पश्चिम नवलपरासीमा २१ करोडको लागतमा शीतभण्डार निर्माण,उत्पादन बृद्धि गर्न सके किसानलाई मनग्य फाइदा हुने


प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार

पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो । शीतभण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी सङ्घको योजना छ ।

सञ्चालनको अन्तिम तयारीमा रहेको छुट्टाछुट्टै चेम्बरसहितको तीनतले शीतभण्डारमा किसानको आकर्षण बढेको देखिन्छ । अब सुनवलमै शीतभण्डार निर्माण भएपछि व्यावसायिक खेती गर्ने किसान उत्साहित भएको सुनवल–२ का लोकनाथ भण्डारीले बताउनुभयो । जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानीय तहदेखि तीनै तहका सरकार कृषिमैत्री नबन्दा शीतभण्डार सञ्चालनमा चुनौती थपिएको तर्क गर्नुभयो ।

“जिल्लाका सात स्थानीय तह कोही पनि कृषि र किसानप्रति जिम्मेवार छैनन्, व्यावसायिक कृषिमा जोड दिएर उत्पादन बढाउनेतर्फ उनीहरूको ध्यान नै छैन”, उहाँले भन्नुभयो । शीतभण्डार निर्माण भए पनि अझै रु दुई करोड भुक्तानी गर्न बाँकी छ । एकातर्फ सञ्चालन खर्च र अर्कातर्फ कृषि उपजको अभावले शीतभण्डार सञ्चालन चुनौतीपूर्ण बनेको हो । पाल्पा, रूपन्देहीलगायत जिल्लाका उत्पादनलाई पनि समेट्नेगरी अभियान सञ्चालन गर्ने पौडेलले बताउनुभयो ।

नवलपरासीका सात स्थानीय तहले चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारको सर्शत अनुदानसहित रु १६ करोड बढी रकम कृषिमा छुट्याएका छन् । तर योजनाबद्ध कार्यक्रम नआउँदा बजेट बालुवामा पानीसरह भएको सरोकारवालाको गुनासो छ । छिमेकी जिल्लाका उत्पादनसमेत भण्डारण गर्ने क्षमताका शीतभण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नसके किसानले मनग्य लाभ लिन सक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com