अमेरिकाबाटै राजीनामा दिएका डा. कोइराला भन्छन् – ‘सीप, देश र पेसा छाड्दा मन अमिलो भयो’


प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार

तस्वीर स्रोत : सामाजिक सञ्जाल

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। डा. कोइरालाले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

बुधबार एक्समार्फत उनले आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका हुन्। डा. कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको समेत राजीनामा उल्लेख गरेको छन् ।

उनले हाल आफू विदेशमा भएकाले विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन केन्द्रका कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखिएको राजीनामामा उल्लेख छ ।

उनले लेखेका छन्, “आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।”

डा. कोइरालाले आफूले केन्द्रमा २५ वर्ष बिताएको उल्लेख गर्दै सङ्घीय सरकारले केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि ‘शहीद गङ्गालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त रहेको समेत राजीनामा उल्लेख गरेका छन् ।

यस्तै, डा. कोइरालाले एक्समा राजीनामा पोस्ट गर्दै एक्कासि सीप, देश, पेसा छाड्दा मन अमिलो भए पनि फरक कलेबरमा फर्किने सोच ज्युँदै रहेको समेत लेखेका छन् ।

“र, म तपाईँको खुच्चिङ रमाइरहेछु। एक्कासि सीप, देश, पेसा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी ! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।”, उनले एक्समा राजीनामा पोस्ट गर्दै लेखेका छन् ।

डा. कोइराला हाल अमेरिका छन् । उनी मंगलबार अमेरिका पुगेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com