एमाले–माओवादी एकताको भित्रि रहस्य र ओली–प्रचण्डको टफ सेक्रेट संवाद


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

काठमाडौं, १९ असोज । भनिन्छ, राजनीति सम्भावनाको खेल हो । यहाँ धेरै असम्भवहरु पनि सम्भव हुन्छन् । हो, यो भनाइ फेरी एक पटक पुष्टी भएको छ । नेपाली राजनीतिमा वामपन्थी धारका धेरै राजनीतिक दल छन् । कोही अस्तित्व गुमाउने अवस्थामा छन भने कोही वामपन्थी धारबाट प्रजातान्त्रिक बन्ने क्रममा छन् । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेपालको सन्दर्भमा दुई प्रतिस्पर्धी वामपन्थी दल हुन ।

यी दुई दलबीच एकता कसैले पनि कल्पना गरेका थिएनन् अथवा सम्भव देखिएको थिएन । यद्यपि, लामो समयदेखी एमाले–माओवादी एकताको प्रयत्न भने चलेकै थियो । तर, दुई दलबीचको शक्ति सन्तुलन नमिल्दा लामो समय एमाले–माओवादी एकताले सार्थकता पाउन सकेन । भनिन्छ, राजनीतिमा बाध्यात्मक परिस्थितिले एकता र फुटको वातावरण बन्छ । हो, यस्तै परिवेशमा एमाले–माओवादी एकता प्रारम्भ भएको छ ।

माओवादी नेताहरुले जनयुद्धको परिकल्पना गर्दा एमाले नेताहरु नेपालमा जनयुद्ध सम्भव होला भनेर सोचेका थिएनन् । किनकी, माओवादी भन्दा पहिले नै को–अडिनेसन कमिटिको नाममा उठेको हतियार बिसाइएको थियो । यसको मतलव थियो, नेपालमा सशस्त्र क्रान्ति सम्भव छैन । तर, माओवादीले सशस्त्र संघर्षको सम्भावना देख्यो र जनयुद्धको थालनि भयो । एक दशकसम्म चलेको जनयुद्धले नेपालमा तत्कालिन नेकपा माओवादीलाई एक अभिन्न राजनीतिक शक्तिको रुपमा स्थापित गर्‍यो ।

हरितयार बिसाएर माओवादी शान्ति प्रकृयामा आउने बिक्तिकै २०६४ सालमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संविधानसभाको निर्वाचन मार्फत माओवादी पहिलो शक्तिको रुपमा स्थापित भयो । माओवादी जनयुद्ध सकेर शान्तिपूर्ण राजनीति आउँदासम्म नेकपा एमाले माओवादीलाई वैकल्पीक राजनीतिक शक्तिको रुपमा स्वीकार्न तयार थिएन । तर, शान्ति प्रकृयामा आएदेखी नै माओवादी एउटै शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापनाको लाइनमा थियो ।

पहिलो संविधानसभाको निर्वाचन हुनु अगाडी २०६४ सालमा काभ्रेको कामीडाँडामा सम्पन्न माओवदीको बहुचर्चित बैठकले एउटै शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । जुन निर्णयपछि माओवादीको हरेक बैठकमा शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने सपनाले निरन्तरता पायो । पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएपछि माअमोवादीले कामीडाँडा बैठककै लाइनमा मुख्य प्रतिस्पर्धी वामपन्थी दल नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव राख्यो ।

माओवादी प्रस्तावपछि एमालेभीत्र पार्टी एकताबारे गहन छलफल भयो । तर, तत्कालिन समयमा नेकपा एमालेले माओवादी निरन्तर शक्तिमै रहन नसक्ने निष्कर्ष निकाल्दै तत्काल पार्टी एकता नगर्ने निर्णय गर्‍यो । त्यो समय नेकपा एमालका केही नेताले आगामी निर्वाचन मार्फत माओवादी सकिने अनुमान गरेका थिए । त्यही अनुमानको भरमा एमाले–माओवादी एकता रोकिएको थियो । तर, दोस्रो संविधानसभा निर्वाचन मार्फत तेस्रो दलको रुपमा आफुलाई उभ्याउँदै माओवादी बलियो र निर्णायक शक्तिका रुपमा स्थापित भयो । माओवादी शक्तिमै रहनु एमाले स्वयमकै लागि राजनीतिक रुपमा घाटा थियो । त्यसपछि मात्र नेकपा एमाले पार्टी एकता गर्ने सोचमा पुग्यो ।

एमालेका लागि माओवादी सधैको प्रतिस्पर्धी दलको रुपमा स्थापित भएपछि एमाले–माओवादी एकताको वहसले फेरी स्थान पायो । एमाले समेत एउटै कम्युनिष्ट पार्टी स्थापना गर्न तयार भएपछि ओलीलाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्र तयार भयो । २०७२ साल बैसाखमा एमाले–माओवादीबीच १६ बुँदे सहमति भयो । र, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भए । पार्टी एकता गर्ने सहमति सहित ओली प्रधानमन्त्री भएपछि ओली–प्रचण्डबीचको सम्बन्धमा ऐतिहासिक निकटता छायो । ओली प्रचण्ड हरेक निर्णयमा एकमुख भएका थिए । तर, नेकपा एमाले फेरी पुरानै अवस्थामा युट्रन भएपछि माओवादी–एमाले सम्बन्धमा फेरी चिसोपन बढ्यो ।

एमाले–माओवादी सत्ता समिकरण फेरी बदलियो । र, माओवादीले एमालेसँगको समिकरण तोड्दै कांग्रेससँग नयाँ समिकरण बनायो । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड प्रधानमन्त्री बन्ने बेलामा कांग्रेस–माओवादीबीच भएको सहमति अनुसार नै प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन् । जुन समिकरणका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि प्रधानमन्त्री नै छन् । सहमति कार्यान्वयनमा एमाले इमानदार हुन नसकेपछि माओवादीले सत्ता समिकरण बदलेपछि ओली–प्रचण्ड फेरी पुरानै शैलिमा आरोप प्रत्यारोपमा तल्लिन भए । त्यति मात्र होइन ओली–प्रचण्डबीच लामो समय संवाद नै टुट्यो ।

निर्वाचनको परिणाम एकताको सुत्रधार
ओली–प्रचण्डबीच सम्वाद टुटेकै बेला स्थानीय तहको निर्वाचन घोषणा भयो । सत्ता बाहिर रहेको एमालेका लागि पहिलो चाहना नै निर्वाचन थियो । आफ्नै चाहना अनुरुप माओवादीले निर्वाचन घोषणा गरेपछि माओवादी–एमालेबीचको तिक्तक केही कम भयो । त्यही बेला केही बाम एकताका शुभेच्छुकहरुले ओली प्रचण्डको सम्वाद र भेटघाट जारी राख्न सुझाएपछि उनीहरु सहमत भए ।

एमाले प्रतिपक्षमै रहेको बेला निर्वाचन घोषणा भएपछि एमाले अध्यक्ष ओलीले बारम्बर भनेका थिए : सरकार निर्वाचन सम्पन्न गर्न दृढ होस् प्रतिपक्षको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छौं । निर्वाचन सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको एमाले अध्यक्ष ओलीको बारम्बारको उद्घोषले माओवादी–एमाले सम्बन्धमा न्यानोपनको आभास हुन थालेको थियो । त्यतिकैमा निर्वाचन सम्पन्न भयो । तर, स्थानीय तहको निर्वाचन एमाले–माओवादी दुबैका लागि अनपेक्षित बन्यो । स्थानीय तह निर्वाचनको मतपरिणाम नै एमाले–माओवादी एकताको सुत्रधार बन्न पुगेको छ । नेकपा एमाले स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा दुई तिहाई बहुमत आउने निष्कर्षमा थियो ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेकै पक्षमा जनमत देखियो । तर, दुई नम्बर प्रदेशको निर्वाचनमा एमाले नराम्ररी पराजित भयो । नेकपा माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने निष्कर्षमा पुगेको थियो । तर, मतपरिणामले माओवादीलाई तेस्रो शक्तिमा पुर्‍यायो । यसरी वामपन्थी धारका दुबै दलले सोचे विपरित परिणाम व्यहोरेपछि भने दशक पुरानो माओवादी–एमाले एकताको कथनले सार्थकता पाएको छ । लामो समयको प्रयासपछि सफल एमाले–माओवादी एकताले नेपाली राजनीतिमा राजनीतिक स्थीरताको संकेत गरेको छ । त्यति मात्र होइन नेपाली राजनीति नयाँ र सकारात्मक संचार समेत प्रभाह समेत भएको छ ।

टफ सेक्रेटमा एकता संवाद सम्पन्न
नेपालमा राजनीतिक दलबीच फुट र एकता सामान्य जस्तै लाग्छ । पार्टी फुट्ने बेला होस या एक हुने बेला, ठूलै हो–हल्ला हुन्छ । तर, एमाले–माओवादी एकता छापामार शैलिमै भयो । यतिसम्म की, माओवादी–एमाले एकताबारे दुबै पार्टीका थोरै नेतालाई मात्र थाहा थियो । यसको मतलव, एमाले–माओवादी एकताको एक्सरसाइज टफ सेक्रेटमा सम्पन्न भएको छ । ओली र प्रचण्डले बैशाखबाट सुरु गरेको एकता वार्ताले दशैंको शुभ साइतमा पूर्णता पाएको छ । दुवै नेताले दशैंको दिन विहानको लामा वार्तापछि एकता गर्ने सहमति गर्दै ओलीले बालकोटमा र प्रचण्डले लाजिम्पाट पुगेर पहिलो पटक दशैंको टिका लगाएका थिए ।

दशैंको भोलिपल्ट ओलीले एमाले स्थायी समितिलाई एकताको सरप्राइज दिए भने प्रचण्डले त्यसको भोलिपल्ट सचिवालय बैठकमा व्रिफिंग गरेका थिए । यो एकतामा बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ र जनादर्न शर्माले आआफ्नै धुनमा एकताको पहल र बार्तालाप गरिरहेका थिए । तर यति चांडै ओली र प्रचण्ड एकताका लागि तयार होलान भन्ने उनीहारुलाई पनि विश्वास थिएन । ओली प्रचण्ड सम्वाद अनौपचारिक रुपमा उनीहरुका केही शुभेच्छुकलाई बाहेक कसैलाई नभनिएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।

बाबुराम भट्टराईको युट्रन
माओवादी–एमाले एकताको प्रयास जारी रहेकै बेला तत्कालिन माओवादी उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरेर नयाँ शक्ति नेपाल नामक पार्टी स्थापना गरे । तर, नयाँ पार्टी जीवन सुरु गरेपछि पहिलो निर्वाचन फेस गरेका बाबुराम नराम्रोसंग पराजित भए । स्थानीय तहको निर्वाचनमा दुई स्थानीय तह मात्र जितेका बाबुराम भट्टराई कुनै पार्टीमा सहज विलयको अवसर खोजिरहेका थिए ।

नयाँ शक्ति संयोजक भट्टराईका लागि माओवादी–एमाले एकता सबैभन्दा उत्तम अवसर बन्न पुग्यो । त्यसैले, वामपन्थी वैचारिक लाइन नै त्यागेका डा. भट्टराई फेरी एक पटक एउटा शक्तिशाली कम्युनिष्ट पार्टी गठन गर्ने अभियानमा सहभागी भएका छन् । बाबुराम भट्टराई समेतको सहभागीताले एमाले–माओवादीको एउटै कम्युनिष्ट पार्टी गठन गर्ने अभियानमा इटा थपिएको छ ।

नेपालको राजनीतिमा वाह्य शक्तिको अधिक चलखेल हुने गरेको छ । त्यसैले, कुनै पनि बेला कुनै पनि तयारीले फरक मोड लिनसक्छ । प्रचण्ड र केपी ओली दुबैले यो विडम्बनापूर्ण परिस्थितको सामना गरिसकेका छन् । त्यसैले, यस पटक माओवादी–एमाले एकताको प्रयासमा दुबै दलका नेताले टप सेक्रेसि मेनटेन गरेका छन् । त्यसैले माओवादी–एमाले एकता घोषणा भएको छ । यो एकता स्वयम माओवादी–एमालेका लागि महान र ऐतिहासिक काम हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com