठकुरी डिभी लोटरीमार्फत सन् २०१४ मा अमेरिका आएका थिए। उनलाई चिन्नेहरूका अनुसार विगतमा पोलियोका कारण अपाङ्गता भएका उनी पछिल्लो समयमा थप बिरामी पनि थिए। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
आफूहरूले नेपालमा रहेका आफन्तहरूलाई सम्पर्क गरेर घटनाबारे जानकारी दिएको नेपाली महावाणिज्यदूतावासका उपमहावाणिज्यदूत तथा प्रवक्ता चक्रकुमार सुबेदीले खसोखासलाई जानकारी दिएका छन्। सुबेदीले बताएअनुसार ठकुरीले विगतमा महावाणिज्यदूतावासबाट नेपाली पासपोर्टका लागि दिएको आवेदनमा भएको विवरण जाँच्दा विवरण मिलेपछि र ठेगाना पत्ता लागेपछि नेपालमा रहेका परिवारका सदस्यहरूलाई सम्पर्क गर्न सहज भएको थियो। ठकुरीकी श्रीमती र परिवारका अन्य सदस्यहरूसँग कुराकानी भइसकिएको र मृत्युको सूचना आधिकारिक रूपमा जानकारी गराइएको सुवेदीले जानकारी दिए।
परिवारको पहिचान गर्न र त्यसबारे महावाणिज्यदूतावासमा सम्पर्क गर्न लामो समय लाग्नुको कारणबारे खसोखासले सम्पर्क गर्दा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले केही बताउन चाहेन। साथै मृत्युको कारणबारे पनि अहिलेसम्म कुनै कुरा पुष्टी नभएको र यसबारे अनुसन्धान भइरहेको चिकित्सा परीक्षकको कार्यालयले खसोखासलाई बताएको छ। मृत्युको कारणबारे थप जानकारी आफूहरूसँग नरहेको कार्यालयको भनाइ छ।
नेपालमा रहेको परिवारले हालै मृत्युको घटनाबारे जानकारी पाए पनि मृत्युको कारणबारे विस्तृत जानकारी आफूहरूलाई नदिइएको बताएका छन्। मृतक ठकुरीका दाजु राजु ठकुरीका अनुसार धनबहादुर ठकुरी केही समयदेखि क्षयरोगबाट समेत पीडित रहेका थिए। उनले केही समय अगाडि नेपाल गएर १८ वर्षदेखि सम्बन्धमा रहेकी महिलासँग औपचारिक रूपमा विवाह गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। ‘केही समय पहिले आफूलाई एउटा समूहले लखेटेको र भाग्ने क्रममा घाइते पनि भएको’ धनबहादुरले आफूलाई बताएको उनका दाजुले खसोखासलाई जानकारी दिएका छन्।
‘आफूहरूको कार्यालयलाई पनि यो हृदयविदारक अवस्थाको बारेमा जानकारी गराइएको छ,’ मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले बताएका छन्। उनले भनेका छन्, “विशेष गरी क्षति र एक्लोपनको समयमा हामीलाई हाम्रो समुदायको लागि सम्पर्कमा रहनु र एकअर्कालाई सहयोग गर्नु महत्त्वपूर्ण रहेको छ। जब विदेशमा बस्ने कुनै नेपालीको नजिकै परिवार बिना मृत्यु हुन्छ, यो केवल एक व्यक्तिगत त्रासदी होइन, यो करुणा र एकताको लागि सामूहिक आह्वान हो।”
आफ्नो कार्यालय मृतकलाई शान्ति र परिवारलाई सान्त्वना दिन सम्भव भएसम्म सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताएका छन्। कसैको पनि अन्तिम यात्रा मौनतामा समाप्त नहोस् भनेर समुदायले आफ्नो सञ्जाललाई बलियो बनाउँदै जानुपर्ने उनले बताएका छन्। भण्डारीले विगत लामो समयदेखि अमेरिकामा मृत्यु भएका सयौँ नेपालीको शव व्यवस्थापन र दाहसंस्कारमा सहयोग गर्दै आएका छन्।









