रुसको राष्ट्रपति चुनावमा पुटिनका प्रतिद्वन्द्वी बोरिसको उम्मेदवारी अस्वीकार


प्रकाशित मिति : माघ २५, २०८० बिहीबार

रुसको निर्वाचन आयोगले आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनलाई चुनौती दिने बोरिस नादेजदिनको उम्मेदवारी अस्वीकार गरेको छ ।

बोरिसले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् । बोरिस नादेजदिन युक्रेनमा भ्लादिमिर पुटिनको युद्धका कट्टर विरोधी र आलोचक हुन्।

निर्वाचन आयोगका अनुसार बोरिस नादेजदिनको आवेदन फारममा १५ प्रतिशत हस्ताक्षरमा त्रुटि रहेको छ । बोरिस नादेजदिनले निर्वाचन आयोगको यो दावीलाई चुनौती दिने प्रयास गरे तर उनको उम्मेदवारी अस्वीकार गरियो।

बोरिस नादेजदिनले सामाजिक सञ्जालमा आफूले हार स्वीकार नगर्ने र यस निर्णयलाई रुसको सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् ।

उनले भने, “मैले रुसमा २ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरें। हामीले पूर्ण इमानदारी र पारदर्शिताका साथ यो काम गर्‍यौं।” केन्द्रीय निर्वाचन आयोगले नादेजदिनले सङ्कलन गरेका ९ हजारभन्दा बढी हस्ताक्षर अवैध रहेको बताएको छ ।

अर्थात् उनीसँग जम्मा ९५ हजार ५८७ हस्ताक्षर बाँकी छन् र उम्मेदवार बन्न कम्तीमा एक लाख हस्ताक्षर चाहिन्छ । रुसमा मार्च १५-१७ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यस निर्वाचनमा कसले उम्मेदवार बन्ने भन्ने अन्तिम निर्णय शनिबार हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com