न्युयोर्कमा नेपालीको शव ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला


प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार

फेब्रुअरीमा भेटिएको नेपाली धनबहादुर ठकुरीको शव मे महिनामा मात्र पहिचान भए पनि हालसम्म परिवारको दाबी पर्खाइमा रहेको छ ।

न्युयोर्कमा एक नेपालीको शव विगत ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला परेको छ। अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ का अनुसार धनबहादुर ठकुरीको मृत शरीर फेब्रुअरी ८ मा न्युयोर्कमा भेटिएको हो।

उनको शव न्युयोर्क सिटीको ३५ औँ स्ट्रीटको पार्क एभिन्यु र लेक्जिङ्टन एभिन्युको बीचमा फेला परेको थियो। फेब्रुअरीमा शव भेटिए पनि उनको पहिचान भने मे १७ मा मात्र खुलेको देखिन्छ। हालसम्म उनको शव दाबी नगरिएको अवस्था (अनक्लेम्ड स्टाटस) मा राखिएको छ।

प्रशान्त ठकुरीका नामबाट समेत चिनिने धनबहादुर केही महिनादेखि बेपत्ता थिए। एनआरएनए न्युयोर्क च्याप्टरका कोषाध्यक्ष गौतम ढकालले खसोखासलाई दिएको जानकारी अनुसार उनको खोजी गर्ने क्रममा हराएका व्यक्तिको राष्ट्रिय प्रणालीमा उनको नाम भेटिएको थियो। ढकालले आफूहरू झन्डै चार वर्षअघि केही महिना एउटै अपार्टमेन्टमा बसेको समेत बताए।

धनबहादुर ठकुरीको शव भेटिएको स्थल

परिवारका सदस्यहरू अमेरिकामा नभएका कारण ठकुरीको शव अहिलेसम्म औपचारिक रूपमा दाबी गरिएको छैन। यद्यपि, सरकारी निकायले परिवारका सदस्यहरूलाई उनको मृत्युबारे जानकारी दिइसकेको जनाएको छ। उनकी श्रीमती नेपालमै रहेको र परिवारका सदस्यहरू अमेरिका आउने भिसा प्रक्रियामा रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झापाको दमक स्थायी घर भएका ४१ बर्षका ठकुरी डिभी लोटरीमार्फत सन् २०१४ मा अमेरिका आएका थिए। उनलाई चिन्नेहरूका अनुसार विगतमा पोलियोका कारण अपाङ्गता भएका उनी पछिल्लो समयमा थप बिरामी पनि थिए। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

आठ महिनादेखि शव अलपत्र अवस्थामा रहेकाले शव लिनका लागि मासिक १ हजार डलरका दरले ८ हजार डलरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ। साथै, उनको दाहसंस्कारका लागि पनि खर्च लाग्ने भएकाले समुदायका सदस्यहरूले सहयोग जुटाउने योजना बनाएका छन्।

न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले सोमबार मात्र ठकुरीको शवबारे न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गरेको थियो । प्रमुख चिकित्सा परीक्षकको कार्यालयले नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास गरेको तर असफल भएको भन्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गर्दै महावाणिज्यदूतावासलाई पत्र लेखेको थियो ।

त्यसपछि, अमेरिकामा रहेको नेपाली समुदायको सहयोगमा आफूहरूले नेपालमा रहेका आफन्तहरूलाई सम्पर्क गरेर घटनाबारे जानकारी दिएको नेपाली महावाणिज्यदूतावासका उपमहावाणिज्यदूत तथा प्रवक्ता चक्रकुमार सुबेदीले खसोखासलाई जानकारी दिए । सुबेदीले बताएअनुसार ठकुरीले विगतमा महावाणिज्यदूतावासबाट नेपाली पासपोर्टका लागि दिएको आवेदनमा भएको विवरण जाँच्दा विवरण मिलेपछि र ठेगाना पत्ता लागेपछि नेपालमा रहेका परिवारका सदस्यहरूलाई सम्पर्क गर्न सहज भएको थियो ।

झापाली समाजका कोषाध्यक्ष प्रशन्न संग्रौलालगायतको सहयोगमा महावाणिज्यदूतावासले नेपालमा रहेका परिवारका सदस्यहरूलाई सम्पर्क गरेको थियो । ठकुरीकी श्रीमती र परिवारका अन्य सदस्यहरूसँग कुराकानी भइसकेको र  मृत्युको सूचना आधिकारिक रूपमा जानकारी गराइएको सुवेदीले जानकारी दिए ।

महावाणिज्यदूतावासले आधिकारिक रूपमा सबै कुरा मिलेकाले नाता प्रमाणित गर्न तथा मृत शरीर दाहसंस्कारका लागि नेपाल लैजाने वा अमेरिकामा दाहसंस्कार गर्ने भन्नेबारे पारिवारिक निर्णय गर्न सुझाव दिएको छ ।  श्रीमतीले लिखित रूपमा सहमति दिएपछि मात्र उनको शव दाबी गर्न सकिने भएकाले महावाणिज्यदूतावासले सहमति पत्रका लागि परिवारका सदस्यहरूलाई मार्गदर्शन समेत प्रदान गरेको जानकारी दिएको छ ।

परिवारको पहिचान गर्न र त्यसबारे महावाणिज्यदूतावासमा सम्पर्क गर्न लामो समय लाग्नुको कारणबारे न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले केही बताउन चाहेन । साथै मृत्युको कारणबारे पनि अहिलेसम्म कुनै कुरा पुष्टी नभएको र यसबारे अनुसन्धान भइरहेको चिकित्सा परीक्षकको कार्यालयले खसोखासलाई बताएको छ । मृत्युको कारणबारे थप जानकारी आफूहरुसँग नरहेको कार्यालयको भनाई छ ।

खसोखासले यसबारे न्युयोर्क प्रहरीलाई सम्पर्क गर्दा प्रहरीको रेकर्डमा यो घटना नै नरहेको सार्वजनिक सूचना उपायुक्तको कार्यालयले जनाएको छ । सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणालीमा उल्लेख गरिएको फेब्रुअरी ८ को मितिमा उक्त नामको व्यक्तिको कुनै शव भेटिएको फेला नपरेको प्रहरीको भनाई छ ।

नेपालमा रहेको परिवारले हालै मृत्युको घटनाबारे जानकारी पाएपनि मृत्युको कारणबारे विस्तृत जानकारी आफूहरुलाई नदिइएको बताएका छन् । मृतक ठकुरीका दाजु राजु ठकुरीका अनुशार धनबहादुर ठकुरी केही समयदेखि क्षयरोगबाट समेत पीडित रहेका थिए । उनले केही समय अगाडि नेपाल गएर १८ बर्षदेखि सम्बन्धमा रहेकी महिलासँग औपचारिक रुपमा विवाह गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । केही समय पहिले आफूलाई एउटा समुहले लखेटेको र भाग्ने क्रममा घाइते समेत भएको धनबहादुरले आफूलाई बताएको उनका दाजुले खसोखासलाई जानकारी दिएका छन् ।

आफूहरुको कार्यालयलाई पनि हालै यो हृदयविदारक अवस्थाको बारेमा जानकारी गराइएको मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले बताएका छन् । उनले भनेका छन् ,”विशेष गरी क्षति र एक्लोपनको समयमा हामीलाई हाम्रो समुदायको लागि सम्पर्कमा रहनु र एकअर्कालाई सहयोग गर्नु महत्त्वपूर्ण रहेको छ । जब विदेशमा बस्ने कुनै नेपालीको नजिकै परिवार बिना मृत्यु हुन्छ, यो केवल एक व्यक्तिगत त्रासदी होइन, यो करुणा र एकताको लागि सामूहिक आह्वान हो।”

आफ्नो कार्यालय मृतकलाई शान्ति र परिवारलाई सान्त्वना दिन सम्भव भएसम्म सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् । कसैको पनि अन्तिम यात्रा मौनतामा समाप्त नहोस् भनेर समुदायले आफ्नो सञ्जाललाई बलियो बनाउँदै जानुपर्ने उनले बताएका छन् । भण्डारीले विगत लामो समयदेखि अमेरिकामा मृत्यु भएका सयौं नेपालीको शव व्यवस्थापन र दाहसंस्कारमा सहयोग गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com