महत्त्वपूर्ण खनिजहरूमा अमेरिका र भारतले सहकार्य गर्ने
प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार
U.S. President Joe Biden, left, talks with India’s Prime Minister Narendra Modi during the G20 Summit in Nusa Dua, Bali, Indonesia, Tuesday Nov. 15, 2022. (Bay Ismoyo/Pool Photo via AP)
अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने भएका छन ।
अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले बिहीबार अमेरिकी राजधानी वासिङ्टनमा भेट गरी महत्त्वपूर्ण खनिजहरूको आपूर्ति लाइनहरूलाई ‘विस्तार र विविधीकरण’ गर्न सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
समझदारीपत्रको उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा लचिलोपन बढाउनु रहेको अमेरिकी वाणिज्य मन्त्रालयले वक्तव्यमा बताएको छ ।
दुवै पक्षले ‘अमेरिका र भारतका महत्त्वपूर्ण खनिजको खोज, निष्कर्षण, प्रशोधन र शुद्धीकरण, पुनःचक्रण र पुनःप्राप्ति’ को व्यावसायिक विकासलाई सहज बनाउने तरिकाहरू पहिचान गर्ने वक्तव्यमा उल्लेख छ ।
विद्युतीय कारहरूको बेट्री जस्ता स्वच्छ ऊर्जा प्रविधिहरूमा प्रयोगलाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी तत्व र खनिजहरू तीव्र रूपमा महत्त्वपूर्ण हुँदै गएका छन् ।
यद्यपि विद्युतीय सवारी (इभी) का लागि अनुमानित माग पूरा गर्दा अमेरिकाले आपूर्तिमा अभावको सामना गर्नुपर्नेछ ।
चीन महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृङ्खलामा प्रमुख खेलाडी हो । अमेरिका र भारतले बिहीबार सेमीकन्डक्टरहरूको क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतीय मन्त्री गोयलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभयो, “हामी भारत–अमेरिका व्यापार र वाणिज्यिक साझेदारीका लागि विशाल अवसरहरूको फाइदा उठाउँदै नयाँ क्षेत्रहरूमा सहयोग विस्तार गर्न र विद्यमान क्षेत्रहरूलाई सुदृढ गर्न जारी राख्नेछौँ ।”
चीनको प्रभुत्वको सामना गर्दै आपूर्ति शृङ्खलाहरूलाई सुदृढ गर्न गत वर्ष अमेरिका र जापानले महत्त्वपूर्ण खनिजहरूको व्यापारमा सम्झौता गरेका थिए ।
अमेरिका–जापान सम्झौतामा द्विपक्षीय रूपमा ढुवानी गरिएका महत्त्वपूर्ण खनिजहरूमा निर्यात शुल्क नलगाउने प्रतिबद्धताहरू समावेश थिए ।






