अबदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट
प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

ललितपुर, १४ भदौ । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ ।
यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनमा जडान गरिने नयाँ प्रविधिको उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटले सवारी साधनको सुरक्षा मजबूत हुने बताउनुभयो ।
नम्बर प्लेटसँगै सवारी साधनमा राखिने रेडियो फ्रिक्वेन्सी आइडेन्टीफाइ डिभाइस (आरएफआइडी) स्टिकरले गाडीको बारेमा सम्पूर्ण जानकारी पाउन सकिने उहाँको भनाइ छ । आरएफआइडी स्टिकरमा जडान गरिएको एन्टेनाले सवारी साधन कहाँ र कति दुरीमा पुगेको छ भन्ने जानकारी थाहा पाउन सकिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने लक्ष्य रहेको छ ।
यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनाका प्रमुख वसन्त अधिकारीका अनुसार इम्बोस्ड नम्बर प्लेटका कारण सवारी साधनको चोरी न्युन हुनेछ । उहाँका अनुसार हाल सरकारी, संस्थान र निजी सवारी साधनमा यो व्यवस्था लागु गरिएको छ । रासस