८ चर्चित हास्यकलाकारले हसाएँ न्युयोर्कका नेपाली, नेपालको राजनीतिदेखि एनआरएनसम्मलाई व्यंग्य


प्रकाशित मिति : माघ ६, २०८० शनिबार

शुक्रबार न्युयोर्कको मौषम अत्यन्तै चिसो थियो । विहानैदेखिको हिमपातका कारण यात्रा गर्न अझ कठिन भएको थियो । न्युयोर्कमा यसै साता झण्डै ७ सय दिनपछिको हिमखडेरी अन्त्य भएपछि दोश्रोपटक परेको हिमपातका कारण ट्राभल एड्भाइजरी र चेतावनीहरु समेत जारी गरिएको थियो । चिसोको असर शुक्रबार राती न्युयोर्कमा आयोजना गरिएको कमेडी नाइट पनि प्रभावित हुने अनुमान गरिएको थियो । तर त्यसो भएन । शुक्रबार राती झण्डै ३ तीनघण्टा नेपालका ८ चर्चित हास्यकलाकारले हलमा उपस्थीत सयौं नेपालीलाई मज्जाले हसाँए । हलमा उपस्थीत न्युयोर्कका नेपालीहरु नेपाली राजनीतिदेखि एनआरएनए सम्मका व्यंग्यहरुमा जमेर हाँसे ।

कार्यक्रमको सुरुवात अगाडि कलाकार टिमका साथमा आयोजक विनोद अधिकारी ।

सन्दिप क्षेत्री, भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, सजन श्रेष्ठ, सन्तोष थापा र सुमन कोइरालाले विमानस्थलबाट हुने सुनतस्करीदेखि नेपालका राजनीतिक नेताहरुलाई कँसेर व्यंग्य गरे । त्यतीमात्र होइन, उनीहरुले एनआरएनए संस्थामा भइरहेको राजनीतिप्रति पनि गतिलो झापड हानेका थिए । विदेशमा छ्याप्छ्याप्ती खुलेका संघसंस्थाप्रति उनीहरुले गरेको व्यंग्य सुन्न लायक थियो । राजनीतिक र सामाजिक विसंगतीमाथीमात्र व्यंग्यमात्र होइन, उनीहरुले विदेशमा रहेका नेपालीहरुले नेपालप्रति गर्ने मायाको समेत कुरा गर्दा बेलाबेलामा दर्शकदीर्घा भावुक समेत बनेको थियो । नेपालमा बाढी, पहिरो वा भूकम्पजाँदा सबैभन्दा पहिले विदेशमा बस्ने नेपालीहरुको मनमा बाढी, पहिरो वा भूकम्प जाने यथार्थलाई पनि उनीहरुले रमाइलोको माझमा घुसाएर प्रस्तुत गरेका थिए ।

न्युयोर्कको कार्यक्रमका आयोजकहरु विनिता तामाङ र मनिता गुरुङ

हल्काफुल्कादेखि गम्भिरप्रकारका हाँस्यव्यंग्यले सबै प्रकारका दर्शकहरुलाई समेटेको देखिएको थियो । नेपाली माटोको सुगन्ध र नेपालप्रतिको मायालाई उनीहरुले रचनात्मक शैलीमा प्रस्तुत गरेका थिए भने कलाकारहरुका फरक फरक शैली र प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो । रमाइलोकै माझ उनीहरुले विदेशमा बस्ने नेपालीहरुलाई विदेशमा सिकेको सिप, क्षमता र दक्षता नेपालका लागि समेत प्रयोग गर्न आव्हान गरे । आफूहरुलाई धेरै शुभचिन्तकहरुले अमेरिकामा भाग्ने हो कि भनेर गरेको आंशकालाई समेत उनीहरुले हाँस्य शैलीमा प्रस्तुत गर्दै जवाफ दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी सुरेश शाहीले गरेका थिए । कार्यक्रम  न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी सेन्टरमा भएको हो ।

‘अब हाँस्छ अमेरिका’ नाम दिइएको झण्डै एक महिना लामो कमेडीयात्राका क्रममा न्युयोर्कमा गरिएको कार्यक्रमको नाम ‘अब हाँस्छ न्युयोर्क’  दिइएको थियो । विनोद अधिकारी नेतृत्वको फ्लाइ नेपा संस्थाले अमेरिकाभरका लागि कलाकारको कमेडीयात्रा आयोजना गरेको हो भने न्युयोर्कको स्थानीय आयोजकहरु विनिता तामाङ र मनिता गुरुङ रहेका थिए । दुईजना महिला नेतृहरुले गरेको कार्यक्रममा न्युयोर्कका विभिन्न संघसंस्था र व्यवसायहरुले पनि राम्रै साथ दिएका थिए । उनीहरुले कार्यक्रम सफलताका साथ सम्पन्न भएको खुशी व्यक्ति गर्दै कलाकार, दर्शक र स्पोन्सरहरु सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा न्युयोर्क राज्य संसदका सिनेटर जोन लिउको पनि उपस्थीति रहेको थियो भने राज्य सांसदहरु जोन लिउ, स्टेभन रागा र जेनिफर राजकुमारका तर्फबाट सबै हाँस्यकलाकारहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा न्युयोर्कका राज्य संसदका सिनेटर जोन लिउ

नर्थ क्यारोलिनादेखि सुरु भएको ‘अब हाँस्छ अमेरिका’ यात्रा झण्डै डेढ दर्जन सहरमा आयोजना हुने भएको छ । टिममा रहेका अधिकांश कलाकारहरु टिभी रियालिटी शो कमेडी च्याम्पियनबाट उदाएका हुन् भने हाँस्य कलाकारले पहिलोपटक यति बृहत रुपमा अमेरिकामा शो गरिरहेका हुन् ।

कार्यक्रममा थप तस्वीरहरु हेर्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com