भदौ १२ गतेदेखि भैरहवाबाट हङकङ र भारतको दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स


प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिनसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com