अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

(From L) European Council President Antonio Costa, Ukraine’s President Volodymyr Zelensky and European Commission President Ursula von der Leyen speak to press as they arrive at the Special European Council to discuss continued support for Ukraine and European defence at the EU headquarters in Brussels on March 6, 2025. European Union leaders hold emergency talks in Brussels gathering as the Trump administration upends traditional alliances and retracts wartime backing of Ukraine. The summit brings all 27 EU leaders together for the first time since the explosive meeting between US and Ukraine presidents on February 28, 2025, with US military aid and intelligence sharing since suspended. (Photo by NICOLAS TUCAT / AFP)

वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (इयु) का नेताहरूले बिहीबार एक सङ्कट शिखर सम्मेलनमा ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको ह्वाइट हाउसमा भएको मतभेदपछि युक्रेनको पक्षमा एकजुट हुँदै युरोपेली देशहरूले रूसबाट आशङ्कित खतरा विरुद्ध ‘युरोपलाई पुनः हतियारबन्द गर्ने’ योजनालाई स्वीकृति दिए ।

“हामी निर्णायक रूपमा बलियो र अधिक सार्वभौम रक्षा युरोपतर्फ अघि बढिरहेका छौँ”, इयुका २७ राष्ट्रको परिषद्का प्रमुख एन्टोनियो कोस्टाले वार्तापछि पत्रकारहरूलाई भने, “हामीले जे भन्छौँ त्यही गरिरहेका छौँ ।”

नेताहरूले युरोपेली आयोगको रक्षा खर्चका लागि लगभग आठ खर्ब युरो (आठ खर्ब ६० अर्ब डलर) जुटाउने लक्ष्यलाई समर्थन गरे र सदस्यहरूलाई एक खर्ब ५० अर्ब युरोसम्मको इयु–समर्थित ऋण उपलब्ध गराउने प्रस्तावलाई ‘अत्यावश्यक मामिलाका रूपमा’ परीक्षण गर्न प्रतिबद्धता व्यक्त गरे।

जर्मनीका भावी चान्सलर फ्रेडरिक मेर्जले देशको पुनः शस्त्रीकरण कोषका लागि आमूल सुधारहरू अँगाल्दै गर्दा रक्षा योजनाले राज्यहरूलाई धेरै बढी खर्च गर्न अनुमति दिन वित्तीय नियमहरू सजिलो बनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि रक्षा खर्च बढाउन आह्वान गरेका छन् र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्न सुझाव दिएका छन् ।

दोस्रो विश्वयुद्धदेखि युरोपको सुरक्षाको जमानीकर्ता (ग्यारेन्टर) रहेको संयुक्त राज्य अमेरिकाले नाटोमा आफ्नो केन्द्रीय भूमिका जारी राख्नुपर्छ कि पर्दैन भनेर ट्रम्पले प्रश्न गर्दा युरोपेली सरकारहरू रक्षा बढाउन दबाबमा छन् ।

ट्रम्पले बिहीबार फेरि एकपटक त्यो प्रतिबद्धतालाई प्रश्नमा राखेर आफ्ना सहयोगीहरूले ‘अधिक भुक्तानी गर्नुपर्ने’ भनेर गुनासो गरे ।

ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग सम्बन्ध सुधार गर्दै संयुक्त राज्य अमेरिकाका ट्रान्सअटलान्टिक साझेदारहरूबाट दूरी बढाएका छन् । यसले किएभलाई अनुकूल नहुने सम्झौतामा बाध्य पारिने आशङ्का बढाएको छ ।

ट्रम्पसँगको विवादपछि संयुक्त राज्य अमेरिकाले किएभलाई सैन्य सहायता र खुफिया जानकारी हस्तान्तरण रोकेको एक हप्तापछि इयु नेताहरूले समर्थनको प्रदर्शनमा ब्रसेल्समा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गरे ।

युक्रेन ‘सम्भव भएसम्म बलियो स्थिति’ मा हुनुपर्ने र ‘न्यायपूर्ण र दीर्घकालीन शान्ति’ सुनिश्चित गर्नुपर्ने घोषणा गर्दै नेताहरूको वक्तव्यले भविष्यमा रुसी आक्रमणलाई रोक्न ‘मजबुत र विश्वसनीय सुरक्षा ग्यारेन्टी’ को माग दोहोर्‍याएको छ ।

ट्रम्पका कट्टर समर्थक हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनको अपेक्षित विरोधलाई ध्यानमा राख्दै २७ मध्ये २६ मुलुकले समर्थन गरेको पाठले ‘युक्रेनबिना युक्रेनबारे कुनै वार्ता हुन सक्दैन’ भन्ने कुरामा जोड दिएको छ ।

“हामी एक्लै नभएकोमा हामी धेरै आभारी छौँ”, जेलेन्स्कीले भने ।

यस बैठकमा कुनै प्रमुख नयाँ सहायता घोषणाहरू भएनन् । अमेरिकाले सहायता रोक्का गरेको भए पनि युरोपसँग हाल किएभको आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध पर्याप्त पैसा छ भनी धेरै राज्यले तर्क गर्छन् ।

तर इयुको सदस्य नभएको नर्वेले सन् २०२५ का लागि आफ्नो सहायता दोब्बर बढाएर कुल सात अर्ब ८० करोड डलर पुर्‍याउने घोषणा गरेको छ ।

गत हप्ताको कूटनीतिक घटनापछि, जेलेन्स्कीले ट्रम्पसँग सम्बन्ध सुधार्न प्रयास गर्नुभएको छ र रुस–युक्रेन द्वन्द्वमा अमेरिकी प्रतिनिधिले बिहीबार नयाँ वार्ताको योजना बनाएको घोषणा गरेका छन् ।

जेलेन्स्कीको ‘माफी’ बाट खुसी भएको घोषणा गर्दै अमेरिकी प्रतिनिधि स्टिभ विटकफले रुससँग ‘प्रारम्भिक युद्धविराम’ र लामो समयको सम्झौताका लागि ‘ढाँचा’ बारे युक्रेनी वार्ताकारहरूसँग कुरा गर्न साउदी अरबमा जाने इच्छा रहेको बताए ।

किएभमा एक वरिष्ठ अधिकारीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले मङ्गलबार साउदीको राजधानी रियादमा भेट्ने अपेक्षा गरिएको बताए । बैठक रियाद वा जेद्दामा हुने विटकफले बताए ।

युक्रेनी र अमेरिकी वार्ताकारहरूले ‘काम पुनः सुरु’ गरेको जेलेन्स्कीले बताए । “अर्को हप्ता हामीले एउटा अर्थपूर्ण बैठक गर्ने आशा गर्दछौँ”, उनले भने ।

वासिङ्टनसँगको सहयोग बचाउने आफ्नो प्रयासमा जेलेन्स्कीले ट्रम्पको ‘बलियो नेतृत्व’ अन्तर्गत शान्ति सम्झौताको दिशामा काम गर्न र युक्रेनी खनिज स्रोतहरूमा अमेरिकी पहुँचका बारेमा सम्झौतालाई अन्तिम रूप दिन तयार भएको घोषणा गरे ।

किएभ र यसका युरोपेली साझेदारहरू दुवैलाई किनारा लगाउँदै तीन वर्षे युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्पर्कले युरोपलाई सङ्कटको मोडमा धकेलेको छ ।

यसले युरोपेली सङ्घबाट बाहिरिएको पाँच वर्षपछि बेलायतलाई युरोपेली सङ्घमा फिर्ता ल्याउन पनि मद्दत गरेको छ ।

प्रधानमन्त्री किर स्टार्मरले म्याक्रोनसँग मिलेर ट्रम्प र जेलेन्स्कीबीचको पुल पुनर्निर्माण गर्न काम गरिरहेका छन् । उनीहरुले मिलेर ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिने युद्धविरामको प्रस्ताव राखेका छन् ।

फ्रान्स र बेलायतले भविष्यको युद्धविराम सुरक्षित गर्न मद्दत गर्न ‘इच्छुकहरूको गठबन्धन’ का लागि आह्वान गरिरहेका छन् । एक बेलायती अधिकारीले बिहीबार करिब २० देशसँग वार्ता भइरहेको बताएका छन् ।

केही युरोपेली मुलुकले ‘सुरक्षा ग्यारेन्टी’ का रूपमा युक्रेनमा सैनिकहरू तैनाथ गर्न इच्छुक हुने बताएका छन् ।

तथापि रुसले ‘अन्तिम समाधान’ आवश्यक रहेको भन्दै अस्थायी युद्धविराम र युक्रेनमा युरोपेली फौज अस्वीकार्य रहेको बताएको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com