अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह


प्रकाशित मिति : असार २, २०८० शनिबार

बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुनुहुन्छ । उहाँ स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउनुहुन्छ । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ ।

गाउँमा उहाँ ‘नमूना कृषक’का नामले पनि चिनिँदै आउनुभएको छ । साउँदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दैै आउनुभएको हो । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आउनुभएका साउँदले वार्षिक रू चार लाखसम्म आम्दानी गर्नुहुन्छ ।

साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले सबैको मन लोभ्याउने गरेको छ ।

साउँदले भन्नुभयो, “पेसाले शिक्षक भए पनि विद्यालयपछिको समयमा तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक रू चार लाख कमाउने गरेको छु ।” उहाँले गोलभेँडा, बन्दा, बोडी, अदुवा, बेसारलगायत खेती पनि गर्दै आएको बताउनुभयो । उहाँका अनुसार पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी तरकारी गरिएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गर्दै आएको छ । यसले गर्दा सहज भएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तरकारी खेतीबाट पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको साउँदको भनाइ छ । “शिक्षकको तलबबाट मात्रै घरपरिवार पाल्न असहज हुन थालेपछि तरकारी खेती गर्न थालेको हुँ । अहिले छोरालाई स्नातक पढाउन काठमाडौँ पठाएको छु”, उहाँले भन्नुभयो । तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उहाँको भनाइ थियो ।

साउँदले भन्नुभयो, “गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ ।” सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजार अभाव, यातायात सेवा सहज नहुँदा बजारीकरणमा केही समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सिचाइँ सुविधा, बजार र यातायातको सहज सुविधा भए तरकारी खेती गर्न अझै सहज हुने साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “सिचाइँ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन ।”

बारीसम्म सडक विस्तार नभएकाले डोकोमा बोकेर सुल्लेखान उत्पादन भउका तरकारी पुर्‍याउनुपर्ने बाध्यता रहेको साउँदको भनाइ छ । उहाँले भन्नुभयो, “सडक नहुँदा डोकोमा बोकेर सुल्लेखानसम्म पुर्‍याउनुपर्दछ, बाह्रै महिना सञ्चालन हुने गरी सडक विस्तार भए अझै सहज हुने थियो ।” कहिलेकाहीँ उत्पादित तरकारीले बजार नपाउँदा समस्या हुने गरेको साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन ।”

शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा उक्त क्षेत्रमा सडक अवरुद्ध हुँदा निकै सास्ती हुने गरेको साउँदले जानकारी दिनुभयो ।

तरकारी खेती आबद्ध किसानलाई व्यवसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताउनुभयो । “यस वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई निःशुल्क विषादी दिएका छौँ”, उहाँले भन्नुभयो, “९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन सङ्कलन भएको छ ।”

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यवसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौँ ।”

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले जानकारी दिनुभयो । गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उहाँको भनाइ थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com