झापाको कन्कार्ई पुल, १३ वर्षमा आधा काम


प्रकाशित मिति : माघ २, २०८१ बुधबार

हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ ।

विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो ।

यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।

२०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँचौं पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो । पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताउनुभयो ।

उहाँका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

लामो समयसम्म पनि कन्काई नदीमाथि पुल निर्माण सम्पन्न नभएपछि यहाँबाट आवतजावत गर्ने मानिसहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन ।

गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा डुङ्गा सञ्चालनका लागि दुई लाख ३० हजारमा ठेक्का दिएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले वताउनुभयो ।

उहाँका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com