नेपालमै आम्दानी संभव छ : काँक्रोको बीउ बिक्री गरेर कृषकले ६ करोड कमाए


प्रकाशित मिति : माघ २१, २०८१ सोमबार

पर्वत जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् ।

विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका कृषकले यसवर्ष ६ करोड ३० लाख आम्दानी गरेका हुन् ।

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।

प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो ।

गत वर्ष ७ करोड आम्दानी भएको थियो । उहाँका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् ।

सुरुआतमा ८ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर १० हजारमा बिक्री गर्दै आएका छन । केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो ।

काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् ।

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम ५ लाखदेखि १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो ।

पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष रु चार करोड भित्र्याएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com