आईपीएलको पूर्वसन्ध्यामा चेन्नईको चकित निर्णय, धोनीलाई हटाएर रुतुराजलाई कप्तानको जिम्मेवारी
प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार
during the IPL captain’s briefing and photoshoot ahead of the start of season 17 of the Indian Premier League held at the Leela Palace Hotel, Chennai on the 21st March 2024 Photo by Saikat Das / Sportzpics for IPL
आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले एउटा चकित पार्ने निर्णय गरेको छ । इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि चेन्नईले टिमको कमाण्ड रुतुराज गायकवाडलाई सुम्पेको छ । अर्थात् एमएस धोनी यस सिजन चेन्नईको कप्तानीमा देखिने छैनन् । चेन्नईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ ।
धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले गत सिजनको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै पाँचौं पटक आईपीएलको उपाधि जितेको थियो।
एमएस धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सको प्रदर्शन उत्कृष्ट रह्यो। धोनीको नेतृत्वमा चेन्नईले पाँच पटक आईपीएल ट्रफी जितेको थियो। धोनी सन् २००८ देखि टोलीको कप्तानी गर्दै आएका छन् । सन् २०२२ मा, सीएसकेले सिजन सुरु हुनुअघि नै रविन्द्र जडेजालाई टोलीको कमाण्ड सुम्पेको थियो। यद्यपि जडेजाको कप्तानीमा रहेको टोलीको प्रदर्शन निराशाजनक रह्यो र सिजनको मध्यमा धोनीलाई पुनः कप्तानमा नियुक्त गरियो।
पछिल्लो केही सिजनमा चेन्नई सुपर किंग्सका लागि रुतुराज गायकवाडको प्रदर्शन उत्कृष्ट रहेको छ । गत सिजनमा रुतुराजले १६ खेलमा १४७ को स्ट्राइक रेटमा ५९० रन बनाएका थिए । रुतुराजले चार अर्धशतक बनाएका थिए । योसँगै आईपीएल २०२२ मा ओपनिङ ब्याट्सम्यानले १४ म्याचमा ३ अर्धशतक सहित ३६८ रन बनाएका थिए ।






