लेकाली भेगका किसानको रोजाइमा भेडापालन


प्रकाशित मिति : असार ८, २०८० शुक्रबार

– युवराज विष्ट/  भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताउनुभयो ।
भेडापालक कृषकले भेडा, ऊन, घ्यू, मोही, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिने उहाँको भनाइ छ । त्यस्तै ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत पनि किसानको आम्दानीको स्रोतका रुपमा रहेको छ । एक कृषकले यो व्यवसायबाट वार्षिक रु पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको बस्नेतले जानकारी दिनुभयो ।
“भेडापालनबाट वार्षिक रुपमा रु पाँचदेखि नौ लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ, यहाँ उत्पादन भएको भेडाजन्य सामग्रीको देशका विभिन्न ठाउँबाट माग हुने गरेको छ ।” औषधिका रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताउनुभयो । भेडाको घ्यूलाई डढेको घाउको खतलाई हटाउनका लागि राम्रो मानिने उहाँको भनाइ छ ।
भेडाको घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने उहाँले जानकारी दिनुभयो  । त्यस्तै ऊनप्रति किलो रु सात सय र मासु प्रतिधार्नी रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने कठेतले बताउनुभयो । भेडापालन व्यवसायलाई निरन्तरता दिन सके राम्रो आम्दानी गर्न सकिने किसान उहाँको भनाइ छ ।
“यो व्यवसायमा दुःख अलि बढी छ, दुःख अनुसारको आम्दानी हुन्छ”, किसान कठेतले भन्नुभयो, “खास गरेर भेडाको घ्यूसँगै मासुको माग धेरै छ, भेडाको घ्यू औषधि पनि हुन्छ, भेडाको बल्याक्ख्रा ९बोका० को पनि माग धेरै छ ।” यहाँका एक कृषकसँग एक सय ५० सम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि १० लाखसम्म आम्दानी गर्ने कृषक कठेतले बताउनुभयो ।
“भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो, “एक सय ५० देखि दुई सयसम्म भेडा पाल्दा आठ÷दश लाखसम्म आम्दानी लिन सकिन्छ ।” यहाँका किसानले उत्पादन गरेको घ्यू, राडी, पाखी, लुकुनीलगायत वस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।
पछिल्लो समय युवा पुस्तासमेत भेडापालनमा आकर्षित भएको कृषक कठेतको भनाइ छ । विदेश गएर आएका युवाहरुले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ”, कठेतले भन्नुभयो, “गाउँका कतिपय युवा विदेशमा कमाई गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”
मैयुङ डाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको  उहाँले जानकारी दिनुभयो । प्रशस्त चरण क्षेत्र भएका कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनका लागि उपयुक्त स्थान मानिन्छ । यो समयमा भेडा माथिल्लो भेगको चरण क्षेत्रमा रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिनुभयो ।
चिसो मौसममा तल्लो भेगमा झारे पनि बर्सात अर्थात् तातो याम सुरु भएपछि भेडालाई माथिल्लो भेगमा लगिने किसान राईको भनाइ छ । धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।
“यो एउटा परम्परागत पेसा हो”, कृषक राईले भन्नुभयो, “धेरै ठाउँमा भेडापालन व्यवसाय लोप हुने अवस्थामा पुगेको अवस्था पनि छ, धेरै दुःख कष्टका साथ पुख्र्यौली पेसालाई धानेका छौँ, तर राज्यको ध्यान गएको छैन, राज्यले यस्ता पेसा व्यवसायको संरक्षण ध्यान दिन आवश्यक देख्छु ।”
भेडा बिरामी हुँदा औषधि उपचारका लागि भने समस्या हुने गरेको उहाँको भनाइ छ । राज्यले किसानहरुको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उहाँको भनाइ छ । चरण क्षेत्रमा हुँदा उपचारको अभावमा भेडा मर्ने गरेको किसान राईको भनाइ छ ।
आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको भेडापालक कृषक नुर्वु शेर्पाले बताउनुभयो । सामुदायिक वनका कारण चरणका लागि समस्या हुने गरेको उहाँको भनाइ छ । त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताउनुभयो । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायत रोगले धेरै दुःख दिँदै आएको उहाँको भनाइ छ ।
“आम्दानी हुन्छ, तर भेडापालनमा चुनौती पनि छ”, कृषक शेर्पाले भन्नुभयो, “विभिन्न वन्यजन्तुले भेडा मार्ने डर हुन्छ, चरण क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिन्छन्, यहाँ चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com