भारत-पाकिस्तान युद्धविराम सहमतिको केही घण्टापछि श्रीनगर शहरमा ‘विस्फोटका आवाज’
प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार
TOPSHOT – Trails from an Indian air defence system are seen above Jammu during a Pakistani strike on May 9, 2025. The Indian army on May 10 reported fresh Pakistani attacks along the border with its arch-foe as the conflict between the nuclear-armed neighbours spiralled. (Photo by Rakesh BAKSHI / AFP)
भारतीय कश्मीरको श्रीनगर शहरमा शनिबार साँझ विस्फोटका आवाजहरू सुनिएका छन् । भारत र पाकिस्तानले युद्धविराममा सहमति जनाएको केही घण्टापछि श्रीनगर शहरमा विस्फोटका आवाजहरू सुनिएका हुन् । जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत यो जानकारी दिएका छन्।
‘युद्धविरामको के भयो ? श्रीनगरभरि विस्फोटका आवाजहरू सुनिए’, अब्दुल्लाहले आफ्नो पोस्टमा लेखेका छन्। यद्यपि, विस्फोटको कारण र क्षतिको विवरणबारे कुनै आधिकारिक जानकारी आएको छैन ।
शनिबारमात्रै भारत र पाकिस्तानले हप्तौंको तनाव र एकपछि अर्को आक्रमणपछि युद्धविराममा सहमत जनाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारत र पाकिस्तानले चौथो दिनको सैन्य आक्रमण र प्रतिआक्रमणपछि ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमति जनाएको घोषणा गरेका थिए । उक्त युद्धविराम नेपाली समयअनुसार शनिबार साँझ सवा ५ बजेबाट लागू भएको छ।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै अमेरिकाको मध्यस्थतामा भएको रातको लामो वार्तापछि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएको बताएका थिए । उनले दुवै देशलाई सामान्य बुद्धि र उत्कृष्ट बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई समेत जिकिर गरेका थिए ।
उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो रातको वार्तापछि, भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन्। दुवै देशलाई सामान्य बुद्धि र उत्कृष्ट बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई।’
भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र पाकिस्तानले गोलीबारी र सैन्य कारबाही रोक्न सहमत भएको जानकारी दिएका छन् । भारतीय विदेशमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘भारतले सबै प्रकारका आतंकवाद विरुद्ध निरन्तर कडा र दृढ अडान अपनाएको छ। यसले त्यसो गरिरहनेछ।’
यो पनि पढ्नुहोस् :
अमेरिकाको मध्यस्थतामा भएको रातभरको वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत








