ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट वाल्ट्जलाई हटाए
प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई पदबाट हटाएका छन् । उनलाई ट्रम्पले संयुक्त राष्ट्रसंघ ९यूएन० का लागि अमेरिकी राजदूतको रूपमा मनोनयन गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले वाल्ट्जलाई राष्ट्रको हितका लागि कडा मेहनत गरेकोमा धन्यवाद दिएका छन् । उनले वाल्ट्जको अस्थायी रूपमा स्थान विदेशमन्त्री मार्को रुबियोले लिने बताएका छन् ।
रुबियोले विदेश मन्त्रीको भूमिका पनि यथावत् रुपमा जारी राख्नेछन्। यमनका हुथी विद्रोहीहरूविरुद्धको गोप्य सैन्य योजनाहरू वाहिर जान वाल्टजको प्रमुख भूमिका रहेको भन्दै कडा आलोचना भइरहेको थियो ।
वाल्ट्जले एक जना पत्रकारलाई सिग्नल च्याट समूहमा थपेका आरोप लागेको थियो । यो विषय वाल्ट्जको संयुक्त राष्ट्रसंघका लागि राजदूतको सुनुवाइको क्रममा पनि प्रमुख मुद्दा बन्न सक्ने बताइएको छ ।
पूर्व फ्लोरिडा कांग्रेस सदस्य वाल्ट्ज राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसबाट बहिर्गमन हुने पहिलो उच्च पदस्थ व्यक्ति बनेका छन् ।
ट्रुथ सोसियलमा ट्रम्पले युद्ध मैदानमा आफ्नो समयदेखि लिएर कंग्रेस र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा, माइक वाल्ट्जले राष्ट्रको हितलाई सधैं पहिलो प्राथमिकतामा राखेका भनेर लेखेका छन् ।
वाल्ट्जले एक्स मा राष्ट्रपति ट्रम्पको घोषणा स्क्रिनसट सहित राष्ट्रपतिसँग सेवा गर्न पाउनु र महान राष्ट्रको सेवा जारी राख्न पाउनु मेरो लागि ठूलो सम्मान हो भनेर लेखेका छन ।
ट्रम्पले वाल्ट्जलाई यूएन राजदूतको रूपमा मनोनयन गर्ने निर्णय बर्खास्तको घोषणा हुनु केही घण्टा अघि मात्रै गरेका थिए।
धेरै स्रोतहरूले बताएको अनुसार वाल्ट्ज हटाइको कारण सिग्नल च्याटको मुद्दा र राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारीहरूको छानबिनमा कमजोरी रहेको विश्वास गरिएको थियो ।
तर ट्रम्पले वाल्ट्जलाई अझै सम्मान गर्ने भएकाले उनलाई “सजिलो बनाउदै ” उच्च पदमा पुनः नियुक्त गरिएको हो ।
अमेरिकी अधिकारीहरूले ट्रम्प प्रशासनले वाल्ट्जलाई सिनेट सुनुवाइमा अप्ठ्यारो हुन सक्ने ठानेका कारण उनीबाट छुटकारा पाउन यस्तो रणनीति अपनाएको बताएका छन्।
वाल्ट्जको स्थानमा अन्ततः स्टीभ विटकोफ वा रिक ग्रेनेलजस्ता ट्रम्पका निकटका विशेष दूतहरूको नाम अगाडि बढाइएको चर्चा छ ।
ट्रम्पले रुबियोलाई राष्ट्रपतिको निर्णय अनुसार दुई प्रमुख भूमिकामा नियुक्त गरेपछि अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरू चकित बनेका छन् ।
रुबियो अब विदेश मन्त्रीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा रहने छन् ।






