अफगानिस्तानमा भूकम्पमा परी ८१२ जनाको मृत्यु, उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ
प्रकाशित मिति : भाद्र १५, २०८२ सोमबार
अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पले ८१२ जनाको ज्यान लिएको छ भने करिब २,८०० जना घाइते भएका छन्। देशको पूर्वी प्रान्त कुनार र नंगरहारमा मध्यराततिर गएको ६ म्याग्निच्युडको भूकम्पपछि उद्धार टोलीलाई दुर्गम क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको छ।
भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको बताइएको छ। यसले विशेषगरी कुनारका गाउँहरूमा व्यापक क्षति पुर्याएको छ। प्रशासनका अनुसार तीन गाउँ पूर्णरूपमा ध्वस्त भएका छन् भने सयौँ घर भत्किएका छन्।
भारी वर्षा र पहाडीयाँ भू–भागका कारण उद्धारमा समस्या देखिएको छ। पछिल्ला ४८ घण्टामा परेको मुसलधारे वर्षाले भूस्खलन र ढुङ्गा खस्ने जोखिम बढाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ। धेरै सडक अवरुद्ध भएका कारण उद्धार टोलीहरू पैदलै दुर्गम बस्तीतर्फ पुगेका छन्।
सैन्य हेलिकप्टरमार्फत घाइते र मृतकलाई निकाल्ने प्रयास भइरहेको छ। रक्षा मन्त्रालयका अनुसार हालसम्म ४० उडानमार्फत ४२० जना घाइते र मृतकलाई अस्पताल पुर्याइएको छ।
जालालाबादका विद्यार्थी जियाउल हक मोहम्मदी भूकम्पका बेला आफ्नो कोठामा पढिरहेका थिए। उनले भने, “म उभिन खोजें तर कम्पनले मलाई भुइँमा लडायो। हामीले पूरै रात डर र त्रासमा बितायौं, जुनसुकै बेला फेरि अर्को भूकम्प आउन सक्थ्यो।”
स्थानीय बासिन्दाहरूले उद्धार कार्यमा सेना र स्वास्थ्यकर्मीलाई सहयोग गरिरहेका छन्। घाइतेलाई एम्बुलेन्ससम्म पुर्याउन गाउँलेहरूले आफ्नै काँध र अस्थायी स्ट्रेचर प्रयोग गरेका छन्।
यो विपत्तिले तालिबान प्रशासनलाई थप चुनौती दिएको छ। पहिले नै विदेशी सहयोग कटौती, खाद्यान्न अभाव र छिमेकी मुलुकले लाखौँ अफगानलाई निष्कासन गरेजस्तै समस्याले ग्रस्त प्रशासनले अब मानवीय संकटसँग जुझ्नुपर्ने भएको छ।
काबुलस्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमनले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्दै भने, “हामीलाई तत्काल स्वास्थ्य सामग्री, आश्रय, खाना र औषधि आवश्यक छ। हजारौँ मानिस घरविहीन भएका छन्।”
तालिबान सत्तामा आएपछि अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरूले सहयोग कटौती गरेका छन्। महिलामाथि लगाइएका प्रतिबन्ध र तालिबानको कठोर नीतिले दातृ राष्ट्रहरूको असन्तुष्टि बढाएको छ। सन् २०२२ मा अफगानिस्तानलाई ३ दशमलव ८ अर्ब अमेरिकी डलर बराबरको सहयोग आएको थियो भने यस वर्ष घटेर जम्मा ७६७ मिलियन डलर मात्र पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
अधिकारिहरूले दुर्गम क्षेत्रसम्म उद्धार टोली पुगेसँगै मृतक र घाइतेको संख्या अझै बढ्ने आशंका गरेका छन्। कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने नंगरहारमा १२ जनाको मृत्यु भएको छ।
तालिबान सत्तामा आएपछि यो तेस्रो ठूलो घातक भूकम्प हो। यसअघि पनि २०२२ मा आएको भूकम्पमा करिब १,००० जनाको मृत्यु भएको थियो।








