भारतको सूचना प्रबिधि कम्पनीले भन्यो : अपेक्षाभन्दा कम राजश्व उठ्यो , कारण के होला


प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार

भारतको सूचना प्रविधि आइटी कम्पनी इन्फोसिसले मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको अपेक्षालाई प्रभावित गरेको जनाएको छ ।

बेङ्गलुरु प्रधान कार्यालय रहेको कम्पनी गत वर्ष कोभिड–प्रेरित वृद्धिपछि लडखडाएको छ । कम्पनीले आफ्नो आम्दानीको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ ।

उच्च ब्याज दरहरू र मुद्रास्फीतिले विश्वव्यापी कम्पनीहरूको प्राविधिक खर्चमा असर पुर्याउँदा थोरै मात्र सम्झौता भएका छन् भने भारतीय सफ्टवेयर आउटसोर्सिङ क्षेत्रको विद्यमान करार पत्रहरू रद्द भएका छन् ।

इन्फोसिसले त्रैमासिकका लागि ४ अर्ब ५४ करोड अमेरिकी डलर आम्दानी भएको बताएको छ । यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा १ दशमलव ३ प्रतिशतले बढी हो ।

कम्पनीको खुद मुनाफा ३० प्रतिशतले बढेर ९५ करोड ४० लाख डलर पुगेको छ तर अन्य आम्दानीमा भएको वृद्धिले यसलाई सहयोग गरेको छ ।

इन्फोसिसले आगामी १२ महिनाका लागि सुस्त बिक्री वृद्धिको अनुमान गरेको छ । कम्पनीले स्थिर मुद्राका आधारमा आम्दानी एकदेखि तीन प्रतिशतको बीचमा बढ्ने अनुमान गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com