डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा दृष्टिविहीनता अन्त्यका लागि २ लाख ५ हजार डलर संकलन
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
न्युयोर्कमा आयोजित कार्यक्रममा डा. सन्दुक रुइत । फोटो: राजन काफ्ले
नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा भएका कार्यक्रमबाट २ लाख ५ हजार डलर फन्डरेजिङ भएको आयोजकले जानकारी दिएका छन्। मेको दोस्रो सातादेखि जुनको पहिलो सातासम्म अमेरिकाका न्युयोर्क, मेरिल्यान्ड, म्यासाचुसेट्स, फ्लोरिडा, टेक्सास, नर्थ क्यारोलाइना, क्यालिफोर्निया लगायतका राज्यहरूमा भएका कार्यक्रमहरूमा उक्त रकम संकलन भएको हो। न्युयोर्कमा मे २३ मा मुख्य अन्तरक्रिया कार्यक्रम भएको थियो भने त्यसपछि थप ३ वटा कार्यक्रमहरू समेत भएका थिए।
स्ट्यानफोर्ड विश्वविद्यालय, हार्भर्ड विश्वविद्यालय, ब्राउन विश्वविद्यालय, बास्कम पाल्मर आई इन्स्टिच्युट, जोन्स हप्किन्स विल्मर आई इन्स्टिच्युट लगायतमा पनि कार्यक्रमहरू भएका थिए। डा. सन्दुक रुइतको अमेरिका भ्रमणको आयोजना क्योर ब्लाइन्डनेस प्रोजेक्टले गरेको हो भने कार्यक्रमको टुर पार्टनर ठमेल एनवाईसी इभेन्ट्स रहेको थियो। कार्यक्रमका लागि काठमाडौंस्थित अमेरिकी दूतावासको समेत सहयोग रहेको थियो।
नेपालमा सस्तो र प्रभावकारी मोतिबिन्दु शल्यक्रियामार्फत दृष्टिविहीनताको अन्त्य गर्ने अभियानलाई सहयोग जुटाउन कार्यक्रमको आयोजना गरिएको हो। संकलित रकम तिलगङ्गा आँखा अस्पतालमार्फत नेपालको हेटौँडास्थित इन्ट्राअक्युलर लेन्स प्रयोगशाला विस्तार परियोजनामा जाने आयोजकले जानकारी दिएका छन्। आयोजकले यो अभियानमा सघाउने स्थानीय आयोजक, मिडिया पार्टनर लगायत अमेरिकामा रहेका नेपालीहरूलाई धन्यवाद दिएका छन्। रुइत फाउन्डेसनको पनि कार्यक्रममा सहयोग रहेको थियो।
सबै खर्च कटौती गरेर २ लाख ५ हजार ८ सय ४८ डलर संकलन भएको र अझै पनि सहायता रकम आउने क्रम जारी रहेको लेनिन कँडेलले जानकारी दिएका छन्। चाँडै नै नेपालमा टोलीसँग समन्वय गरेर नेपाल सरकारको कानुनअनुसार कोष स्थानान्तरण गर्ने उनले जानकारी दिए।
डा. सन्दुक रुइत तिलगंगा नेत्र केन्द्रका कार्यकारी निर्देशक हुन्। यो संस्थाले विगत तीन दशकदेखि नेपालमा दृष्टिविहीनताको अन्त्यका लागि अग्रणी भूमिका खेल्दै आएको छ। उनले सन् १९९२ मा तिलगंगा नेत्र केन्द्रको स्थापना गरेका थिए, जुन हाल नेपालमा आँखा उपचारको उत्कृष्ट केन्द्रका रूपमा स्थापित छ।
सन् १९९५ मा उनले तिलगंगामा इन्ट्राअक्युलर लेन्स प्रयोगशाला स्थापना गरे, जसले लेन्सको लागत १५० डलरबाट घटाएर ४ डलरमा झारेको छ। हालसम्म यो प्रयोगशालाले ६५ लाखभन्दा बढी लेन्स उत्पादन गरी ४० भन्दा बढी देशमा वितरण गरेको छ, जसले विश्वभरका ६५ लाखभन्दा बढी व्यक्तिको दृष्टि पुनःस्थापना गरेको छ।
डा. रुइतले सानो चिरा सर्जरीको प्रविधिलाई सरल, सस्तो र गुणस्तरीय बनाएर नेपाल र विकासशील देशहरूमा मोतिबिन्दु शल्यक्रियालाई क्रान्तिकारी बनाएका छन्। अहिले हेटौँडास्थित इन्ट्राअक्युलर लेन्स प्रयोगशाला विस्तार परियोजनामार्फत उत्पादन क्षमता दोब्बर बनाउने र नेपाललाई वैश्विक नेत्रचिकित्सा प्रविधिमा अग्रणी बनाउने लक्ष्य राखिएको छ।
डा. रुइतको योगदानको विश्वभर प्रशंसा गरिएको छ। उनले सन् २००६ मा प्रतिष्ठित ‘रामोन म्याग्सेसे पुरस्कार’ प्राप्त गरेका थिए, जसलाई एसियाको नोबेल पुरस्कार मानिन्छ। सन् २००७ मा रिडर्स डाइजेस्टले उनलाई ‘एसियन अफ द इयर’ घोषणा गरेको थियो भने सोही वर्ष उनले ‘प्रिन्स महिदोल अवार्ड फर पब्लिक हेल्थ’ र अस्ट्रेलिया सरकारबाट ‘द अर्डर अफ अस्ट्रेलिया’ सम्मान प्राप्त गरे।
सन् २०१६ मा उनलाई एसिया सोसाइटी न्युयोर्कले ‘एसियन गेम चेन्जर अवार्ड’ प्रदान गरेको थियो। डा. रुइतले स्थापना गरेको हिमालयन क्याटर्याक्ट प्रोजेक्ट र फ्रेड हलोस फाउन्डेसनमार्फत उनले नेपालसहित चीन, भारत, बंगलादेश, कम्बोडिया, भियतनाम, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, इथियोपिया, थाइल्यान्ड र अफ्रिकाका विभिन्न देशमा आँखा उपचार सेवा विस्तार गरेका छन्। उनको नेतृत्वमा हालसम्म ३५ मिलियनभन्दा बढी शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
डा. रुइतको अभियानले विश्वभरका ९०% मोतिबिन्दुका बिरामीहरू, जो विकासशील देशमा बस्छन्, उनीहरूका लागि सस्तो र पहुँचयोग्य उपचार सुनिश्चित गरेको छ। तिलगंगा नेत्र केन्द्रले हाल नेपालका दुई अस्पताल र १६ बाह्य क्लिनिकहरूमा आँखा सेवा प्रदान गर्दै आएको छ, जहाँ ३० जना नेत्र विशेषज्ञहरू कार्यरत छन्।
डा. रुइतले विश्वभरका ६५० भन्दा बढी चिकित्सकहरूलाई तालिम प्रदान गरेका छन्, जसले एसिया, अफ्रिका र अस्ट्रेलियामा उनको प्रविधि प्रयोग गरी दृष्टिविहीनताको अन्त्यमा योगदान पुर्याइरहेका छन्।








