प्रसूतिगृहबाट चोरी भएकी २६ दिनकी बालिकाको काँडाघारीबाट उद्धार , ३ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

काठमाण्डौको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएकी बालिका फेला परेको प्रहरीले बताएको छ । शुक्रबाराती करिव पौने १२ बजे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले काँडाघारीबाट ति २६ दिनकी बालिकालाई उद्धार गरेको हो ।

प्रहरीले बालिका चोरीको कसुरमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले बताएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले सहयोगको बहानामा चोरेर भागेकी सविनाले प्रहरीलाई बताउनु भएको थियो ।

सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो । बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । जुन घटनामा प्रहरीलाई सफलता मिलेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com