युक्रेन र रूसबीच युद्धविराम सम्झौता हुने सम्भावनामा अमेरिकी राष्ट्रपति ट्रम्पको शङ्का
प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार
फाइल तस्बिर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबीच युद्धविराम सम्झौता हुने सम्भावनामा शङ्का व्यक्त गरेका छन्। आइतबार ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता गर्न नसक्ने आशङ्का व्यक्त गरे।
‘मलाई शङ्का लाग्न थालेको छ कि युक्रेनले पुटिनसँग सम्झौता गर्नेछ’, ट्रम्पले लेखे।
उनले थपे, ‘राष्ट्रपति पुटिन युक्रेनसँग युद्धविराम सम्झौता गर्न चाहँदैनन्, बरु बिहीबार टर्कीमा भेटेर युद्धको रक्तपात अन्त्य गर्ने सम्भावनाबारे वार्ता गर्न चाहन्छन्।’
ट्रम्पले युक्रेनलाई टर्कीमा रूसी अधिकारीहरूसँग भेट गर्न आग्रह गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका थिए ।
युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।
पुटिनले युरोपेली नेताहरुको आह्वानलाई स्पष्ट रूपमा सम्बोधन गरेनन्, बरु यसको सट्टा ताजा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गरेका थिए ।
“हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ । त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भनेका थिए ।
रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।
यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्तिपूर्ण समाधानको पक्षमा बोल्दै रूसले सोमबारदेखि लागू हुने ३० दिनको युद्धविराममा सहमति जनाए युक्रेन वार्ताका लागि तयार हुने बताएका छन् । उनले भने, “यदि रूसले सोमबारदेखि लागू हुने ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुनेछ ।” उनले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने सङ्केत दिए ।
राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक सङ्केत देखिएको बताए । उनले यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख गरे ।
सामाजिक सञ्जालमार्फत उनले भने, “एक दिनका लागि पनि हिंसा जारी राख्नुको अर्थ छैन । यदि रूसले पूर्ण, विश्वसनीय र स्थायी युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार छ ।”





