बाढीपीडितलाई घले दम्पत्तिबाट एक करोड, कसले कति सहयोग गरे ?


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

बाढीपहिरोले विनास निम्त्याइरहेका वेला निजी क्षेत्रले सहयागी हात बढाएको छ । विभिन्न क्षेत्रबाट आर्थिक तथा लत्ताकपडा र खाद्यान्नको सहयोग हुन थालेको छ ।

संसारका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपालीहरूको संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोष स्थापना गरेको छ । कोषमा संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले एक करोड रुपैयाँ सहयोग गरेका छन् ।

‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं,’ अध्यक्ष घलेले भनेका छन् , ‘हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।’ संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआइटी फाउन्डेसनले सो रकम सहयोग गरेको हो ।

यस्तै, संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एकरएक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् । यस्तै, बुद्ध एयरले २५ लाख रुपैयाँ सहायता गर्ने घोषणा गरेको छ भने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले आफ्ना सबै सांसद्हरूको एक महिनाको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । यसैगरी, देशभित्रका उद्योगी, व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दश लाख रुपैयाँ सहित विभिन्न संघ तथा कम्पनीसँग मिलेर एक करोड रुपैयाँबराबरको सहयोग गर्ने घोषणा गरेको हो ।

नेपाल औषधि उत्पादक संघले ५० लाख नगदबराबरको औषधि, नेपाली युवा उद्यमी मञ्चले नगद तथा जिन्सी गरी १५ लाख रुपैयाँ, शंकर ग्रुपले नगद र तथा जिन्सी गरी पाँच लाख रुपैयाँ, बागमती सफाइ महाअभियानले महासंघअन्तर्गत रहेर १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ भने बैंक अफ काठमाडौंमा रहेको एफएनसिसिआई रिलिफ फन्ड एकाउन्ट नम्बर ०१२५०००००६३५ मा सबै सदस्य तथा उद्योग वाणिज्य संघहरूलाई सहयोग रकम संकलन गर्न आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com